२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की

विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की


काठमाडौं–आकस्मिक रुपमा बिहिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवादित भवन उद्घाटन गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जबरजस्त गरेपछि पुनः विवाद आएको छ । गत आइतबार नै सो भवनको जबरजस्ती उद्घाटन गर्न खोजेपछि पदाधिकारी र विभागीय प्रमुखहरुले विरोध जनाएका थिए ।

विरोधपछि उद्घाटन गर्न पछि हटेका मन्त्री पौडेल समस्या समाधान नगरीकनै आज (बिहिवार)सोही भवन उद्घाटन गर्न धरान जाँदैछन् । संस्थागत रुपमा भवन हस्तान्तरण नभएको, फार्मेसी भवनको रुपमा निर्माण भएको तर वर्न तथा क्यान्सर विभाग संचालन गर्न कार्यकारी परिषद्को निर्णय नभएको, तत्काल सेवा संचालन गर्न सकिने अवस्था नभएको र २ करोड रुपैयाँ लागतमा बन्ने भनेको भवनको लागत १३ करोड रुपैयाँ पुगेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको भन्दै रजिष्ट्रार प्रा.डा. सुर्यप्रसाद संग्रौलाले असन्तुष्टि जनाँउदैं आएका छन् ।

५ दिनअघि स्थगित भएको सो भवन उद्घाटन गराउन उपकुलपति डा. ज्ञानेन्द्र गिरी कम्मर कसेर लागेका छन् । विवादित सो भवन उद्घाटन गराएर त्यसलाई वैधता दिन मन्त्री पौडेल पनि कम्मर कसेर लागेको प्रतिष्ठान स्रोत बताउँछ । ‘स्वास्थ्यमन्त्री आफैले पनि बुझ्नुपर्ने हो,’ स्रोत भन्छ, ‘मन्त्रीलाई पनि केही फाइदा होला र नै तातिनुभएको छ ।’

सो भवन उद्घाटनका विषयमा ५ दिन अघि उपकुलपति, रजिष्ट्रार, रेक्टर, डाइरेक्टर र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण पौडेलसहित बैठक बसेको थियो । सो बैठकले सो भवनमा आईसीयु, ओटी, लिफ्ट, बिजुलीलगायतका सामाग्री नभएका कारण तत्काल ओपीडी मात्र संचालन गर्न सकिने र ती सेटअप भएपछि उद्घाटन गर्ने सहमति गरेको थियो । तर, ती कुनै पनि पूर्वाधार तयार नभई खाली बेडसहितको भवन मन्त्री पौडेलले उद्घाटन गर्दैछन् ।

अर्को रमाइलो पक्ष रातारात उद्घाटनको तयारी भएको कार्यक्रममा शिक्षाध्यक्ष प्रा.डा संजीव शर्मा पनि छैनन् । उनी कलकता कार्यक्रममा गएका छन् । उद्घाटन गर्ने मेडिसिन विभागका प्रमुख डा. रविन मास्के पनि विदामा छन् ।

स्रोतकाअनुसार रजिष्ट्रार संग्रौलालाई असहयोग गरे खाता संचालनको जिम्मेवारीबाट हटाउनेदेखि स्वास्थ्य मन्त्रालय काजमा तान्नेसम्म धम्की दिइएको छ । यस विषयमा प्रा.डा. संग्रौलासँग सोध्दा भने, ‘मलाई सिधै कसैले पनि भनेको छैन तर तलाई कारवाही हुनसक्छ भनेर यहीका साथीहरुले भनेका छन् ।’

‘मभन्दा माथिल्लो निकायले गरेको निर्णय हो,’ उनले हेल्थआवाजसँग थपे, ‘मैले जे देखे, त्यो जानकारी गराउनुपर्ने ठाउँमा सबैतिर गराएको छु । सही कुरा बोल्दा मलाई आपत्ति छैन, जागिर छोड्नु परेपनि केही छैन । रजिष्ट्रारको हैसियतले गर्ने काम मैले गरिरहेको छु ।’

गत ६ माघको छलफलपछि सो भवनको विषयमा भएका कागजात र प्रक्रिया मगाएर आफूले हेरेको र सिनियर कर्मचारीलाई राय दिन भनेको उनले जानकारी दिए । सिनियर कर्मचारीले २८ वटा राय दिएको र त्यसलाई कार्यकारी समितिले निक्र्यौल गरेर मात्र उद्घाटन गर्दा राम्रो हुने राय दिएको उनको भनाइ छ ।

‘६ गतेपछि मैले सम्बन्धित शाखाबाट कागजात मगाएर सिनियर साथीहरुलाई राय पेश गर्न लगाएको थिए,’ उनले भने, ‘२८ वटा सुझाव दिनुभएको थियो त्यो मैले मन्त्रालय, भिसी, निर्देशक सबैलाई दिएको छु ।’ सो सुझावमा संवैधानिक निकायले पनि प्रश्न उठाइरहेको छ । तर, उपकुलपति डा. गिरीले हतार—हतार अन्य कुनै पनि शाखा र विभागलाई खबर नै नगरी सिधैँ आफूले सो भवन हस्तान्तरण लिएको कागजात स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएका छन् ।

किन हतार ?

स्रोतका अनुसार सो भवन हतार—हतार उद्घाटन गर्ने तयारी गर्नुका पछाडि तीन वटा छन् । पहिलो २ करोड रुपैयाँ लागतमा सुरु गरेको भवन १३ करोड रुपैयाँ लागत पुगेको छ । त्यसमा अख्तियारले अनुसन्धान गरिरहेका बेला मन्त्रीले नै उद्घाटनमार्फत अनुसन्धान प्रभावित गर्न खोजेका छन् ।

दोस्रो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ४८ करोड रुपैयाँ खरिदका लागि जाँदैछ । जुन सामाग्री विभागबाट माग भएका भन्दा पनि मन्त्रालय र प्रतिष्ठानका उच्च पदाधिकारीहरुको मिलेमतोमा अनावश्यक सामाग्री खरिद हुँदैंछ, ती सामाग्रीलाई भण्डारण गर्ने ठाउँ बनाउन पनि हतारमा उद्घाटन गर्न लागिएको हो ।

तेस्रो, स्वास्थ्यमन्त्री पौडेलले सबै प्रतिष्ठान र अस्पतालहरुमा कार्यकर्तालाई जागिर लगाउन लिष्ट पठाएका छन्, त्यसलाई सम्बोधन गर्न भवन उद्घाटनमा हतारो गरिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ