काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गरेको ५ महिना १० दिन पुगेको छ । युवा नेताका रुपमा चिनिएका मन्त्री पौडेलले ३० साउनमा मन्त्रालय सम्हाल्दैं गर्दा स्वास्थ्य क्षेत्रमा निकै परिर्वतनको आशा गरिएको थियो ।
तर, मन्त्री सुरुवातदेखि नै काम कम र प्रचारबाजीमा बढी खटेको देखियो । एक हप्ताअघि मन्त्री पौडेलले कतारलाई कान्ति अस्पतालको पुर्वाधार विकासमा सहयोग पहल सुरु गरेको भन्दै उनको सचिवालयबाट विज्ञप्ति सञ्चार माध्यममा आयो । अधिकांश संचारमाध्यमले सो समाचारलाई प्राथमिकताका साथ प्रकाशित पनि गरे ।
वास्तवमा भन्ने हो भने सो प्रस्ताव स्वास्थ्यमन्त्री पौडेलको नभई कतारी पक्षको थियो । कतार सरकारले बाल स्वास्थ्यको क्षेत्रमा करिब १० अर्बको परियोजना सहयोग गर्ने इच्छा देखाएको हेल्थआवाजले यसअधि नैै समाचार सार्वजनिक गरेको थियो । कतार सरकारको इच्छाअनुसार नै २५ अप्रिल (गत चैत्रमा) कतारी राजा शेख तमिम बिन हमद अल थानी नेपाल आउनुअघि नै नेपाल सरकारले कान्ति अस्पताललाई सुपरस्पेसियालिटी सेवा प्रदान गर्न सक्ने पूर्वाधार निर्माण गरिदिन कतारलाई प्रस्ताव पठाएको थियो ।
तर, तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले कान्ति अस्पतालका विषयमा तत्काल निर्णय गरेर पठाउन नसक्दा सम्झौता हुन सकेको थिएन । त्यसबेला (हालका स्वास्थ्यमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार) प्रा.डा. भगवान कोइरालाले नेतृत्व गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को पनि सिधै प्रधानमन्त्री कार्यलयमार्फत प्रस्ताव पठाएपछि कतार सरकार दुविधामा रहेर सम्झौता हुन सकेको थिएन ।
तत्कालीन स्वास्थ्यमन्त्री मोहन बस्नेतका प्रमुख सल्लाहाकार विश्वदीप खड्का त्यसबेला स्वास्थ्य मन्त्रालयले कान्ति बाल अस्पतालको डिपीआरसहित प्रधानमन्त्री कार्यालयमार्फत कतार दूतावासलाई प्रस्ताव पठाएको बताउँछन् । ‘त्यो बेला कतारको सरकारी पक्षबाट प्रस्ताव माग भएको थियो,’ खड्काले भने, ‘धेरै पटक दूतावासका कर्मचारीहरुसँगको छलफलपछि प्रस्ताव पठाइएको हो पछि किन अगाडि बढेन त्यो चाहिँ थाहा भएन ।’
किन भएन त्यो बेला सम्झौता ?
कतार सरकारले गत २५ अप्रिलमा कतारी राजा शेख तमिम बिन हमद अल थानी नेपाल आउने भएपछि नेपाललाई बाल स्वास्थ्यको क्षेत्रमा केही परियोजना सहयोग गर्ने तयारी गरेको थियो । सोही तयारी अनुसार उसले नेपाल सरकारलाई ऐतिहासिकतासँग जोडिएको विषयमा प्रस्ताव तयार गर्न आग्रह गरेको थियो ।
कतारी चाहनाअनुसार नेपालस्थित कतारी राजदूतावासका प्रतिनिधी, स्वास्थ्य मन्त्रालयका अधिकारी, राजाको भ्रमणको पूर्व तयारीमा नेपाल आएका कतारी अधिकारी र कतार फाउण्डेसनका पदाधिकारी सम्मिलित बैठक बसेको थियो । सो बैठकमा कान्ति बाल अस्पतालको सुपरस्पेसियालिटी परियोजनालाई प्रस्तावमा लैजाने सहमति भयो । दोस्रो बैठकमा दूतावासका कर्मचारी, स्वास्थ्य मन्त्रालयका अधिकारी, कान्ति अस्पतालको नेतृत्व र कतार फाउण्डेसनका पदाधिकारीबीच कान्तिको परियोजनामा कतारी सहयोगबारे छलफल भएको थियो ।
यता स्वास्थ्य मन्त्रालयमा कान्तिको परियोजना अगाडि बढाउने छलफल चलिरहँदा सोही समय डा. कोइराला नेतृत्वको किओचको प्रस्ताव प्रधानमन्त्री कार्यलय पुगिसकेको थियो । बाह्य दबाब कान्तिभन्दा बढी किओचको भएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै प्रस्ताव कतारी दूतावास पठाउन निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार नै दुवै प्रस्ताव दूतावास पुगेको जानकारी पाएको कतार फाउण्डेसनका एक अधिकारीले हेल्थआवाजलाई बताए ।
‘सरकारबाट एउटामा प्रस्ताव अगाडि बढेको भए त्यहीबेला सम्झौता हुन सक्थ्यो वा प्रक्रिया अगाडि बढ्थ्यो होला,’ फउण्डेसनका ती अधिकारीले भने, ‘दुई वटा प्रस्ताव गए, त्यसमा कतार सरकार दुविधामा प¥यो ।’ उनी अहिले पनि सरकारले स्पष्ट तरिकाले डिल गर्ने हो भने परियोजना अघि बढ्न सक्ने बताउँछन् ।