२०८१ पुस २०, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो

नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो

संस्थाको नाम फेरेर नयाँ व्यवस्थापनले कर्मचारीलाई त्रसित बनाउन खोजेको आन्दोलनरत कर्मचारीको आरोप


काठमाडौं—नेपालगन्ज मेडिकल कलेजको ५० प्रतिशतभन्दा बढी शेयर मेडिकल ब्यवसायी खुमा अर्यालको समूहले खरिद गरेको ८ महिनामै कलेज ब्यवस्थापन र त्यहाँ कार्यरत कर्मचारीबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । विवाद चुलिएपछि मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु अस्पतालको ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

भत्ता तथा तलब वृद्धि, पदोन्नती, स्थायी नियुक्ति, उपदान, सामाजिक सुरक्षा कोष, कर्मचारी कल्याण कोष, स्वास्थ्य उपचार खर्च एवं सेवासुविधा र कलेजको संस्थागत विकासलगायतका माग गर्दै चरणबद्ध आन्दोलन सुरु गर्दै आएका नेपालगन्ज मेडिकल कलेजका कर्मचारी संघ संगठन र युनियनले ५ पुसदेखि कलेजको नेपालगन्ज र कोहलपुरमा रहेका शिक्षण अस्पतालको ओपिडीलगायतका सेवा बन्द गरेका छन् ।

शिक्षण अस्पताल नेपालगन्जमा ६ सय २५ र कोहलपुरमा ७ सय २५ गरी १३ सय ५० जना चिकित्सक स्वास्थ्यकर्मीसहितका कर्मचारी कार्यरत छन् । कलेजको नेपालगन्ज शिक्षण अस्पताल ३ सय कोहलपुर शिक्षण अस्पताल ७ सय ५० बेड क्षमताका छन् । व्यवस्थापनले माग सुनुवाई नगर्दा दुवै शिक्षण अस्पतालको ओपिडी सेवा बन्द हुँदा दैनिक करिब ८ सय बिरामी त्यसको मारमा परेका छन् । इमर्जेन्सी, डाइलाइसिस, आईसीयु, एनआईसीयु, शल्यक्रिया, प्रसूतिजस्ता अत्यावश्यक सेवा भने संचालन भइरहेका छन् । आन्दोलन सुरु भएपछिको अवधिमा पनि अत्यावश्यक सेवाअर्न्तगत करिब २ हजार बिरामीले उपचार सेवा पाएको दाबी आन्दोलनरत कर्मचारीहरुको छ ।

कर्मचारीले पेश गरेको मागपत्रका सम्बन्धमा अस्पताल व्यवस्थापन र कर्मचारीका वार्ता समितिबीच पटक—पटक वार्ता हुँदासमेत अस्पतालको व्यवस्थापन पक्ष कर्मचारीका माग पूरा गर्नेमा सराकात्मक नदेखिएपछि कर्मचारीहरू ५ पुसदेखि अस्पतालको ओपीडी र शैक्षिक कार्यक्रमहरू पूर्णरूपमा बन्द गरी अस्पताल परिसर, कलेज परिसरमा भेला तथा कोणसभा धर्ना कार्यक्रमलाई निरन्तरता दिदैं आएका छन् । नेपालगन्ज मेडिकल कलेजका तर्फबाट वार्ता टोलीका संयोजक श्यामकुमार शर्माले संस्था घाटामा चहिरहेकाले अहिले नै तलब वृद्धि गर्ने कर्मचारीका माग पूरा गर्न सकिने अवस्था नरहेको दावी गरेका छन् ।

कलेजले करौडौं मुल्य पर्ने एमआरआई, क्याथ ल्याबलगायतका उपकरण र नयाँ गाडीहरु कलेजकै सम्पत्तिका रुपमा थपेर कलेज घाटामा देखाउँदैं कर्मचारी र आम जनसमुदायलाई भ्रममा पार्ने गरेको आन्दोलनरत कर्मचारीहरुले दाबी गरेका छन् । आन्दोलनरत कर्मचारीहरुले नयाँ ब्यवस्थापनले १ साउन २०८१ देखि मंसिर मसान्तसम्मको अवधिमा बिरामीबाट लिइने सेवा शुल्कमा २५ देखि १ सय ५० प्रतिशतसम्म वृद्धि गरेको दाबी गर्दै कुन—कुन सेवामा कति कति शुल्क बढाइएको छ भन्ने विवरणसहितको सूची नै सार्वजनिक गरेका छन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही मङ्सिर २७ गते सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूका लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयको पूर्ण पालना गरिनुपर्ने माग आन्दोलनरत कर्मचारीहरुको छ ।

वि.सं. २०५३/०५४ मा दर्ता भएको लर्ड बुद्ध एजुकेशनल एकेडमीले नेपालगन्ज मेडिकल कलेज संचालन गर्दै आएको छ । एकेडेमीले  नेपालगन्ज र कोहलपुरमा शिक्षण अस्पताल र चिसापानीमा कलेज संचालन गर्दै आएको छ । नेपालगन्ज मेडिकल कलेजमा नयाँ ब्यवस्थापन अर्थात खुमा अर्याल समूहले ५० प्रतिशतभन्दा बढी शेयर खरिद गरी १८ बैशाख २०८१ मा सर्वसम्बत अध्यक्ष चयन भएका थिए । अर्याल समूह नयाँ ब्यबस्थापन आएको ८ महिनापछि १५ पुसदेखि मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जको नाम परिवर्तन गरेर संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.कायम गरेका छन् ।

१५ पुसको राति शिक्षण अस्पतालको मुख्य गेटमा लगाइएको साइन बोर्ड हटाएर संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको बोर्ड लगाइएपछि तलब वृद्धिलगायत विभिन्न माग राखेर आन्दोलन गरिरहेका मेडिकल कलेजका कर्मचारीहरु थप आक्रोशित बनेको कर्मचारी संघका सभापति यमबहादुर खड्काले बताए ।

आन्दोलन परिचालन समितिका संयोजक रत्ना गिरीले कर्मचारीलाई त्रसित बनाउने र आन्दोलन असफल बनाउने उद्देश्यले शिक्षण अस्पतालको नाम परिवर्तन गरी संजिवनी कलेजको बोर्ड लगाइएको बताइन् ।

नयाँ ब्यवस्थापनले मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताललाई कायमै राखी कलेजले शिक्षण अस्पतालको रुपमा संचालन गर्दै आएको ३ सय बेड क्षमताको नेपालगन्ज हस्पिटल तथा तथा रिसर्च सेन्टर प्रालिलाई १० साउनदेखि सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि बुटवलसँग मर्ज गरेर सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.मा परिणत गराएको थियो । संजिवनी कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी नर्सिङ तथा एलाइड साइन्सका साथै सिटिइभिटीका शैक्षिक कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको छ ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडअन्तर्गत नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको नाम परिवर्तन सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस भएपछि त्यहाँ कार्यरत कर्मचारीहरु अब संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको हुने कि नहुने भन्ने अन्यौल सिर्जना भएको छ । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडअन्तर्गत अब कोहलपुरमा ७ सय ५० बेडको शिक्षण अस्पताल र चिसापानीमा कलेज संचालनमा छन् । नेपालगन्ज मेडिकल कलेजको नाम फेरिएसँगै सामाजिक संजालमा पनि तीब्र विरोध भइरहेको छ ।

नागरिक समाजका अगुवाहरुले नेपालगन्जको पहिचानसँग जोडिएको नेपालगन्ज मेडिकल कलेज नाम मेटाएर रातारात संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको बोर्ड झुन्ड्याइएको भन्दै आपत्ति जनाएका छन् ।

यस्तै, आन्दोलनरत कर्मचारीहरुले १६ पुसमा नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर कलेज व्यवस्थापन पक्षले शान्तिपूर्ण आन्दोलनरत कर्मचारीहरुलाई थप आक्रोशित पार्ने काम गरेको उल्लेख गर्दै शिक्षण अस्पतालमा कार्यरत ६ सय २५ जनाको समायोजनसम्म नगरी शिक्षण अस्पतालको नाम नै परिर्तन गरेको भन्दै आपत्ति जनाएका छन् ।

आन्दोलनरत कर्मचारीहरुले नेपालगन्ज मेडिकल कलेजमा बोर्ड राख्ने अधिकार संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.लाई नभएको पनि दाबी गरेका छन् । आन्दोलन समितिका सह—संयोजक खड्काले व्यवस्थापन पक्षले हचुवाको भरमा रातारात बोर्ड फालेर संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.को बोर्ड राख्नुले कर्मचारीहरुलाई थप आन्दोलित बनाएको बताए ।

आन्दोलनरत कर्मचारीको अगुवाई गर्दै आएकी कर्मचारी युनियनकी अध्यक्ष अनिता थापाले कलेजको ब्यवस्थापन पक्षले राजनीतिक पहुँच र पैसाको भरमा कानून हातमा लिएर जबरजस्ती गर्दै आएको बताउँदैं कर्मचारीहरुले जारी राखेको आन्दोलन नरोकिने बताइन् । कर्मचारीहरुले उठाएका मागहरुका सम्बन्धमा छलफलका लागि वार्तामा बस्न तयार रहेको बताउँदैं थापाले कर्मचारीहरुले उठाएका जायज माग पूरा गर्न जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

यसैबीच, नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसले विभिन्न पदमा ठूलो संख्यामा जनशक्ति माग गरेको छ । कलेजले तीन सय बेड क्षमताको अस्पताल र कलेजका विभिन्न कार्यक्रम सञ्चालनका लागि ठूलो संख्यामा जनशक्ति माग गरेको हो ।

१५ पुस २०८१ मा कलेजले विभिन्न विभागमा गरेर ८ सय ९५ जनालाई रोजगारीको अवसर सिर्जना गरेको छ । कलेजले निकालेको सूचनाअनुसार अस्पताल र कलेजका लागि सबैभन्दा धेरै नर्सिङ जनशक्तिको माग भएको छ । कलेजले ४ सय जना नर्सका लागि रोजगारी खुला गरेको छ । कलेजले विशेषज्ञ चिकित्सकदेखि फार्मेसी र ल्याबका लागि जनशक्ति माग गरेको हो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि. बुटवलमा रहेको छ। गत साउनमा उक्त कलेज नेपालगन्ज हस्पिटल एन्ड रिसर्च ट्रेनिङ सेन्टर प्रा.लि.सँग मर्ज भएको थियो । मर्ज भएपछि कलेजको नाम सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि. भएको र बुटवलबाट नेपालगन्जमा स्थानान्तरण गरिएको कलेज ब्यवस्थापन पक्षले जारी गरेको कर्मचारी माग गरिएको विज्ञापनमा उल्लेख गरिएको छ ।

९ पुसमा मेडिकल कलेजको ब्यवस्थापन पक्षले नेपालगन्जमा पत्रकार सम्मेलन गरी कर्मचारीले उठाएको तलब वृद्धिलगायतका मागलाई तत्काल सम्बोधन गर्न सक्ने स्थिती नै नरहेको जानकारी गराएका थिए । कलेजका सिईओ सन्तोषकुमार बिएनले कर्मचारीहरुले माग गरेको तलब, भत्ताका सम्बन्धमा आगामी आर्थिक वर्ष २०८२ साउन महिनादेखि लागु हुने गरी कम्पनीको आर्थिक अवस्थाअनुसार छलफल गरी दुवै पक्षको सहमतिमा लागु गर्न ब्यवस्थापन सकारात्मक भएको बताएका थिए ।

तलब वृद्धिको माग राखेर अस्पतालजस्तो संवेदनशील क्षेत्रको सेवा ठप्प पार्ने कर्मचारी संघ, संगठन र युनियनको काम निन्दनीय भएको उनको भनाइ थियो । सिईओ बिएनले कम्पनीले नेपाल सरकारले तोकेअनुसार नै कर्मचारीलाई तलब दिइरहेको पनि दाबी गरेको छन् । तर, आन्दोलनरत कर्मचारीले भने सरकारले तोकेअनुसारको तलब भत्ता नपाएकै कारण बाध्य भएर आन्दोलन गर्नु परेको बताउँदैं आएका छन् ।

कहिले के भयो

  • ४ असार २०८१ मा भत्ता तथा तलब वृद्धि, पदोन्नति, स्थायी नियुक्ति, उपदान, सामाजिक सुरक्षा कोष, कर्मचारी कल्याण कोष, स्वास्थ्य उपचार खर्च एवं सेवासुविधाको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारी संघ संगठन र युनियनले मेडिकल कलेजको ब्यवस्थापनलाई ज्ञापन पत्र बुझाएका थिए ।
  • १ साउनदेखि मंसिर मसान्तको अवधिमा कलेजको ब्यवस्थापनले बिरामीको उपचार सेवामा लाग्ने विभिन्न शुल्कहरुमा २५ देखि १५० प्रतिशतसम्म वृद्धि गरेको छ ।
  • ६ साउनमा कर्मचारी र ब्यवस्थापन पक्षबीच पहिलो चरणको वार्ता भएपनि सहमति हुन सकेन् ।
  • ८ असोजमा श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा ब्यवस्थापन, कर्मचारीको वार्ता समिति र कार्यालयका प्रतिनिधिबीच त्रिपक्षीय वार्ता गरी मध्यस्थताबाट समस्या सामाधान गर्ने सहमति ।
  • २५ र २६ मंसिरमा काठमाडौंमा ब्यवस्थापन र कर्मचारीको वार्ता समितिबीच छलफल भएपनि सहमति भएन् ।
  • २७ मंसिरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सबै निजी, प्रतिष्ठान र कलेजलाई तलब भत्ता न्यूनतम नेपाल सरकारसरह दिन पत्राचार ।
  • ३ पुसदेखि दोस्रो चरणको आन्दोलन सुरु । पुस ३ र ४ मा आधा दिन ओपीडी र शैक्षिक कार्यक्रमहरू पनि बन्द ।
  • ५ पुसदेखि इमर्जेन्सीबाहेकका सम्पूर्ण सेवा र शैक्षिक कार्यक्रमहरू पूर्ण रूपमा बन्द गरी अस्पताल परिसर, कलेज परिसरमा भेला तथा कोणसभा धर्ना कार्यक्रमलाई निरन्तरता ।
  • ९ पुसमा मेडिकल कलेजको ब्यवस्थापन पक्षले नेपालगन्जमा पत्रकार सम्मेलन गरी कर्मचारीहरूले उठाएका तलब वृद्धिलगायतका मागलाई तत्काल सम्बोधन गर्न सक्ने स्थिती नै नरहेको जानकारी ।
  • १२ पुस मेडिकल कलेजको ब्यवस्थापन पक्षका तर्फबाट अस्पतालका उप-निर्देशक श्यामकुमार शर्माद्वारा आन्दोलनरत कर्मचारी संघ संगठन र युनियनका विरुद्ध अन्तरिम आदेशको मागसहित निषेधाज्ञालगायतको उपयुक्त आदेश माग गर्दै उच्च अदालतको नेपालगन्ज इजलासमा निवेदन दायर ।
  • १२ पुसमै उच्च अदालतको नेपालगन्ज इजलासका न्यायाधीश बसन्तराज पौडेलकोबाट निवेदकको माग बमोजिम अन्तरिम आदेश सम्बन्धमा कर्मचारी संघ संगठन र युनियनलाई छलफलका लागि बोलाउने गरी पुस १८ गते पेशी तोक्ने आदेश ।
  • १५ पुसमा मेडिकल कलेजको ब्यवस्थापनद्वारा नेपालगन्जस्थित शिक्षण अस्पतालको नाम परिवर्तन गरी संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.को बोर्ड लगाइएको ।
  • १५ पुसमै संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.द्वारा विभिन्न विभागमा ८ सय ९५ जना चिकित्सकसहित स्वास्थ्यकर्मीहरुको माग गर्दै विज्ञापन आब्हान । हाल नाम परिवर्तन भएर संजिबनी कलेज भएको साविकको शिक्षण अस्पताल नेपालगन्जमा ६ सय २५ जना कर्मचारी कार्यरत छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ