२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशतलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार

तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार


चरिकोट—दोलखा भीमेश्वर नगरपालिका–५ का वडाध्यक्षले आफूले मासिक रुपमा प्राप्त गर्ने तलब भत्ताले स्कुलमा स्वास्थ्य उपचार सुरु गरेका छन् । नगरपालिका–५ का वडाध्यक्ष वासु श्रेष्ठले आफूले प्राप्त गर्ने मासिक तलब भत्ताबाट बालबालिकाको स्वास्थ्य उपचार सुरु गरिएको हो ।

आफ्ना वडाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा पढ्ने बालबालिकाको आँखा, दाँत परीक्षण, फिजियोथेरापी र रक्त समूह परीक्षण कार्यक्रमको सुरूवात गरेको वडाध्यक्ष श्रेष्ठले बताए ।

भीमेश्वर नगरपालिका–५ वडा कार्यलयको आयोजनामा भएको निःशुल्क शिविरमा धुलिखेल अस्पतालका डा. अञ्जली दास, दोलखा लाइन्स क्लबका समता श्रेष्ठ, धुलिखेल अस्पतालका फिजियोथेरापिष्ट निरूपमा सिंह, ल्याव असिष्टेन्ट नन्दुकी घिसिङ, अनमी कमला सुवेदीले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा धुलिखेल अस्पताल दोलखा, दोलखा लायन्स सर्जिकल आई सेन्टर र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको सह—आयोजना रहेको थियो ।

बुढाभीमसेन माध्यमिक विद्यालयमा आयोजना गरिएको शिविर कार्यक्रममा ३ सय ५० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये आधाभन्दा बढी बालबालिकाको दाँतको समस्या देखिएको र केही बालबालिको आँखाको समेत समस्या देखिएकोले आँखा र दाँतको आवश्यक उपचार र चश्मासहितको व्यवस्थापन खर्च व्यवस्थापन गर्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

भीमेश्वर नगरपालिका–५ का वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएकोे शिविर उद्घाटन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य भरतबहादुर केसी, भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेत, नेपाल रेडक्रस सोसाइटी पीपलबोट उपशाखा सभापति राजन श्रेष्ठ, समाजसेवी कृष्णबहादुर कार्की, वडासदस्य बालकृष्ण कुँवर, बुढाभीमसेन माध्यमिक विद्यालयका शिक्षक राजु नेपालीलगायतले शिविर सफलताको शुभकामनासहित उदाहरणीय कार्यको प्रंशसा गरेका थिए ।

वडामा निर्वाचित भएको पहिलो वर्ष जेष्ठ नागरिकको भ्रमण, दोस्रो वर्ष विद्यालयका बालबालिकालाई राष्ट्रका विशिष्ट व्यक्तिसँग भेटघाटको कार्यक्रम सञ्चालन गरेका वडाध्यक्ष श्रेष्ठले यो वर्ष बालबालिकाको स्वास्थ्य उपचार गर्न लागेका हुन् ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ