२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअसफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल

असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल


काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल मंगलबार दलबलसहित भेरी अस्पताल नेपालगञ्ज पुगे । पौडेल त्यहाँ जानुको प्रमुख एजेण्डा थारु समुदायमा देखिने स्वास्थ्य समस्या सिकलसेल र थालसेमिया वार्डको उद्घाटन गर्नु थियो ।

तर, प्रचारमुखी मन्त्री पौडेलले मौका किन गुमाउँथे । उनी जत्तिकै प्रचारमा रमाउने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई पनि सँगै लिएर गएका थिए । आफू साक्षी बसेर प्रत्यारोपण केन्द्रका निर्देशक डा. श्रेष्ठ र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीबीच ‘स्याटेलाइट प्रत्यारोपण सेवा’ (शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको टिम नै गएर गरिने प्रत्यारोपण) सुरु गराउने सम्झौता गराए । दुई संस्थाबीच सम्झौता गराउँदैं गर्दा मन्त्री पौडेलले एक महिना भित्र प्रत्यारोपण सुरु गराउन निर्देशन समेत दिए ।

मन्त्रीको निर्देशनपछि केन्द्रका निर्देशक डा. श्रेष्ठ हौसिदैं अस्पतालले प्रत्यारोपणको कानुनी प्रक्रिया पूरा गरे एचओटीसीको टिम र सामाग्री समेत ल्याएर एक महिनामा नै प्रत्यारोपण गरिदिने उपाय सुझाए । ‘प्रत्यारोपणका लागि यहाँको पूर्वाधार विस्तारै पूरा हुँदै जाला तर हामी त्यति पर्खन पनि सक्दैनौं,’ डा. श्रेष्ठले भनेका छन्, ‘आवश्यक प्रत्यारोपण शल्यक्रियाका सबै सामाग्री उतैबाट ल्याएर हामी यो सेवा सुचारु गर्न तयार छौं ।’

अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. सुवेदी पनि एक महिनाभित्र प्रत्यारोपण सेवा सुरु गर्न सम्भव नभएको बताउँछन् । ‘दुई संस्थाबीच सहकार्यको सम्झौता भएको हो । सम्झौतामा एक महिनाभित्र भन्ने छैन,’ उनी भन्छन्, ‘एउटा प्रक्रिया सुरु भएको छ । पूर्वाधार र जनशक्ति केही छ, केही थप गरेर ३ देखि ६ महिना सम्ममा सुरु गर्न सक्छौ भन्ने हो ।’

अस्पताल स्रोतका अनुसार भेरीमा न त स्थायी प्रत्यारोपण सर्जन नै छन्, न त नेफ्रोलोजिष्ट छन् (छात्रवृत्ति करारका एक जना चिकित्सकको ५ महिनामा करार अवधि सकिदैंछ) । प्रत्यारोपणका लागि विशेष तालिम लिएका नर्सिङ्ग स्टाफ पनि छैनन् । पूराना भवनमा रहेका २ वटा ओटी संचालनमा छन् भने जनशक्ति अभावका कारण नयाँ बनेका भवनको ओटी संचालनमा नै आउन सकेको छैन । तर, मन्त्री पौडेलले सोही दिनको भषणमा जनशक्ति नथपिने तर सेवा भने विस्तार गर्नुपर्ने अव्यवहारिक भाषण गरेका थिए ।

यसबाट के प्रस्ट हुन्छ भने कुनै पूर्वाधार तयारी बिना नै भेरीमा मन्त्रीको दबाबका कारण प्रत्यारोपण कार्यक्रम गर्ने भनेर सम्झौता भएको हो । यसरी नै पूर्वाधार तयारी बिना नै दुई वर्षअघि कर्णाली प्रादेशिक अस्पतालमा सुर्खेतमा पनि मिर्गौला प्रत्यारोपण सम्झौता भएर २ वर्षमा २ वटा मिर्गौला मात्रै प्रत्यारोपण भएका थिए । तर, त्यो दीर्घकालीन हुन नसक्दा तेस्रो प्रत्यारोपण नै हुन सकेको छैन । रमाइलो त के भने त्यो बेला सुर्खेतमा जनशक्ति र प्रविधीसँगै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाटै बिरामी लगेर प्रत्यारोपण सुरु गरिएको थियो ।

भेरीमा किन हतार-हतार सम्झौता ?

पछिल्लो समय भेरी अस्पतालको प्रत्यारोपणका लागि आवश्यक पूर्वाधार बिना नै हतार हतारमा सम्झौता गरेर प्रचार गर्नु फेरि सुर्खेतकै हालतमा नपुग्ला भन्न सकिदैन् । दैनिक फण्डा गर्ने मन्त्रीका लागि त फण्डा फाल्ने एउटा विषय थपियो नै । तर, व्यवहारिक रुपमा हेर्दा बिरामीहरुका लागि भने तत्काल केही हुने देखिदैन् ।

केही समयअघि प्रत्यारोपण सम्बन्धी एक सम्मेलनमा डा. पुकारकै सल्लाहमा मन्त्री पौडेलले देशभर प्रत्यारोपण सेवा विस्तार गर्ने भाषण गरेका थिए । न दक्ष जनशक्ति न त पर्याप्त उपकरण फण्डावाल मन्त्री पौडेलले एक महिनाभित्र भेरीमा प्रत्यारोपण सेवा सुरु गर्ने सम्झौता नै गराइदिए । उनले त्यसपछि आफ्नो सामाजिक संजाल फेसबुकमा लेखे, ‘यसै अवसरमा हामीले पूर्व घोषणा गरेको मिर्गौला प्रत्यारोपण सेवा सम्झौताको समेत हाम्रै उपस्थितीमा आराम्भ गरेका छौं । यसलाई क्रमैसँग अन्य प्रदेशमा विस्तार गर्न तपाईंको साथ महत्वपूर्ण रहनेछ ।’

दुई वर्षमा दुई प्रत्यारोपण : काठमाडौंबाट नवलपरासीका बिरामी लगेर सुर्खेतमा प्रत्यारोपण

-रमेश रावल
वीरेन्द्रनगर–शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला बिरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रुपमा मिर्गौला प्रत्यारोपण गर्ने लक्ष्यसहित कर्णाली प्रदेश अस्पतालसँग १० चैत्र २०७८ मा मिर्गौला प्रत्यारोपण गर्ने सम्झौता गरेको थियो । सेवाको विस्तारसँग नियमित पश्चिम नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने लक्ष्यअनुसार कर्णाली प्रदेश अस्पतालबाट नियमित सेवा सुरु गर्ने उद्देश्य रहेको थियो । सम्झौता भएको १० महिनापछि २१ माघ २०७९ मा पहिलो पटक कर्णाली प्रदेशमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

पश्चिम नेपाललाई लक्षित गरेर सञ्चालन गरिएको मिर्गौला प्रत्यारोपण कार्यक्रममा कर्णाली प्रदेश अस्पतालमा दुई पटक गरेर चालू आर्थिक वर्षदेखि ठप्प रहेको छ ।
पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा कर्णाली प्रदेशमा २१ माघ २०७९ मा नवलपरासी बर्दघाट नगरपालिकाका २२ वर्षीया युवकको गरिएको थियो । उनलाई त्यहीबाट ल्याएर कर्णाली प्रदेशमा मिर्गौला प्रत्यारोपण गरिएपछि पाँच दिनमा डिस्चार्ज गरिएको थियो ।

२१ माघमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ महिनापछि २८ असार २०८० मा रोल्पा जिल्लाको रोल्पा नगरपालिका ३५ वर्षीय युवकमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

ढिलो गरी काम हुनु मिर्गौला प्रत्यारोपण प्रक्रिया झन्झटिलो भएको र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ढिलाइका कारणले पनि मिर्गौला प्रत्यारोपण प्रक्रिया नियमित हुन नसकेको अस्पताल स्रोतले जानकारी दियो । अस्पताल प्रशासनकाअनुसार मिर्गौला प्रत्यारोपण प्रदेश अस्पतालमा सुरु भएको भएपनि त्यसलाई नियमित गर्नेमा दुवै पक्ष उदासिन हुँदा पनि कार्यक्रम प्रभावकारी बन्न सकेन् ।

मिर्गौला प्रत्यारोपण गर्नका लागि कर्णाली प्रदेश अस्पतालले सात लाख रुपैयाँ र प्रत्यारोपण गर्ने व्यक्तिले डेढ लाख रुपैयाँ व्यहोर्ने सहमतिका आधारमा काम भएपनि कर्णाली प्रदेश अस्पतालमा दुई पटक मिर्गौला प्रत्यारोपणबाहेक अरु हुन सकेको छैन् ।

पहिलोपटक कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट जटिल खालको मानव अंग प्रत्यारोपण सेवा सुरु हुने भएपछि मिर्गौला रोगीले सहजै उपचार पाउने र आर्थिक भार कम हुने कर्णालीवासीको अपेक्षा थियो । त्यो बेला मिर्गौला उपचारको सेवा प्रदेश बाहिरबाट लिनुपर्ने बाध्यता हट्ने प्रदेश अस्पातालले जनाएको थियो ।

सेवा सुरु गर्दा कर्णाली प्रदेश अस्पतालमा राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट केही चिकित्सकहरुको टिमले महिनामा दुई पटक आएर मिर्गौला प्रत्यारोपण गर्ने त्यो बेला जानकारी गराएको थियो । तर, भनेअनुसारको अहिलेसम्म पनि काम हुन सकेको छैन् ।

यस्तो थियो सम्झौता

१० चैत्र २०७८ मा भएको सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका तत्कालीन निर्देशक डा. डम्बर खड्काले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार प्रदेश अस्पतालअन्तर्गतका अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने र मिर्गौला प्रत्यारोपण गर्ने सम्झौता भएको थियो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा प्रदेश अस्पतालको जनशक्तिलाई सिप हस्तान्तरण गरेर उच्च प्रविधि र दक्ष जनशक्तिले उत्कृष्ट सेवा दिनेमा लक्ष्य राखिएको थियो ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको मिर्गौलाका बिरामीहरुको चापलाई ध्यानमा राखेर मिर्गौला प्रत्यारोपण देशभर विस्तार गर्ने लक्ष्यका साथ पश्चिम नेपालमा पहिलो पटक कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रले जनाएको थियो ।

प्रदेश अस्पतालमा नियमित प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउन केहीलाई केन्द्रमा थप तालिमका लागि पठाएको र केहीलाई पठाउने सम्झौता भएको थियो ।

चालू आर्थिक वर्षमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग भएको सम्झौताअनुसार एक जनाको मिर्गौला प्रत्यारोपण पनि नभएको र अहिले अस्पतालले केन्द्रसँग कोर्डिनेसन गरेर मिर्गौला प्रत्यारोपण नियमित गर्ने विषयमा छलफल भइरहेको कर्णाली प्रदेश अस्पतालमा सूचना अधिकारी विनोद बस्नेतले बताए । ‘हामीले अहिले मिर्गौला प्रत्यारोपणका विषयमा केन्द्रसँग कोर्डिनेसन गरिरहेका छौं,’ उनले भने, ‘मिर्गौला प्रत्यारोपण सेवा चाडै सञ्चालनमा ल्याउने पहल भइरहेको छ ।’ अन्तिम पटक २८ असार २०८० मा मिर्गौला प्रत्यारोपण भएको त्यसभन्दा पछाडि हुन नसकेको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ