२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशयुआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई

युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई

जमुना शर्मा वर्षालाई युआरएल पत्रकारिता पुरस्कार


पोखरा—गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) को ११ औं वार्षिकोत्सवको अवसर पारेर युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्डबाट डा. खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरेको छ ।

युआरएलको वार्षिकोत्सवका अवसरमा २३ मंसिरमा श्रेष्ठलाई २०८१ को लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो । ललितपुरको कुपन्डोल निवासी ८९ वर्षीय डा. श्रेष्ठ अहिले ब्लुक्रस अस्पतालका मेडिकल डाइरेक्टर छन् । उनी पूर्वराजा वीरेन्द्र शाहका शाही चिकित्सकसमेत रहेका थिए ।

पत्रकार शर्मा राष्ट्रिय समाचार समिति (रासस) र रेडियो जननीमा आबद्ध छिन् । पत्रकारिता पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मानपत्र छ । करिब २ दशक पत्रकारितामा सक्रिय उनी नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्षसमेत रहेकी छन् ।

लाइफ टाइम एचिभमेन्ट अवार्डबाट पहिलो पटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापालाई सम्मान गरिएको थियो । युआरएल पत्रकारिता पुरस्कारका रुपमा स्थापना भएको पुरस्कार रुपान्तरण गरी ‘राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ बनाइएपछि पहिलोपटक गत वर्ष दीपेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो ।

राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार र लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न प्रेस स्वतन्त्रता सेनानी बदीविनोद प्रतीकको संयोजकत्वमा बनेको समितिले सर्वसम्मत अवार्ड र पुरस्कार दिने प्रतिभा छनोट गरेको हो । वरिष्ठ जनरल सर्जन प्रा.डा. अर्जुन आचार्य, स्वास्थ्य गुणस्तर विज्ञ सुशील थापा, युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला र पूर्व पुरस्कृत व्यक्तित्व दीपेन्द्र श्रेष्ठ र पत्रकार फडिन्द्र अकिञ्चन सदस्य रहेका थिए ।

शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युआरएलका परिकल्पनाकार सुशील थापाले डा. श्रेष्ठको व्यक्तित्वबारे चर्चा गरेका थिए । डा. श्रेष्ठ वीरेन्द्र युवराज हुने बेला पहाडी गाउँमा भ्रमणमा गएको देखि १ सय पटकभन्दा बढी प्याराजम्प गरेको र खेलकुदमा समेत रुचि भएका व्यक्तित्वका रुपमा चिनाइएको थियो । कार्यक्रममा पत्रकार आरजु विष्ट सल्यानी, नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डा. सुनील पनेरु, गण्डकीका प्रेस रजिस्ट्रार विमला भण्डारी, सम्मानित पत्रकार जमुना शर्मा वर्षा, प्रदेश प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, सम्मानित डा. खगेन्द्रबहादुर श्रेष्ठ, शिक्षाविद् जोर्ज जोन, युआरएलका अध्यक्ष ठाकुर पन्तलगायतले बोलेका थिए ।

अध्यक्ष पन्तले गण्डकीका ७ जिल्लाका युआरएलका १४ शाखाबाट साढे ७ लाखले सेवा लिएको जानकारी दिए । उनले युआरएलले विश्वको नम्बर १ प्रविधिमार्फत् सेवा दिँदै ९ सय भन्दा बढी चिकित्सकको मन जित्न सफल भएको बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ