काठमाडौं—रास्कोट अस्पताल निर्माणका क्रममा अनियमितता भएको खबर सार्वजनिक भएसँगै रास्वपाका पूर्व महामन्त्री डा. मुकुल ढकालले रास्कोट अस्पताल र रवि लामिछाने फाउण्डेसन फरक संस्था भएको बताएका छन् । बिहीबार फेसबुकममार्फत उनले रास्कोट अस्पतालमा पैसा पुगेपछि टेण्डर विधिबाट रकम निकासा गरिएको प्रष्टीकरण दिएका छन् ।
रास्कोट अस्पताल र रवि लामिछाने फाउण्डेसका विषयमा आएको समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको डा. ढकालले जनाएका छन् । ‘रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेशन दुई वटा फरक संस्था हो,’ उनले भनेका छन्, ‘रास्कोट अस्पतालमा पैसा पुगेपछि टेन्डर विधिबाट पैसा निकासा गरिएको थियो । त्यसकारण यसमा कुनै पनि प्रकारको हिनामिनाको सम्भावना छैन ।’
उनले रास्वपा सभापति रवि लामिछाने फाउन्डेशनको पैसाको हिनामिनाको शंका आफूलाई त्यतिबेला नै लागेको पनि उल्लेख गरेका छन् । ‘मैले तत्कालीन अध्यक्ष रवि लामिछानेलाई पैसा हिनामिनाको विषयबारे लिखित जानकारी गराएको थिए,’ उनले भनेका छन् ।
डा. ढकालले आफू दुवै संस्थाको सञ्चालक समितिको सदस्यमा रहेको उल्लेख गर्दै केही चेकमा आफ्नो पनि हस्ताक्षर रहेको स्वीकार गरेका छन् । ‘मैले काटेको चेक कुनै हिनामिनामा संल्गन छैन र म त्यसको पूरै जिम्मेवारी लिन्छु,’ उनले भनेका छन् ।

डा. ढकालले नेपाल सरकार र सम्बद्ध निकायलाई फाउन्डेशन र अस्पतालको विषयमा लामिछाने, डिपी अर्याल, दिपक बोहोरा, निकिता पौडेल र आफूमाथि छानविनका लागि समेत आग्रह गरेका छन् । ‘म कुनै पनि प्रकारको अनुसन्धान र छानविनको लागि पूर्ण रूपले तयार छु र हुलहुज्जत बिना कानुनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
बिहीबार कान्तिपुर दैनिकले रास्कोट अस्पताल निर्माणका क्रममा अनियमितता भएको भन्दैं समाचार प्रकाशित गरेपछि डा. ढकाललको यस्तो प्रतिक्रिया आएको । डा. ढकालले रास्कोटमै बसेर उक्त अस्पताल निर्माणमा भूमिका खेलेका थिए । हेल्थआवाजले पनि यसअघि लामिछाने फाउण्डेसनले रकम अपुग भएको भन्दैं सरकारसँग पैसा मागेको समाचार प्रकाशित गरेको थियो ।
लामिछाने फाउण्डेसनले अस्पताल निर्माण गर्दा अपुग भएको ४ करोड ९० लाख रुपैयाँ माग गरेपनि सरकारले ५ महिनाको कसरतपछि उसलाई ४ करोड रुपैयाँ भुक्तानी दिएको थियो ।
यो पनि पढ्नुहोस्