२०८१ पुस १, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने

अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने

स्वास्थ्य मन्त्री पौडेलद्वारा एकीकृत रजिष्ट्ररी सुरुवात


काठमाडौं—नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् । सोमबार जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको उद्घाटन गरेका हुन् ।

अनलाइनमार्फत अंगदान गर्ने जो कोहीले दर्ता गराउन सकिने तथा लिन चाहनेले जानकारीसमेत पाउने उनले बताए । मष्तिष्क मृत्युपश्चात तत्काल जानकारी अनलाइनमा राखिने भएकाले यसले प्रत्यारोपण कुरिरहेका बिरामी उपचाररत अस्पतालले समेत तत्काल अंग प्रत्यारोपण गर्न जानकारी प्राप्त गर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । दाता तथा बिरामीले केन्द्रको वेबसाइट एसडीएनटिसी डट जिओभी डट एनपी मार्फत जानकारी लिन सक्नेछन् ।

सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारले नागरिकहरुका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण तथा डायलसिस सेवा उपलब्ध गराइरहेको भन्दै धेरैको ज्यान बचाउन नागरिकहरुका लागि मष्तिष्क मृत्युपश्चात अंगदान प्रोत्साहन गर्न कार्यक्रम सुरु भएको जानकारी दिए ।

मन्त्री पौडेलले भने, ‘देशमा ९८ प्रतिशत मिर्गौला तथा ९० प्रतिशत नागरिक फोक्सो प्रत्यारोपणपछि सामान्य जीवन बाँचिरहेका छन् । हामी प्रत्यारोपण सेवा अझ विस्तार गर्न प्रतिबद्ध छौं ।’अहिले भक्तपुरको केन्द्रबाहेक पोखरा र सुर्खेतमा उपलब्ध प्रत्यारोपण सेवा यसै वर्ष बाँकी प्रदेशमा विस्तार गर्ने लक्ष्यसाथ काम गरिरहेको उनले बताए । ‘यस वर्ष थप प्रदेशमा सेवा विस्तार भएको पाउनुहुनेछ,’ मन्त्री पौडेलले भने ।

मष्तिष्क मृत्यु भएका नागरिकबाट अंगदान प्रवर्द्धननका लागि भन्दै हालै मात्र दाताको परिवारलाई २ लाख तथा ७५ हजार अस्पतालका लागि दिने निर्णय स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले गरेका थिए ।

मन्त्री पौडेलकाअनुसार हाल भक्तपुरस्थित केन्द्रका अलावा सरकारीस्तरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पतालले अंग प्रत्यारोपण सेवा दिइरहेकामा भेरी अस्पताल घोराही दाङ, सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल तथा बाग्मतीको भरतपुर अस्पतालमा समेत मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । कोशी अस्पताल विराटनगरमा केही समयभित्रै यो सेवा थाल्ने तयारी गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ