२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म

निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म


काठमाडौं—मुलुककै एकमात्र संघीय बाल अस्पताल कान्ति बाल अस्पताल ६३ वर्ष पुगेको छ । सोमबार अस्पतालले आफ्नो वार्षिकोत्सव बनाएको छ । वर्षेनी दुई लाखभन्दा बढी बालबालिकालाई उपचार सेवा दिइरहेको यो अस्पताल मुलुककै अग्रणी अस्पतालमा पर्छ ।

अस्पतालका निर्देशक डा. पंकज रायकाअनुसार अस्पतालले अहिले भौतिक पूर्वाधार अपुगदेखि, जनशक्ति र बजेट अभावसम्मका समस्या भोगिरहेको छ । डा. रायको वार्षिक समीक्षा प्रतिवेदनमा विभिन्न १० वटा समस्याहरु औल्याइएको छ ।

जसमा पहिलो समस्याका रुपमा जनशक्ति र भौतिक पूर्वाधारको अपुगलाई देखाइएको छ । ‘बढ्दो बिरामीको चापलाई थेग्न विद्यमान भौतिक संरचनाको अभाव, जनशक्ति अन्यत्र जाने र जनशक्ति अपुग भएको,’ प्रतिवेदनको पहिलो समस्यामा छ ।

यसैगरी, उनले शल्यक्रिया कक्ष विस्तार गर्न नसकेकाले पालो कुर्नुपर्ने समस्या रहेको, आईसीयु कक्षमा बिरामी चाप भएकाले अन्यत्र पठाउनु परेको, अस्पतालका विकास कार्य गर्न बजेट अभाव हुने गरेकोलगायतका समस्या औंल्याएका छन् ।

डा. रायको नजरमा कान्ति अस्पतालका १० समस्या

१. बढ्दो बिरामीको चापलाई थेग्न विद्यमान भौतिक संरचनाको अभाव, जनशक्ति अन्यत्र जाने र जनशक्ति अपुग भएको ।
२. सन् १९९० मै जापान सरकारको सहयोगमा बनेको शल्यक्रिया कक्ष (OT)लाई विस्तार गर्न नसकेकाले बिरामीहरुले लामो समय पालो कुर्नुपरेको ।
३. ICU कक्षलाई विस्तार गर्दा पनि बिरामीको चाप बढेकाले बाध्यताबश बिरामीलाई अन्यत्र पठाउनु परेको ।
४. यो अस्पताललाई नेपाल सरकारले उपलब्ध गराउने वार्षिक बजेटको अधिकांश भाग अनिवार्य दायित्वमा खर्च हुँदा थप विकासका कार्य गर्न बजेट अभाव हुने अवस्था रहेको छ ।
५. आकस्मिक सेवामा आउने सेवाग्राहीहरुलाई निःशुल्क सेवा दिन बजेट पर्याप्त नभएको ।
६. स्थान अभावका कारण सेवाग्राहीलाई पार्किङ तथा बिरामी कुरुवाहरुलाई बस्ने स्थानको अभाव रहेको छ ।
७. अस्पतालका उपकरणहरु पुराना भइसकेकोले त्यस्ता उपकरण बारम्बार बिग्रिरहँदा निरन्तर सेवा दिन समस्या रहेको छ । सिमित बजेटका बाबजुद मेसिनहरुको मर्मत समयमै र प्रतिस्पर्धात्मक रुपमा हुन नसक्दा सेवा प्रवाहमा कठिनाई भएको छ ।
८. पुरानो संरचनाको कारण विद्युत, पानी, नेटवर्क प्रबन्धमा नै सुधार गर्न कठिनाई बनेको छ ।
९. एकातिर निःशुल्क सेवा प्रदान गर्नुपर्ने चुनौती छ भने अर्कोतर्फ अस्पतालको आन्तरिक स्रोत वृद्धि गर्दै सेवाको दायरा विस्तार गर्नु रहेको छ ।
१०.भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने र राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थान (NICH)को अवधारणा अगाडि बढाउनुपर्ने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ