काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अहिले समिति नै समिति बनाउन लागि परेका छन् । स्वास्थ्य बीमा सुधार कार्यदलले प्रतिवेदन बुझाएलगतै उनले बीमा सुधारका लागि भन्दैं अर्का आन्तरिक समिति बनाएका छन् ।
कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यवहारिक र नीतिगत सुधार तथा दीर्घकालीन सुधारका लागि आन्तरिक गृहकार्य अघि बढाएको बताउँदैं उनको सचिवालयले सोमबार मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा आन्तरिक कार्यदल गठन गरेको जनाएको छ । कार्यदलका सदस्यहरुमा मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा. सरोज शर्मा, निर्देशक डा. अनुप बास्तोला, कानुन उपसचिव गोपीकृष्ण रेग्मी छन् भने उपसचिव शालिकराम दाहाल सदस्य सचिव छन् ।
आइतबार प्रतिवेदनका सुझावका आधारमा स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्ने स्वास्थ्य मन्त्री पौडेलको प्रस्तावमा प्रधानमन्त्री ओलीले सकारात्मक जवाफ दिएका थिए । सो क्रममा प्रधानमन्त्रीले एक हप्ताभित्र कार्ययोजना लिएर आउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि कार्ययोजना एक साताभित्र तयार पारेर मन्त्रिपरिषदमा लैजाने मन्त्रालयको तयारी छ । यसका लागि गठित कार्यदलले प्रतिवेदनलाई टेकेर तत्काल तथा दीर्घकालीन रुपमा लागु गर्न सकिने विषय कार्ययोजनामा समावेस गरेर प्रतिवेदन दिनेछ । यसैगरी, नीतिगत तथा अन्य सुधारका विषयका लागि समेत कार्यदलले आन्तरिक अवस्थाका आधारमा सुझाव दिनेछ ।
‘स्वास्थ्य बीमामा सुधार भए मात्र यसले राम्रोसँग नागरिकको चाहनाअनुसार सेवा सुविधा दिनसक्छ भन्ने हाम्रो विश्वास छ,’ मन्त्री पौडेलले भने, ‘प्रधानमन्त्रीज्यूले समेत सुधारका लागि सकारात्मक हौसला दिनुभएकाले हामीलाई अघि बढ्न सजिलो भएको छ ।
मन्त्री पौडेलले केही दिनभित्रै कार्ययोजना र प्रतिवेदन दुवै सार्वजनिक गर्ने बताए । उनले सरकार सुधारका लागि तयार रहेकाले सम्भव भएसम्मका सुधार अघि बढाउने बताए ।