२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा

डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा


काठमाडौं—३० कात्तिकमा वीरगन्जमा उपभोक्ता हित संरक्षण मञ्चको २९ औं केन्द्रीय वार्षिक साधारणसभामा थियो । त्यही साधारणसभामा प्रमुख अतिथी थिए—वीरगन्जका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल । अर्यालले उपभोक्ताको हितको कुरा गर्ने क्रममा आम्दा अस्पतालमा १३ मंसिर २०८० मा भएको सुत्केरी मृत्यु घटना सम्झिए ।

अर्यालले उक्त घटनामा चिकित्सकमाथि सामान्य हातपात र अस्पतालमा सामान्य तोडफोड भएको बताए । यतिमा मात्रै उनी रोकिएनन् उक्त घटनामा चिकित्सकहरुले व्यवहार राम्रो नभएको र आफूलाई नेपाल चिकित्सक संघ (एनएमए)को नेतृत्वले घटनामा संलग्नलाई पाँच वर्ष कैद सजायका लागि कारवाही अगाडि बढाउन आग्रह गरेको तर त्यसलाई आफूले अस्वीकार गरेको बताए ।

अहिले पर्साका प्रमुख जिल्ला अधिकारीले दिएको त्यही अभिव्यक्ति विवादास्पद बन्न पुगेको थियो । यसले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु तरंगित बनेका छन् भने एनएमएले भडकाउ अभिव्यक्ति दिएर उत्तेजित बनाउने र स्वास्थ्यकर्मीलाई हतोत्साहित बनाउने काम गरेको भन्दैं गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र नै बुझाएको छ । उसले प्रमुख जिल्ला अधिकारी अर्याललाई कारवाही गर्न र जिम्मेवारीबाट मुक्त गर्नसमेत ज्ञापनपत्रमा माग गरेको छ ।

संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीसहितले गृहमन्त्री लेखकलाई भेटेरै कारवाही गर्न मागसहित ज्ञापनपत्र बुझाएका हुन् । नेपाल चिकित्सक संघ लुम्बिनीका महासचिव डा. प्रकाश बस्नेतको नेतृत्वमा गएको टोलीले पनि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

एनएमएका अध्यक्ष कार्कीले प्रमुख जिल्ला अधिकारीलाई आफूले दबाब नभई कानुन कार्यन्वयन गर्न आग्रह गरेको बताए । ‘मैले त उहाँलाई कानुन कार्यन्वयन गर्न आग्रह गरेको हुँ, दबाबरको कुरै छैन्,’ उनले भने, ‘सिडिओले म भए आगो लगाउँथे भन्न मिल्छ ? उहाँले त आगो लगाउनेलाई रोक्ने र कानुनअनुसार शान्ति सुरक्षा कायम गर्ने हो ।’ उनले सोमबारको भेटमा गृहमन्त्रीले आफूलाई बोलाएर प्रमुख जिल्ला अधिकारीलाई कारवाही गर्ने आश्वासन दिएको पनि बताए ।

आम्दा अस्पतालका मेसु डा. विनोद पराजुलीले आफूले प्रमुख जिल्ला अधिकारीको भनाइको चर्चा सुनेको बताए । ‘मैले उहाँको भनाइबारेको चर्चा सुनेको छु,’ उनले भने, ‘तर, मैले पूर्ण रुपमा आफै त्यो भिडियो नहेरेकाले प्रतिक्रिया दिन सक्दिनँ ।’

के भएको थियो घटना

१२ मंसिर २०८० मा बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा उपचारका क्रममा गुल्मीकी ३२ वर्षीया भवानी रास्कोटीको मृत्यु भयो । रास्कोटीको मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तत्कालीन मेसु डा. राजेन्द्र बस्याललाई प्रहरी प्रशासनकै उपस्थिती रहेको बैठकमा निर्घात कुटपिट मात्रै गरेन आन्दोलन जारी राख्यो ।

रास्कोटीलाई ११ मंसिरमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । त्यही दिन अस्पतालमा उनले शल्यक्रियामार्फत स्वस्थ शिशुलाई जन्म दिएकी थिइन् । तर, १२ मंसिरमा ‘पल्मोनरी इम्बोलिजम’का कारण उनको मृत्यु भएको अस्पताल स्रोतले दावी छ ।

रास्कोटीको मृत्युपछि उनका आफन्तहरु फर्किने तरखरमा थिए । त्यही क्रममा बाहिरबाट आएको एक समूहले अस्पताल र चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दैं अवस्थालाई भड्काएको थियो । विवादलाई साम्य बनाउन बिरामीका आफन्तसँग डा. बस्याल, प्रहरी प्रशासनका प्रतिनिधीहरु वार्तामा बसेका थिए । त्यही बेला केही मान्छेहरु प्रवेश गरेर डा. बस्यालमाथि निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । त्यसपछि उनको उपचारका लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयुमा गरिएको थियो ।

क्षतिपूर्ति माग गर्दै आन्दोलन जारी रह्यो । अस्पतालले क्षतिपूर्ति दिन नसक्ने भन्दैं इन्कार ग¥यो । उक्त आन्दोलनलाई मत्थर बनाउन बुटवल उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ मृतकका आफन्तलाई दिने भनेर सम्झौता ग¥यो । तर, अहिलेसम्म त्यो रकम बिरामीका आफन्तले पाउन सकेका छैनन् ।

उपमहानगर स्रोतकाअनुसार अहिले त्यो पाँच लाख रुपैयाँ भुक्तानीमा पनि समस्या परिरहेको छ । बुटवल उपमहानगरले बेरुजु देखिने भएपछि भुक्तानी दिन सकिरहेको छैन । ‘त्यतिबेला भोटको राजनीति गरेर बुटवल उपमहानगरले पाँच लाख क्षतिपूर्ति दिने भनेर सहमति ग¥यो । अहिले कसरी दिने भन्ने निक्र्यौल नहुँदा मृतकका आफन्तले उक्त रकम पाउन सकेका छैनन्,’ उपमहानगर स्रोतले भन्यो, ‘उहाँहरुहरु निरन्तर धाइरहनु भएको छ तर हात लाग्यो शुन्यको अवस्था छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ