काठमाडौं—सरकारले रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने निर्णय गरेका हुन् ।
निकै महंगो औषधि पर्ने यो औषधि सरकारले उपलब्ध गराउने व्यवस्था गर्न बिरामी तथा सरोकारवालाहरुले आग्रह गर्दै आएका छन् ।
जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यो रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराइने बताइएको छ ।
‘विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेका छौं,’ मन्त्री पौडेलले भने, ‘धेरै पीडित तथा सरोकारवालाबाट महंगो उपचार सरकारमार्फत होस् भन्ने अनुरोध स्वीकार गरेका छौं ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो औषधिका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए ।
नेपालमा हाल करिब नौ सय जना यो रोगका बिरामीका रुपमा पहिचान भएका छन् । तर, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ । वि.सं. २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएकामध्ये ०.८ मा हिमोफिलिया भएको हुनसक्ने ठानिएको छ ।