काठमाडौं—नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन मेडिकल कलेजको स्वामित्व रहेको चितवन राइनोज इलिमिनेटर खेलमा २१ रनले पराजित भएको छ । बुधबार टस जितेर कर्णाली याकलाई ब्याटिङमा निम्त्याएको चितवन १ सय ५४ रनमै समेटियो ।
पहिले ब्याटिङ गरेको कर्णाली याकले ६ विकेट क्षतिमा १७५ रन जोडेको थियो । तर, जवाफी ब्याटिङमा आएको चितवन राइनोजले ९ विकेट क्षतिमा १ सय ५४ रनमात्रै जोड्न सक्यो ।
चितवनलाई १ सय ५४ रनमा रोक्ने क्रममा जेसन मकसुदले तीन विकेट, सोमपाल कामी र नन्दन यादवले २/२ विकेट लिए । विपिन शर्माका नाममा १ विकेट रह्यो ।
चितवनका ब्याटसम्यान रवि बोपाराले अर्धशतकीय पारी खेले पनि टिमलाई जितसम्म लैजान सकेनन् । ३४ बलको सामना गरेका उनले ४ छक्का र ३ चौकाको मद्धतमा ५३ रन जोडेका थिए । चितवका लागि कुशल मल्लले २१ रन, लक बेनकेस्टाइनले १६ रन, विपिन रावलले १८ रन र शरद भेषावकरले नटआउट १० रन जोड्नुबाहेक अन्य ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीका लागि जयकिशन कोलसवाला ५३ र विलियम बोसिस्टोले ५२ रन जोडे । यसैगरी, उत्कृष्ट पारी खेलेका चाडवीक वाल्टनले ४६ रन जोडेका थिए भने जेसन मकसुदले १४ रनको पारी खेलेका थिए ।
चिवतनका लागि सोहिल तनवीरले २ विकेट लिएका थिए । यसैगरी, शरद भेषावकर, रवि बोपारा र कुशल मल्लले १/१ विकेट लिए । जितसँगै कर्णाली याक क्वालिफायरमा प्रवेश गरेको छ ।