काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिहिबार सिंहदरबार बैद्यखानाको निरीक्षण गरी तीन दिन भित्र सुधारको योजना ल्याउन निर्देशन दिए । उनी त्यतिमा मात्र सिमित रहेनन्, यदि योजनासहित संचालन गरी उत्पादन बढाउन नसक्ने भए मार्ग प्रशस्त गर्न भन्दै संचालक समिति र निर्देशकलाई दबाब पनि दिए ।
मन्त्रीले निर्देशन दिएको १२ घण्टा पनि नबित्दै वैद्यखानाका निर्देशक डा. प्रदीप केसीले सामाजिक संजाल फेसबुकमा ५ बुँदे समस्या देखाउँदै ती समाधान नभएसम्म कुनै पनि उत्पादन हुन नसक्ने सार्वजनिक गरेका छन् ।
उनले अहिलको गठन आदेशले ठिमाहा बिउ रोपेको र त्यसमा धान नफल्ने व्यंग्यात्मक टिप्पणी गरेका छन् । केसीले आफू २ पटक इच्छा नहुँदा—नहुँदैं पनि जबरजस्ती निर्देशक बनाइएको उल्लेख गरेका छन् ।
उनले कर्मचारीहरु स्वार्थ बेगर काम नगर्ने परिपाटी रहेको औल्याएका छन् । डा. केसीले ठेकेदारसँग साँठगाँठ गरी उत्पादन प्रणाली ध्वस्त पार्ने र संस्था टाट पल्टाएर आफ्नो रोटी सेक्नेलाई समितिले कारवाहीको दायरामा ल्याउनुपर्ने तर अहिलेको समितिमा त्यो तागत नभएको बताएका छन् ।
केसीको भनाइ जस्ताको तस्तै
सिंहदरबार बैद्यखानाले यी समस्या समाधान नहुँदासम्म कुनै उत्पादन गर्न सक्दैन:
१• यो वैध्यखानालाई विकास समितिले नै सञ्चालन गर्ने हो भने २०७७ साल अघिकै समिति गठनादेश ब्युँताएर ४ वर्षे कार्यकाल सहितको प्रबन्ध निर्देशकलाई राजनैतिक नियुक्ति मन्त्रिपरिषदबाट गर्नुपर्छ ।
२• यदि नेपाल सरकारले सञ्चालन गर्ने हो भने २०५२ साल अघि समिति गठन हुनुपूर्वको जस्तो आयुर्वेद विभाग मातहतमा राखेर २०७० सालसम्म स्वीकृत रहेका नेपाल सरकारका दरबन्दीमा थपघट गरी स्थायी संरचना अनुसार चलाउनु पर्छ।
३• अहिलेको गठनादेशले व्यवस्था गरेको कार्यकारी निर्देशकको प्रावधान राख्नु हुँदैन भनेर २०७७ सालमै सुझाव दिएको हो। यो व्यवस्थाले यदि कसैलाई फाइदा गर्यो भने त्यो केवल आयुर्वेद समूहका केही ९/१०औ तहका कर्मचारीलाई मात्र गर्यो होला तर संस्था भने झनै टाट पल्टियो। १ जना मात्र प्रबन्ध निर्देशक हुने समयावधिमा यसले १२ जना कार्यकारी निर्देशक पाइसकेको छ जसमा म स्वयं पनि आफ्नो ईच्छा विपरीत २ पटक सामेल भई सकेको छु। (ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो र?)
४• पद र दरबन्दी नभएको कार्यालयमा कुनैपनि कर्मचारी (व्यक्तिगत स्वार्थ र अनुचित लाभ जोडिएको अवस्थामा बाहेक) काम गर्न जान मान्दैन । लोकसेवा आयोगले स्वीकृत दरबन्दीमा मात्र कर्मचारीलाई स्थायी नियुक्तिको शिफारिस गर्छ। बैद्यखानामा हाल न कुनै स्थायी दरबन्दी छ न त कुनै पद र पदनाम। यस्तो अवस्थामा ११औ तहको कुनै पनि कर्मचारीलाई उसको पद र दरबन्दी अन्यत्र राखी बैद्यखानामा बलजफ्ति कामकाज गर्न जानू भनेर मन्त्री स्तरीय निर्णय गर्ने र उसको दरबन्दी रहेको कार्यालयमा कनिष्ठलाई निमित्त प्रमुख बनाउने निर्णय कुनै पनि कोणबाट जायज हुदैन होला। वैध्यखानालाई ११औ तहको कार्यकारी कर्मचारी चाहिएको हो भने सोको लागि विज्ञता, कार्यविवरण, योग्यतासहित पद र दरबन्दी श्रीजना गर्नुपर्छ।
५• वैध्यखानामा कच्चापदार्थ आपूर्ति गर्ने ठेकेदारसँग साँठगाँठ गर्ने, उत्पादन प्रणाली ध्वस्त बनाई नीजि कम्पनीलाई सहयोग गर्ने, संस्था टाट पल्टने तर आफ्नो लागि रोटि तताइरहने लगायतका कार्यालय विरूद्धका गतिविधि गर्ने जो सुकै कर्मचारी किन नहुन् ठाउँको ठाउँ कारबाही गरौं। यो काम गर्ने आट र ताकत अहिलेको समितिसँग छ त?