२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने

सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने

अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफले उपलब्ध गराउने औषधि मन्त्रालयले कार्यविधी बनाएर बिरामीलाई दिने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने महंगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।

हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गइरहेको पक्षघातको उपचार गरी जीवन रक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधि संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलले बताए ।

‘उपचार गर्न सकिने भएपनि औषधि दुर्लभ र महंगो हुँदा धेरैको ज्यान जाने गइरहेको पायौं’, पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले भने, ‘यसलाई रोक्न सरकारले नै औषधि प्राप्त गरेर प्रदान गर्ने व्यवस्था मिलाउन लागेको हो ।’

रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।

थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधिको एक मात्रा सेवन गरेमा धेरैको ज्यान लिइरहेको पक्षघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन् । जुन औषधिको एउटा मात्राको मुल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । सहजै उपलब्ध नहुने भएकाले औषधि नपाएकै कारण धेरैको ज्यान गइरहेकाले मन्त्रालयले यस औषधिको प्राप्ति र सहज उपलब्ध गराउन पहल गरेको हो ।

नेपाल स्ट्रोक एशोसिएसनको पहलमा अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ ।

संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधि सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयले यी औषधि वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ । पक्षघातको औषधि र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालहरुमा लागू हुनेछ ।

यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्वपूर्ण भएको नेपाल स्ट्रोक एशोसिएसनका अध्यक्ष एवम् न्यूरोलोजिष्ट डा. राजु पौडेलले बताए । ‘यो आम नेपालीका लागि खुशीको कुरा हो,’ उनले भने, ‘अब कोही पनि पक्षघातका बिरामी पैसाको अभावमा मर्नुपर्ने अवस्था आउँदैन भन्नेमा ढुक्क छु ।’

त्यस्तै, एशोसिएसनका संस्थापक अध्यक्ष एवं नेशनल न्यूरो सेन्टरका न्यूरोलोजिष्ट डा. लेखजंग थापाले नेपालको न्यूरो साइन्समा यो निर्णय कोशेढुंगा सावित हुने बताए । ‘यो नेपालको न्यूरो साइन्सका लागि खुशीको कुरा हो,’ उनले भने, ‘हामीले स्ट्रोक उपचार, रोकथाम तथा निदानका लागि गाइडलाइनसमेत बनाएर मन्त्रीज्यूलाई बुझाएका छौं । अब त्यो पनि छिट्टै लागू हुनेछ भन्नेमा विश्वस्त छौं ।’ उक्त गाइडलाइन पनि पारित भएपछि नेपालमा स्ट्रोकको उपचार सर्वसुलभ हुने डा. थापाको विश्वास छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ