२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिक्रीमा रोक लगाइएको औषधि बेच्ने लाइफ गार्ड फार्मेसी निलम्बन

बिक्रीमा रोक लगाइएको औषधि बेच्ने लाइफ गार्ड फार्मेसी निलम्बन

फार्मेसीको लाइसेन्स खारेजीसम्म हुन सक्ने : डिडिए


विराटनगर—बिक्री वितरणमा रोक लगाएको औषधि खुलेआम बिक्री वितरण गरेको पाइएपछि विराटनगरस्थित लाइफ गार्ड फार्मेसीको लाइसेन्स निलम्बन भएको छ । औषधि व्यवस्था विभाग विराटनगरले लाइफगार्ड हस्पिटलभित्रको फार्मेसीलाई निलम्बन गरेको हो ।

लाइफगार्ड फार्मेसीले बेस्टोसेफ सिभी २०० एमजीको एन्टिबयोटिक रेसिस्टेन्स (प्रतिजैविक) भएको औषधि बिक्री वितरण गरेको पाइएपछि निलम्बनमा राखेर अनुसन्धान सुरू गरेको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख निकेश श्रेष्ठले जानकारी दिए । ‘प्रतिजैविक औषधिहरु बिक्री वितरणमा रोक लगाइएको थियो । तर, लाइफगार्ड हस्पिटलभित्रको लाइफगार्डको फार्मेसीले खुलेआम बिक्री वितरण गरेको अनुगमनको क्रममा भेटिएपछि अहिले सिलबन्दी गरेर तत्काललाई निलम्बन गरिएको हो,’ कार्यालय प्रमुख श्रेष्ठले भने ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सन् २०२१ मा १०३ प्रकारका सिफारिस नगरिएका प्रतिजैविक औषधिहरु र समिश्रणहरुको सूची प्रकाशन गरेको छ । प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्ने, तथ्यमा आधरित उपचार प्रणाली र समूचित प्रयोगलाई बढावा दिने उद्देश्यले औषधि सल्लाहकार समितिको ५५ औं बैठकबाट विभागलाई सिफारिस भएर १८ भदौं २०८० मा ‘बेस्टोसेफ सिभी’ २०० एमजीको एन्टिबायोटिकसहित १०३ प्रकारका औषधिहरु बिक्री वितरणमा रोक लगाइएको छ । ६ महिनाको अवधिमा बजारमा उपलब्ध रहका त्यस्ता प्रतिजैवक औषधिहरुको मौज्दात भए फिर्ता लिइ सोको आधिकारिक विवरण विभागमा पेश गर्ने र सम्बन्धित प्रमाणपहरु फिर्ता गरी नियमानुसार रद्ध गर्ने भनिएको छ ।

तर, विक्री वितरणमा रोक लगाएको एक वर्ष भइसक्दा पनि बिरामीको उपचारमा कामै नगर्ने ‘बेस्टोसेफ सिभी’ २०० एमजीको एन्टिबायोटिक लाइफगार्ड हस्पिटलको फार्मेसीमा विक्री वितरणको लागि राखिएको पाइएको थियो । २३ कार्तिकमा जिल्ला प्रहरी कार्यालय मोरङ र डिडिए विराटनगरले छापा हानेर बेस्टोसेफ सिभी २०० एमजीको २ हजार ८० ट्याब्लेट बरामद गरेको थियो ।

बिक्रीमा रोक लगाएको बेस्टोसेफ सिभीसहित बिरामीलाई आर्थिक रूपमा भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्य पूरक) सामाग्री पनि ठूलो परिमाणमा बरामद गरेको थियो । लाइफगार्डबाट प्रहरीले १० लाख ७५ हजार रूपैयाँ मूल्य बराबरको खाद्य पूरक सामाग्री बरामद गरेको थियो ।

बिक्री वितरणमा रोक लगाएको औषधि खुलेआम बिक्रीको लागि राखेको भेटिँदा पनि नियामक निकाय औषधि व्यवस्था विभाग विराटनगरले लाइफगार्ड हस्पिटलका संचालक रञ्जित अग्रवालले हेर्ने गरेको सो फार्मेसीलाई उन्मुक्ति दिने प्रयास गरेको भनेर हेल्थआवाजले समाचार प्रकाशित गरेको थियो । त्यसपछि दबाबमा परेको डिडिए विराटनगरले फार्मेसीलाई निलम्बन गरेर अहिले अनुसन्धान सुरु गरेको हो ।

बिक्रीमा रोक लगाइएको औषधि ठूलो परिमाणमा भेटिएपछि विभागले लाइफ गार्ड हस्पिटलको फार्मेसीको लाइसेन्ससम्म खारेजीको प्रक्रिया अगाडि बढाएको छ । ‘अहिले निलम्बन गरेर मात्रै अनुसन्धान भइरहेको छ,’ एक अधिकृतले भने, ‘फार्मेसीको कसुर हेरेर निलम्बनसम्मको प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।’

लाइफगार्ड हस्पिटलभित्रको फार्मेसीलाई निलम्बन गरेपछि अहिले अस्पतालको दोस्रो तलाबाट औषधि बिक्री हुने गरेको स्रोतको दाबी छ । ‘डिडिएले लाइसेन्स खारेजी गरेर सिलबन्दी गरेपछि अहिले अस्पतालको दोस्रो तलाबाट औषधि बिक्री वितरण हुने गरेको छ,’ स्रोतले भन्यो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ