काठमाडौं–गत हप्ता स्वास्थ्य मन्त्रालय मातहतका एक हाकिमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री निवासमा बोलाए । महत्वपूर्ण सल्लाह गर्नुछ भन्दै बोलाइएका ती हाकिम पनि मन्त्रीले बोलाएपछि बेर नगरी निवासमा पुगे ।
मन्त्री पौडेलले नेपाली कांग्रेसकी नेतृसमेत रहेकी पत्नी एन्जिला न्यौपानेलाई सँगै राखेर ती हाकिमलाई रोक्न नसकिने बताएका थिए ।
मन्त्रालयअन्तर्गत केन्द्रका ती हाकिमले पनि मन्त्रीको इसारा बुझेरै भनिदिए, ‘मलाई अहिलेसम्म नेतृत्व अनुभव भयो । अब तपाईलाई जे गर्दा ठिक लाग्छ, त्यही गर्नुहोला ।’ स्रोतले मन्त्रीको भनाइ उदृत गर्दै भन्यो, ‘तपाई राम्रो मान्छे हुनुहुँदोरहेछ तर रोक्न सकिदैन्, होला के गरौं भनेर सल्लाह गर्न बोलाएको ।’
यति कुराकानीपछि केन्द्रका हाकिम मन्त्री क्वार्टरबाट बाहिरिए । तर, ती हाकिमको अहिलेसम्म सरुवा भएको छैन । पछिल्लो समय सरुवा या कुनै निकायको नेतृत्व लिन इच्छुक भएको कर्मचारीलाई मन्त्री पौडेलले मन्त्री क्वार्टरमै बोलाएर सल्लाह गर्न थालेका छन् । मन्त्री निकट स्रोतकाअनुसार मन्त्रालयमा विस्तृत कुरा गर्न नपाइने भन्दै मन्त्रीले क्वार्टर नै बोलाउन थालेका हुन् । त्यसमा उनले नेतृ न्यौपानेलाई पनि सँगै राखेर सल्लाह लिने गरेका छन् ।
११ औं तहका अघिल्ला केही जिम्मेवारी पनि मन्त्री पौडेलले नेतृ न्यौपानेकै सल्लाहमा हेरफेर गरेका थिए । जिम्मेवारी पाएकामध्ये एक हाकिमले आफू मन्त्री पत्नीमार्फत गएको स्वीकार गरे । नाम नबताउने सर्तमा उनले आफूले मन्त्रीलाई सिधैं भनेको र अन्य स्रोतबाट पनि पहल गर्दा नभएपछि अन्तमा एन्जिलामार्फत भेटेर जिम्मेवारी लिएको बताए ।
त्यसो त अघिल्लो सरुवामा पनि केही अस्पताल, महाशाखा र केन्द्रका कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेर मन्त्री पत्नी न्यौपाने र उनकै सचिवालयमा रहेका शाखा अधिकृत विश्वबन्धु रेग्मीकै सल्लाहमा भएको तथ्य हेल्थआवाजले प्राप्त गरेको छ ।
लामो समयदेखि जिम्मेवारी नपाएका उनीहरु धेरैतिर भौतारिएर अन्त्यमा नेतृ न्यौपानेलाई भेटेपछि सरुवा र जिम्मेवारी पाएको अनौपचारिक रुपमा केही कर्मचारीले भन्ने गरेका छन् । ‘हामीले सिस्टममा काम हुन्छ होला भन्ने ठानेका थियौं । तर, सल्लाहकारबाट स्वीकृत भएर आएपछि मात्र काम अगाडि बढ्ने रहेछ ।’
मन्त्री निकट स्रोतकाअनुसार पछिल्लो समय अधिकांश कर्मचारीको माथिल्लो तहको सरुवा र जिम्मेवारी हेरफेरमा मन्त्रीले श्रीमतीसँग सल्लाह गरेर निर्णय लिने र सचिवालयका शाखा अधिकृत विश्वबन्धु रेग्मीले चाजोपाजो मिलाउने गरेका छन् । मन्त्रालय स्रोतकाअनुसार तल्लोदेखि माथिल्लो तहका कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेरमा पनि रेग्मीले पहिलो चरणको छलफल गरेपछि मात्र प्रक्रिया अगाडि बढ्छ ।
लामो समयदेखि मन्त्री पौडेलका विश्वासपात्र रहेका रेग्मी मन्त्रीका नजिकका त छदैंछन् । उनी मुख्यसचिव एकनाथ अर्याल आफ्ना काका भन्दै मन्त्रालयका सचिवदेखि सबै कर्मचारीलाई थर्काउने गरेको मन्त्रालयका कर्मचारी बताउँछन् । मन्त्री पौडेलले रेग्मीलाई कर्मचारीतर्फ हेर्ने जिम्मेवारी नै दिएका छन् ।
तर, रेग्मी भने आफू सरुवा र जिम्मेवारी तोकिँदा कुनै पनि विषयमा सहभागी नहुने बताउँछन् । ‘हामीले न कुनै चलखेल गरेका छौं, न इन्टरफेयर गर्ने हाम्रो हैसियत छ,’ रेग्मीले भने, ‘दुई वर्ष पुगेका प्रशासनका कर्मचारी सबै सरुवा भएका छन् । विभाग र वीर अस्पतालका जम्मा पाँच जना कर्मचारी सरुवा भएका छन् । माथिल्लो जिम्मेवारी हेरफेरमा मन्त्री, सचिव हुनुहुन्छ । सेक्सन अफिसरको के हैसियत हुन्छ र ?’ उनले स्वास्थ्यतर्फ सरुवा भएका कर्मचारीले आफूलाई अनावश्यक लाञ्छना लगाएको आरोप लगाए ।