२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपर्वत अस्पतालले सुरु गर्‍यो टोल फ्रि सेवा

पर्वत अस्पतालले सुरु गर्‍यो टोल फ्रि सेवा

हाडजोर्नीको शल्यक्रिया सञ्चालनमा उपकरण अभाव


पोखरा—पर्वत जिल्ला अस्पतालले सेवाग्राहीलाई अस्पतालको पहुँचमा पु¥याउन ‘हेलो पर्वत अस्पताल’ सेवा सुरु गरेको छ । अस्पतालका सेवा, सुविधा तथा थप जानकारीका लागि ग्राहकलाई शुल्क नलाग्ने नम्बर १८१०५०००१४१ सुरु गरी त्यसको नाम हेलो पर्वत अस्पताल दिएको हो ।

गण्डकी प्रदेश सभा सदस्य भक्तबहादुर कुँवरले सेवा सुरु गरेका थिए । १५ शैय्याको अनुमति पाएको अस्पतालमा ६० शैय्याको सेवा दिइरहेको अस्पतालले ७ शैय्यामा डायलायसिस सेवा दिइरहेको छ । थप २ शैय्यामा मेसिन भए सेवा दिन सकिने गरी व्यवस्थापन गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाले अस्पतालमा ‘टोल फ्री नम्बर’ राख्दा संस्था र सेवाग्राही दुबैलाई लाभ हुने तर्क गरे । यसबाट सहज सेवा र पारदर्शिता बढ्ने उनको भनाइ थियो । उनले भने,‘बिरामी भेट्न चाहेको डाक्टर, बिरामीको आवश्यकताअनुसारको सेवाबारे जानकारी दिने मुख्य उद्देश्य हो । यो टोल फ्रि नम्बर २४ सै घन्टा सुचारु हुन्छ । गाउँ—गाउँबाट बिरामी पठाउनुपर्ने अवस्थामा थप सहज हुने विश्वास गरेका छौं ।’

अस्पतालले ११ मंसिर बाट फिजियोथेरापी सेवा सुरु गरेको छ । उपकरण अभावमा हाडजोर्नीको शल्यक्रिया सुरु हुन सकेको छैन । उनले भने, ‘हामीले माथिबाट मेसिन माग गरेका छौं, आयो भने सेवा सुरु गर्छौं ।’

सेवाग्राहीलाई दिने सेवा प्रभावकारी बनाउन र अस्पताललाई ‘डिजिटल’ सेवामा आधारित बनाउन आफूहरूको प्रयास जारी रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ