काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले एक साताभित्र स्वास्थ्य बीमा सुधार कार्ययोजना लिएर आउन निर्देशन दिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको टोलीसँग प्रतिवेदन प्राप्तिबारे जानकारी लिदैं प्रधानमन्त्रीले कार्ययोजनाका साथ आउन निर्देशन दिएका हुन् ।
सो क्रममा उनले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यन्वयनका लागि सकारात्मक प्रतिबद्धता जनाएका छन् । ‘एक साताभित्र कार्ययोजना लिएर आउनुहोला,’ प्रधानमन्त्री ओलीले भने । उनले प्रतिवेदन कार्यान्वयनमा आफ्नो साथ रहने बताए ।
भेटमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले प्रधानमन्त्रीको सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए । ‘प्रधानमन्त्रीज्यूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ उनले भने, ‘हामी कार्ययोजनासहित पुनः प्रस्तुत हुनेछौं ।’
मन्त्री पौडेलले एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्ने र सरकारले मुख्य सुझाव पनि कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाउने बताए ।
स्वास्थ्य बीमामा नागरिक पहुँच अभिवृद्धि गर्न र सेवा स्तरीय दिनका लागि सुझाव दिन भन्दै विश्व स्वास्थ्य संगठनका पूर्व उच्च अधिकारी डा. शम्भु आचार्यको संयोजकत्वमा मन्त्री पौडेलले सुझाव कार्यदल गठन गरेका थिए । समितिका सदस्यहरुमा डा. रघुराज काफ्ले, डा. भगवान कोइराला तथा सदस्यसचिव सरोज शर्मा थिए । मन्त्री पौडेलसहित समितिसँग प्रतिवेदनको प्राप्तिबारे जानकारी लिंदै प्रधानमन्त्री ओलीले कार्ययोजनाका साथ आउन आग्रह गरेका हुन् ।
प्रतिवेदनमा उठाइएका विषयको कार्यान्वयन ढाँचाबारे अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरिरहेको छ । मन्त्री पौडेलले नीतिगत सुधार, सेवाको गुणस्तर सुधार तथा श्रोतको वृद्धिमा जोड दिंदै आएका छन् ।
स्रोत पर्याप्त नहुँदा तथा विगतको भुक्तानी ढिलाइ हुँदा स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुको बक्यौता रकम भुक्तानी गर्न कठिनाइ भोग्दै आइरहेको छ । स्रोत वृद्धि तथा सरकारी निकायबाट छरिएको स्वास्थ्य उपचार राहत सम्बन्धी सेवा तथा बीमा कार्यक्रम एकीकृत गर्न सकिएमा आफूले घोषणा गरेको पाँच लाख बीमा सम्भव हुने मन्त्री पौडेलले बताउँदै आएका छन् ।