काठमाडौं—सरकारले पर्सास्थित पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरिया अस्पताललाई ५० शैय्याको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरेको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए ।
‘आज बसेको मन्त्रिपरिषद्को बैठकले पर्सास्थित पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्दै प्रादेशिक अस्पतालको रूपमा घोषणा गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको विशेष निर्देशनमा स्वास्थ्य मन्त्रालयको सिफारिसमा पोखरिया अस्पताललाई स्तरोन्नति गर्ने ऐतिहासिक निर्णयले भएको छ ।’
पर्साबाट निर्वाचित प्रतिनिधीसभा सदस्यसमेत रहेका मन्त्री यादवले यो निर्णयले पोखरियावासीलाई मात्र नभएर आसपासका क्षेत्रका जनतालाई समेत गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने विश्वास व्यत्तः गरे । ‘यसले मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा नयाँ अध्याय सुरु गर्ने मेरो विश्वास छ,’ उनले भने ।
वर्षौँदेखि पोखरियावासीले उठाउँदै आएको पूरा भएको बताउँदैं उनले पोखरियाको स्वास्थ्य आवश्यकता पूरा गर्ने दिशा अब झन् प्रभावकारी बनेको उल्लेख गरे । ‘यो महत्त्वपूर्ण उपलब्धि सम्भव बनाउन सम्माननीय प्रधानमन्त्रीज्यूलाई अभार साथसाथै प्रत्यक्ष—अप्रत्यक्ष रूपमा योगदान पुर्याउने पोखरिया नगरका जनप्रतिनिधि, सामाजिक अगुवा, तथा विभिन्न राजनीतिक दलका नेताज्यूहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु,’ मन्त्री यादवले भने ।
