२०८१ पुस २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनसर्ने रोग नियन्त्रणका लागि वर्षमा एक महिना परीक्षण अभियान चलाइने

नसर्ने रोग नियन्त्रणका लागि वर्षमा एक महिना परीक्षण अभियान चलाइने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरुको बढ्दो फैलावट रोक्न एक महिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला सम्बन्धि रोगबाट पीडित बिरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेका हुन् ।

मन्त्री पौडेलले हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरु (मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका, २०८१’ स्वीकृत गरेका हुन् । अहिले देशैभर मिर्गौला सम्बन्धि रोगबाट पीडित भएर डायलाइसीस हुने बिरामीको संख्या बढिरहेको छ । संख्या बढेका कारण भएका डायलाइसीस गराउने संरचनामा दबाब परिरहेको छ ।

यसैगरी, खानपान तथा जीवनशैलीका कारण उच्च रक्तचाप तथा मधुमेहका बिरामीसमेत बढिरहँदा स्वास्थ्य उपचार प्रणाली र बिरामी दुवैले मार खेप्नु परिरहेको छ । ‘बिरामी भएपछि हुने उपचारका लागि हामीले ठूलो स्रोत साधन खर्चनु परिरहेको छ,’ मन्त्री पौडेलले भने, ‘हामी अब उपचारसँगै समयमै रोग लाग्नबाट जोगिन रोकथामका अभियानमा पनि सँगसँगै लाग्नेछौं ।’

उनले सुरुवाती अवस्थामा थाहा भए नागरिक र राज्यले ठूलो क्षतिबाट जोगिने अवस्था आउने भन्दै सीमित स्रोत साधनसँग जुध्दै गरेको स्वास्थ्य प्रणाली र नागरिकको पीडा कम गर्न यसले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडाले पछिल्लो समय नसर्ने प्रकृतिका मिर्गौला फेल हुने, उच्च रक्तचाप, मधुमेहलगायतका रोग प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिरहेको देखाएको छ ।

मन्त्री पौडेलले रोगको उपचार र निदानसँगै लाग्नै नदिन रोकथामका उपायहरु जनस्तरमा पुर्याउने २७ साउनमा आफ्नो योजना तथा प्राथमिकतामा घोषणा गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ