२०८१ चैत्र २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा ‘हेलो स्वास्थ्य’ सेवा सुरू

नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा ‘हेलो स्वास्थ्य’ सेवा सुरू


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा सम्बन्धि गुनासो सम्बोधन गर्न ‘हेल्लो स्वास्थ्य’ सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको आम नागरिकको स्वास्थ्य सेवा सम्बन्धि गुनासो सम्बोधन गर्न एकाई स्थापना गर्ने निर्णयअनुसार सोमबारबाट  ‘हेलो स्वास्थ्य’ सेवा सुरु भएको हो ।

‘नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाई स्थापना गरेका हौं,’ मन्त्री पौडेलले भने, ‘तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला ।’

अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासाहरु टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट समेत पठाउन सक्नेछन् । टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासा राख्न सक्नेछन् ।

यसैगरी, भाइबर र ह्वाट्स एपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था मन्त्रालयले मिलाएको छ । इमेलमार्फत हेलो हेल्थएट एमओएचपी डट जिओभी डट एनपीमा गुनासा पठाउन सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्री पौडेलले मन्त्रालयका प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डा. अनुप बाँस्तोलाको संयोजकत्वमा १४ मंसिरमा एकाई गठन गर्ने निर्णय गरेका थिए । सोही एकाईले ‘हेलो स्वास्थ्य’ एकाईका लागि आवश्यक तयारी गरेर सेवा आरम्भ गरेको हो ।

मन्त्रालयले गठन गरेको समितिमा सूचना अधिकारी डा. भक्तबहादुर केसी, सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी तथा शाखा अधिकृत गौरीप्रसाद आचार्य सदस्य छन् ।

यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा रहेको हटलाइन नम्बरमा अरु माध्यमसमेत थप गरेर गुनासो तथा सेवासम्बन्धी जानकारी लिने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ