१६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरुलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय भएपछि यही २३ माघबाट क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ ।
१५ दिन सञ्चालन हुने अभियानअन्तर्गत देशैभरका किशोरीहरुलाई खोप दिइनेछ । यो निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९०० किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गैरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
किशोरीहरुलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए । ‘हामीले धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएको देखेका छौं,’ मन्त्री पौडेलले भने, ‘किशोरावास्थामै खोप दिन सकिए धेरै ज्यान जोगाउन सकिन्छ भनेर अभियानकै रुपमा खोप थाल्ने निर्णय गरेका हौं ।’
मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेस गराउने निर्णय गरेका छन् । जसअनुसार यसै वर्ष नियमित खोपमा समावेस हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकालेसमेत यो खोप लगाउन पाउनेछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।
मन्त्री पौडेलले विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा जर्मनीमासमेत विश्व स्वास्थ्य संगठनका महानिर्देशकलगायत अधिकारीहरुसँग नेपालले सञ्चालन गर्न लागेको खोप अभियानबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेका थिए । भ्याक्सिनसम्बन्धी विश्व सञ्जाल गाभीले समेत मन्त्रालयलाई साथ दिने निर्णय गरिसकेको छ ।
धेरै पढिएका
- १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ५ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
- ६ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ७ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
तपाईको प्रतिक्रिया दिनुहोस