निजगढ—तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियासँगको साझेदारीमा निजगढ न.पा–९ मा निर्माण सम्पन्न भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको सेवा सुचारु भएको छ । बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त अस्पतालको समुद्घाटन गर्दै सेवा सुभारम्भ गरेका हुन् ।
यो अस्पताल बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल हो । करिव ३० करोडको लागतमा बनेको यो अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको छ । अस्पतालले स्थानीय समुदायलाई गुणस्तरीय, सर्वसुलभ र पहुँचयोग्य आँखा उपचार सेवा उपलब्ध गराउने विश्वास व्यवस्थापनको छ ।
‘यस आँखा अस्पतालले आँखा उपचारको लागि मात्र नभएर मेडिकल टुरिज्मको लागि पनि योगदान दिनेछ,’ उद्घाटन समारोहमा बोल्दैं मुख्यमन्त्री सिंहले भने, ‘भारतका ठूला सहरहरुमा जाँदा नेपालको आँखा अस्पताल र उपचार सम्बन्धि बोर्डहरु देख्दा सुन्दा एकदमै गर्व महसुस हुन्छ ।’ मुख्यमन्त्री संहले भवन ठूलो नभएको उल्लेख गर्दै भवनभित्र पाउने विश्वस्तरको गुणस्तरीय सेवा र उपचार ठूलो कुरा भएको उल्लेख गरे ।
‘जुन तिलगंगा आँखा अस्पतालले सधैँ प्रदान गरिरहेको छ, अब त्यहीस्तरको सेवा निजगढमा पनि उपलब्ध हुनेछ । अस्पतालको लागि मधेश प्रदेशको सधै साथ र सहयोग रहिरहनेछ,’ उनले थपे ।
निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले राम्रो आँखा उपचार भन्नासाथ तिलगंगा भनेर सम्झने गरेको उल्लेख गर्दै आँखाको उपचारका लागि काठमाडौं र हेटौडा जानुपर्ने अवस्था अन्त्य भएको बताए । ‘अहिले तिलगंगा हाम्रै आगँनमा आएको छ । हामी निजगढवासी र वरिपरीका क्षेत्रका लागि यो एकदमै खुशीको क्षण र ठूलो उपलब्धी हो,’ उनले भने ।
तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रुइतले यो भेगमा गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य अस्पताल ल्याउने आफूहरुको सपना साकार भएको बताए । ‘दिगो र उच्च गुणस्तरको आधारभूत आँखा उपचार सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा यो अर्को महत्वपूर्ण कदम हो । यो अस्पताल आशा र समपर्णको प्रतिक हो, जसले आँखा उपचारको आवश्यकता भएका सबै बिरामीलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतालाई अगाडि बढाउँछ,’ उनले भने ।
द फ्रेड हलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले यो अस्पताल, द फ्रेड हलोज फाउन्डेशनको लागि नयाँ अध्यायको शुरुआत भएको बताए । ‘यसले तिलगंगा आँखा प्रतिष्ठान, स्थानीय साझेदार र समुदायहरूसँग एक मजबुत र दिगो सम्बन्ध स्थापित गरेको छ । हाम्रो कामको केन्द्रमा सधैं एकीकृत, जनमुखी आँखा उपचार हुन्छ र हामी निजगढ र वरपरका सबैभन्दा आवश्यकता भएका बिरामीहरूको दृष्टि जोगाउने र पुर्नस्थापना गर्ने उद्धेश्यमा लागि परेका छौं,’ उनले भने ।
हाल नेपालमा करिव ९३ हजार ३०० जना दृष्टिविहिन छन् र करिव ७ लाख ८२ हजार ७०० जनाले कुनै न कुनै प्रकारको दृष्टि समस्यासहित जीवन व्यतित गरिरहेका छन् । अन्धोपनको भार मधेश प्रदेशमा देशकै दोस्रो उच्चतम स्थानमा रहेको छ । तथापि, ८० प्रतिशत दृष्टि समस्याको उपचार सम्भव छ र अत्यन्तै कम लागतमा प्रभावकारी उपचार विधिहरूबाट यसको उपचार गर्न सकिन्छ ।
प्रतिष्ठानअन्तर्गतको निजगढ तिलगंगा सामुुदायिक आँखा अस्पतालमा मोतिविन्दु, दृष्टिदोष, डाइबेटीक रेटिनोप्याथी, र अन्य आँखा रोगहरूको उपचारमा हुनेछ । जसका लागि अत्याधुनिक उपचार विधी र समग्र सेवा प्रदान गरिनेछ । नेपालमा अन्धोपन र न्यून दृष्टिको प्रमुख कारण मोतिविन्दु हो । अन्धोपन भएका मध्ये अनुमानित ६६.८ प्रतिशत व्यक्ति मोतीविन्दुको कारणबाट भएको देखिन्छ ।
२३,००० फिट क्षेत्रमा फैलिएको यो अस्पतालमा ४ तला रहेका छन्, जसमा आँखा उपचारका लागि २ शल्यक्रिया कोठामा ४ वटा वेड, ओपीडी (आउटडोर पेसेन्ट विभाग) र आइपीेडी (डे केयर), एक पोष्ट अपरेटिभ वार्ड, र इन–हाउस फार्मेसी र अप्टिकल स्टोर रहेको छ । विभिन्न विधाका विशेषज्ञद्धारा विशिष्टीकृत आँखा उपचार सेवा समेत प्रदान गर्नेछन्, जसले मधेश प्रदेशमा उच्च गुणस्तरको उपचार सेवामा पहुँच वृद्धि गर्नेछ ।
आगामी पाँच वर्षमा यो अस्पतालले मधेश प्रदेशबाट अनुमानित २ लाख ७४ हजार आँखा बिरामीको उपचार गर्ने लक्ष्य लिएको छ । यो अस्पतालले प्रत्यक्ष वा परोक्ष रुपमा यस क्षेत्रका ३० लाखभन्दा बढी व्यक्तिहरूमा गुणस्तरीय आँखा सेवाको पहुँच विस्तार गर्ने आँकलन गरिएको छ ।
उद्घाटन समारोहमा आमन्त्रित स्थानीय र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले अस्पतालको निरीक्षण समेत गरेका थिए । जसमा मुख्यमन्त्री सिंह, प्रा.डा.रुइत, फाउण्डेसनका विशार्ट, निजगढ नगरपालिकाका मेयर पुरी, जिल्ला तथा स्थानीय निकायका जनप्रतिनिधिहरु,सरकारी कार्यालयका प्रतिनिधिहरु, स्वास्थ्य कार्यकर्ताहरु र विभिन्न संघसंस्थाका प्रमुखहरु, नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुिुहृद घिमिरे, कार्यक्रमका बोर्ड सदस्यहरू हरिवंश आचार्य, सिद्धीलाल श्रेष्ठ, रवि के.सी., संजय थापा, डा.गोविन्दराज पोखरेल, प्रतिष्ठानका मुख्य कार्यकारी अधिकृत डा. रीता गुरुङ, प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारी र अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिती रहेको थियो ।