२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम

स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम

दुई पदाधिकारीद्वारा उद्घाटन समारोह बहिस्कार


काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एकै दिन एउटै भवनमा तीन वटा शिलालेखमा नाम लेखाउन सफल भएका छन् । बिहीबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवादित फार्मेसी भवनको उद्घाटनका क्रममा उनले सो रेकर्ड बनाएका हुन् ।

उनले एकै दिन फार्मेसी भवन, माथिल्ला तलामा क्यान्सर युनिट र बर्न युनिटको शिलान्यास गरेका हुन् । रोचक त के भने ती तीन वटै ठाउँमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका शिलालेख छन् । रोचक त के भने क्यान्सर युनिटको रिबन स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई काट्न लगाए पनि तीन वटै शिलालेखमा कतै पनि उनको नाम भने राखिएको छैन ।

बरु, ती सबै शिलालेखमा विपीका सबै पदाधिकारीको नाम राखिएको छ । रमाइलो त के भने ती शिलालेख स्वास्थ्य सचिव डा. पोखरेलको उपस्थितीलाई गिज्याउने खालका छन् ।

मन्त्री तीन शिलालेखमा नाम लेखाउन सफल भएको उक्त विवादित भवन उद्घाटन समारोहलाई प्रतिष्ठानका रेक्टर प्रा.डा. संजीव सर्मा र रजिष्ट्रार प्रा.डा. सुर्यप्रसाद संग्रौलाले बहिष्कार गरेका हुन् ।

६ माघमा नै उद्घाटनका लागि तयार गरिएको सो भवनको उद्घाटन पदाधिकारीबीच नै मनमुटाव भएपछि स्थगित गरिएको थियो । तर, स्वास्थ्य मन्त्री पौडेलले बिहीबार जबरजस्ती उद्घाटन गरेपछि दुई पदाधिकारी सो उद्घाटन कार्यक्रममा देखिएनन् ।

सो भवन उद्घाटनमा असहयोग गरेमा मन्त्रालय तान्नेसम्मको दबाब रजिष्ट्रार प्रा.डा. संग्रौलालाई दिइएको स्रोतका दावी छ । सो विषयमा आफूले पनि सुनेको रजिष्ट्रार प्रा.डा. संग्रौलाले हेल्थआवाजलाई बताएका थिए ।

विपीका विभागीय चिकित्सहरुले वर्न युनिट र क्यान्सर युनिट संचालन गर्न सो भवन तत्काल उपयुक्त नभएको र अन्य विभागका चिकिकित्सकहरुको राय पनि नलिएको भन्दै तत्काल उद्घाटन गर्न नहुने अडान राखेका थिए । तत्कालीन भिसी डा. विपी दासको पालामा २ करोड रुपैयाँ लागतमा बनाउने भनिएको सो भवनपछि थप्दै गएर १३ करोड रुपैयाँ लागत पुगेको छ ।

एकातिर लागत बढेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ भने अर्कोतर्फ भवनमा लिफ्ट, विजुली, प्लम्बिङजस्ता कार्य पूरा नभएर औपचारिक हस्तान्तरण भएको छैन । तर, उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफूले सोझै बुझेको भन्दै अन्य पदाधिकारीले अपनत्व लिएका छैनन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ