२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा

कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा

साँझ ५ बजेसम्म बिरामीले ओपीडी सेवा पाउने


विराटनगर—कोशी प्रदेश सरकार मातहतका सबै सरकारी अस्पतालको ओपीडी सेवा अब दुई सिफ्टमा संचालन हुने भएको छ । प्रदेशका १४ जिल्ला अस्पताल र प्रादेशिक अस्पतालहरुको ओपीडी सेवा दुई चरणमा संचालन हुने भएको हो ।

अस्पतालबाट प्रवाह गर्ने सेवाको गुणस्तर सुधार गर्ने र बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि ओपीडी सेवा दुई सिफ्टमा संचालनमा आउने भएको छ । प्रदेशको सबै सरकारी अस्पतालहरुमा विहान ९ देखि ३ बजेसम्म ओपीडी टिकट काट्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

बहिरङ्ग सेवा विहान १० देखि २ बजेसम्म एउटा सिफ्ट र २ बजेदेखि ५ बजेसम्म अर्को सिफ्ट संचालन गर्न कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले निर्देशन दिएका छन् । सोहीअनुसार मंगलबार स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईले १४ वटा जिल्ला अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, कटारी अस्पताल उदयपुरलाई पत्राचार गरेका छन् ।

यसअघि सरकारी अस्पतालहरुमा १ बजेसम्म मात्रै ओपीडी सेवा दिने गरेका थिए । त्यसपछि ओपीडी सेवा बन्द हुने भएकाले १ बजेपछि आउने बिरामीले निजी हस्पिटलमा चर्को शुल्क तिरेर स्वास्थ्य उपचार गराउनुपर्ने बाध्यता रहेको थियो ।

प्रदेशभित्रका बिरामीहरुले गुणस्तरीय स्वास्थ्य उपचार पाउने उद्देश्यले दुई सिफटमा ओपीडी सेवा सुरु गरिएको कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले बताए । ‘प्रदेश मातहतका सबै सरकारी अस्पतालहरुको ओपीडी सेवा अब पाँच बजेसम्म संचालन हुनेछ । कोही पनि अस्पताल आएका बिरामी स्वास्थ्य उपचारबाट बञ्चित हुने छैनन्,’ मन्त्री राईले भने, ‘प्रदेशभित्रका सबै सरकारी अस्पतालहरुमा अब पाँच बजेसम्म ओपीडी सेवा पाउनेछन् ।’ यसलाई कडाइको साथ कार्यन्वयनमा लैजान निर्देशन दिएको उनले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ