चरिकोट—सदरमुकाम चरिकोटमा अवस्थित पशुपति चौलागाई स्मृति अस्पतालको अस्पताल व्यवस्थापन समिति अध्यक्षमा सुवास रिमाल चयन भएका छन् । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले रिमाललाई अध्यक्षमा नियुक्त गरेको हो ।
भीमेश्वर नरपालिका–६ निवासी रिमाललाई बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगत प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को पहलो संशोधन २०८१ को दफा २६ ख, उपदफा २ को काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्न अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।
अध्यक्ष रिमालले अस्पताललाई चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको उत्साहपूर्ण मेहनत, समुदायको लगनशीलता, प्रदेश सरकारको सहयोग र आम सेवाग्राहीको सुझावबाटै अस्पताललाई सबैको पहुँच पुग्ने र अब्बल सेवासहितको अस्पताल बनाउने लक्ष्य रहेको बताए ।
अस्पताल न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले छाडेपछि बागमती प्रदेशअन्तर्गत प्रादेशिक अस्पतालको रुपमा सञ्चालन हुँदै आएको छ । आर्थिक संकट झेल्दै आएकाले अहिले अस्पताले शुल्क निर्धारण गरेपछि अस्पतालले दोलखावासीलाई सेवा प्रवाह गर्दै आएको छ ।
नयाँ नेतृत्वले अस्पतालमा भएका कमी—कमजोरीलाई सुधार्दै लैजाने र अस्पतालको सेवामा गुणस्तर बढाउन प्रदेश र केन्द्र सरकारसँग निरन्तर आवश्यक पहल गरिरहने गर्ने नवनियुक्त अध्यक्ष रिमालको प्रतिवद्धता छ । साथै, सामान्य उपचारको लागि पनि काठमाडौं धाउनुपर्ने अवस्था नल्याउने र जोकोहीले पनि सहज तरिकाले स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अवस्था सिर्जना गर्ने अध्यक्ष रिमालले बताए ।
यसअघि भीमेश्वर नगरपालिका–२ का भरतनारायण प्रधानलाई प्रदेश सरकारले सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको थियो ।