विराटनगर– विराटनगरका ठूलो हस्पिटल भित्र र बाहिरका फार्मेशीहरुले औषधी भन्दै बिरामीलाई आर्थिक रूपमा भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामाग्री विक्री वितरण गर्ने गरेको पाइएको छ ।
नियमक निकाय औषधी व्यवस्था विभाग (डिडिए) निस्क्रिय भइदिँदा जसरी पनि कमाउ धन्दामा लागेका फार्मेसी सं चालकहरुले अहिले विराटनगरमा विरामीहरुलाई मनलाग्दी रुपमा न्युट्रास्युटीकल सामाग्री विक्री वितरण हुने गरेको पाइएको हो ।
पाँच वर्ष अगाडी औषधी व्यवस्था विभागले खाद्यपूरक सामाग्री चिकित्सकले सिफारिस गरिदिने र औषधी भन्दै फार्मेसीहरूबाट बिक्री वितरण गर्न थालेपछि रोक लगाएको थियो । विभागले खाद्य पूरक सामाग्री फार्मेसीमा बिक्री वितरण गरेको पाइए बरामद गर्न थालेपछि यो केही हदसम्म नियन्त्रणमा आएको थियो । अहिले फेरी विराटनगरको ठूलो हस्पिटल भित्र र बाहिरका फार्मेशीहरुबाट खुलेआम खाद्यपूरक सामाग्री औषधी भन्दै बिरामीलाई बिक्री वितरण गर्न थालेका छन् । केही समय अगाडी डिडिएले खाद्यपूरक सामाग्री फार्मेशीबाट विक्री वितरण हुने गरेको जनगुनासो आएपछि अनुगमन गरि नियन्त्रण गर्ने र नष्ट गर्ने अभियान सुरु गरेको थियो ।
अहिले अनुगमनले निरन्तरता पाउन छोडेपछि फेरी विरामीलाई औषधी भन्दै खाद्यपूरक सामाग्री फार्मेशीबाट विक्री हुन सुरु भएको हो । शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर ५ बगरगाछीस्थित लाइफगार्ड हस्पिटलभित्रको फार्मेशीले औषधी भन्दै विक्रीका लागि राखिएको ठूलो परिमाणमा खाद्यपूरक समाग्री बरामद गरेको छ ।
हस्पिटलका संचालक रञ्जित अग्रवालले हर्ने गरेको सो फार्मेसी (औषधि पसल)बाट १० लाख रूपैयाँभन्दा बढीको खाद्य पूरक सामग्री बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी देवप्रकाश जोशीले जानकारी दिए । बरामद भएको खाद्य पूरक सामग्री १० लाख ७५ हजार रूपैयाँ मूल्य बराबरको रहेको जानकारी डीएसपी जोशीले दिए । उनका अनुसार बरामद गरिएको १० प्रकारका सामग्री औषधि विभागको जिम्मा लगाइएको छ ।
प्रहरी र विभागको संयुक्त टोलीले बेस्टो सीएफ २ हजार ८० ट्याब्लेट, फेरिकम एक्सटी १ हजार ३ सय २०, ओक्सो माक्स ६ सय ९०, क्यू होप ५ सय ६०, प्रिमियर भीपी १ सय, एक्स्टेन्भिट ६ सय, रेस्भिनो गोल्ड १ हजार ३ सय २०, कोरल कल एचडी ६ सय, बोने कार्ट ३ सय २० र एमसी कार्ट ८ हजार ५ सय ट्याब्लेट बरामद गरेको हो ।
औषधि व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख कमल गुरागाईंका अनुसार फार्मेसीमा राखेर खाद्य पूरक सामग्री बेच्न पाइँदैन । ‘यो बिक्रीका लागि छुट्टै हिसाबले अनुमति लिनुपर्छ । अलग्गै काउन्टर हुनुपर्छ । फार्मेसीबाट औषधिसँगै बेच्न मिल्दैन । नियमविपरीत बेचिरहेको पाइएकाले बरामद गरेर ल्याएका छौं,’ उनले भने ।
उनका अनुसार खाद्य पूरक सामग्री औषधि हैन । तर, चिकित्सकले पोषक तत्वका रूपमा औषधिसँगै सिफारिस गरिदिने भएकाले बिरामीले पनि प्रयोग गर्ने गरेको गुरागाईं बताउँछन् । ‘औषधिसँगै चिकित्सकले किन सिफारिस गर्नुहुन्छ भन्ने चैं उहाँहरुको कुरा हो,’ उनी भन्छन्, ‘प्राय चिकित्सकले बिरामीका लागि पोषक तत्वका रूपमा खाद्य पूरक सामग्रीको सिफारिस गरेको पाइन्छ ।’
यसअगाडि पनि विराटनगरमा खाद्यपूरक सामाग्री औषधी भन्दै विक्री हुन थालेपछि विभागले बरामद गरी नष्ट गर्ने अभियान सुरु गरेको थियो । त्यसबेला नोबेल मेडिकल कलेजभित्रको सुस्वास्थ्य फार्मेसी, मेडिकेम फर्मा, विराटनगरको हस्पिटल चौकमा रहेको उज्जवल फर्मा, फेसबुक फार्मेसी, शिवराम फार्मेसी, श्री गणेश ड्रग हाउस, विराट नर्सिङहोम भित्रको विराटनगर अस्पताल फार्मेसी, युनिक फार्मेसीबाट विभागले ठुलो परिमाणमा बिक्रीको लागि राखिएको खाद्यपूरक सामाग्री नियन्त्रणमा लिएको थियो ।
यस्तै विराटनगरको सप्तकोसी फार्मेसी, सीताराम फार्मेसी, झापाको दमकको मन्जिता फार्मेसी, सयरा फार्मेसी, तोयानाथ फार्मेसी, जुन तारा फार्मेसी, अतुल्यन मेडिकल, आयुव फार्मेसी, मनमोहन अस्पताल फार्मेसीबाट खाद्य पूरक सामाग्री नियन्त्रणमा लिएको विभागले जनाएको छ । खाद्यपूरक सामाग्री डिपार्टमेन्ट स्टोरमा राखेर विक्री वितरण गरिने सामान हो । तर, यहाँ भारतमा किलोको हिसाबले जोखेर पाइने खाद्य पूरक सामाग्री नेपालमा ल्याएपछि ३ सयदेखि पाँच सय रुपैयाँसम्म पत्ताको हिसाबले औषधी भन्दै विक्री वितरण गर्ने गरेको पाइएको हो ।
यसरी डिपार्टमेन्ट स्टोरमा राखेर विक्री वितरण गर्ने खाद्यपूरक सामाग्रीलाई औषधी भन्दै विक्री वितरण खुलेआम हुँदा पनि अहिले विभाग मौन बसेको छ । कमिसनको चक्करमा चिकित्सकले पनि ‘न्युट्रास्युटीकल’ सिफारिस गरिदिने गरेको छन् । खाद्यपूरक वा आहार पूरक सामग्रीहरूको जथाभाबी प्रयोगले बिरामी, बिरामीको परिवार तथा समाजलाई पु¥याउने आर्थिक नोक्सान हो । आर्थिक प्रलोभनमा परी चिकित्सकहरूले अत्यन्त महँगा खाद्यपूरक वा आहार पूरक सामग्रीहरूको सिफारिस गर्ने गरेकाले सर्वसाधारण मानिसहरूले त्यसको ठुलो आर्थिक बोझ चुकाउनु परेको छ ।
कतिपय बिरामीलाई चिकित्सकहरूले ६ महिना देखि १ वर्ष सम्मका लागी त्यसता सामग्रीहरूको सिफारिस गर्ने गरेका छन् । चिकित्सकहरूले त्यस्ता सामाग्रीहरु सिफारिस गर्दा फलानो पसलमा गएर किन्नु भनेर तोकेरै भन्ने र किनि सकेपछि आएर मलाई देखाउनु समेत भन्ने गरेका छन् । यसबाट खाद्यपूरक वा आहार पूरक सामग्रीहरूको गलत प्रयोग कुन हदसम्म हुने गरेको छ भन्न कुरा पुष्टि हुने गरेको छ ।
खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर आयात गरिएका खाद्यपूरक वा आहार पूरक सामग्रीहरूको औषधि पसलहरूबाट बिक्री वितरण गरेको पाइएकाले त्यस्ता सामग्रीहरूको जफत गर्ने गरिएको छ । औषधि ऐन बमोजिम सञ्चालन हुने भएकाले औषधि पसलबाट त्यस्ता सामग्रीहरूको बिक्री वितरण गर्नु गैर कानुनी कार्य भएको विभागले जनाएको छ । विभाग यस किसिमका सामग्रीहरूको औषधि पसलबाट हुने बिक्रीलाई नियन्त्रण गर्न तत्परताका साथ लाग्ने बताएको छ । खाद्यपूरक सामग्रीहरूको प्रयोग बिरामीको उपचारका लागी गर्नु हुँदैन । .
सो कुरा स्वयं त्यस्ता सामग्रीहरूका खोलमा ‘नट फर मेडिसिन युज भनेर लेखिएको हुन्छ । तर ठुला अस्पतालहरूबाट त्यस्ता सामग्रीहरूको सिफारिस हुने र अस्पताल अगाडी रहेका फार्मेसीबाट बिरामीहरूलाई विभिन्न किसिमका खाद्यपूरक वा आहार पूरक सामग्रीहरूको बिक्री वितरण निर्बाध रूपमा हुने गरेको छ ।