काठमाडौं—त्रिवि शिक्षण अस्पतालमा नेपालमै पहिलो पटक स्वदेशी चिकित्सककै अगुवाईमा कलेजो प्रत्यारोपण गरेको एक वर्ष पुगेको छ । गत वर्ष १२ जनवरीमा नेपालमै पहिलोपटक त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुको टिमले नै कलेजो प्रत्यारोपण गरेको थियो ।
आइतबार १२ जनवरीमा स्वतन्त्र रुपमा नेपाली चिकित्सकले नै कलेजो प्रत्यारोपण गरेको एक वर्ष पुगेको हो । त्ययसअघि नेपालमा विदेशी चिकित्सकहरुको सहयोगमा कलेजो प्रत्यारोण हुने गरेको थियो ।
नेपाली कलेजो प्रत्यारोपण क्षेत्रमा आत्मनिर्भरताको पहिलो पाइला बढाइएको एक वर्षको अवधिमा त्रिविमा नेपाली चिकित्सकहरुले नै सात वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेका छन् । ‘गत वर्ष १२ जनवरी नेपाली कलेजो प्रत्यारोपणको इतिहासमा महत्वको दिन थियो,’ त्रिविमा कलेजो प्रत्यारोपणको नेतृत्व गरिरहेका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीले भने, ‘त्यो नेपाली इतिहासमै नेपाली चिकित्सकहरुले नै गरेको पहिलो कलेजो प्रत्यारोपण थियो ।’
डा. भण्डारीकाअनुसार त्यसयता त्रिविको कलेजो प्रत्यारोपण टिम स्वतन्त्र रुपमा कलेजो प्रत्यारोपण गर्दै आएको छ । ‘गत वर्षको १२ जनवरीदेखि अहिलेसम्म हामीले ७ वटा सफल कलेजो प्रत्यारोपण गरिसकेका छौं,’ भण्डारीले थपे, ‘यसले हामीलाई ठूलो आत्मविश्वास दिलाएको छ । अब हामी यो संख्यालाई बढाउँदैं लैजान्छौं ।’ उनले स्वतन्त्र कलेजो प्रत्यारोपण कार्यक्रम सुरु गरेको एक वर्षमा समाजका हरेक क्षेत्रबाट प्राप्त समर्थन र शुभकामनाले आफूहरुलाई उत्साहित बनाएको बताउँदैं नेपालमा कलेजो प्रत्यारोपण कार्यक्रमलाई दिगो बनाउन त्रिवि शिक्षण अस्पतालको टोली सक्षम रहेको बताए ।
त्रिवि शिक्षण अस्पतालमा गत वर्षको अन्तिम तथा पछिल्लो कलेजो प्रत्यारोपण दुई हप्ताअघि २७ डिसेम्बर गरिएको थियो । २७ डिसेम्बरमा गरिएको कलेजो प्रत्यारोपणमा ५४ वर्षीया आमाले ३२ वर्षीया छोरीलाई कलेजो दान गरेकी थिइन् । कलेजो दान दिने आमा डिस्चार्ज भइसकेकी छन् भने कलेजो लिएकी छोरीलाई भने केही दिनमै डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।
यससँगै अहिलेसम्म त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म १६ वटा सफल कलेजो प्रत्यारोपण गरिएको छ ।