२०८१ कात्तिक २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहुम्लाको दुर्गम भेग नाम्खामा स्वास्थ्य शिविर, ११६६ जनाले सेवा लिए

हुम्लाको दुर्गम भेग नाम्खामा स्वास्थ्य शिविर, ११६६ जनाले सेवा लिए


जुम्ला -हुम्लाको दुर्गम भेग नाम्खामा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कार्तिक २० र २१ गते एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र हुम्लाको नाम्खा गाउँपालिकाको आयोजनामा संचालन भएको दुई दिने एकीकृत जनस्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ग्याच्छो लामाका अनुसार, शिविरमा कुल ११६६ जनाले स्वास्थ्य सेवा लिए । अधिकांश बिरामीहरूमा संक्रामक रोग, सामान्य शारीरिक समस्या समस्याहरू देखिएका थिए ।

शिविरमा बिरामीको संख्यालाई व्यवस्थापन गर्न र सबैलाई सेवा दिने उद्देश्यले समय तालिका बनाएर सेवाहरू दिइएको प्रतिष्ठानको अप्रेसन विभागका स्वास्थ्यकर्मी राज बहादुर खत्रीले बताए ।

उनका अनुसार शिविरमा आउने सबै बिरामीलाई आवश्यक पर्ने औषधिहरू निःशुल्क रूपमा उपलब्ध गराइएको थियो । जसले गर्दा बिरामीहरुलाई आर्थिक राहत समेत भयो ।

नाम्खामा सञ्चालन गरिएको जनस्वास्थ्य शिविरको एक प्रमुख उदेश्य एकीकृत सेवा प्रवाह गर्नु रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए । उनका अनुसार विशेषज्ञ चिकित्सकहरूले बालरोग, स्त्रीरोग, जनरल सर्जरी, जनरल फिजिसियन, हाडजोर्नी, भिडियो एक्सरे, आँखा, दाँत तथा मुख, छाला तथा यौन रोग, ल्याब सुविधा प्रदान गरेका हुन् ।

यसरी शिविरले स्वास्थ्य सेवा प्रदान गर्ने मात्र नभएर जनतामा स्वास्थ्य चेतनाको अभिवृद्धि गर्ने काम पनि गरेको रजिस्ट्रार महतले बताए ।
“यसरी शिविर मार्फत जनताको घरमा गएर स्वास्थ्य सेवा प्रवाह गर्नु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उदेश्य हो,’ रजिस्ट्रार महतले भने, “पालिकासँग प्रतिष्ठान निरन्तर सहकार्य गर्न तयार छ ।“

१४ जना विशेषज्ञ आएर संचालन गरिएको दुई दिने एकीकृत जनस्वास्थ्य शिविर साह्रै राम्रो र भव्य रुपमा सफल भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए ।

“कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशको सबैभन्दा ठूलो संस्था हो,“ डा. रावले भने, “यो कर्णालीका १३ जिल्लाको संस्था हो । यसलाई सबैले आफ्नो ठानेर यो संस्थाबाट लाभ लिन अनुरोध गर्छु ।“

उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नाम्खासँग सहकार्य गरेर हिल्सामा हाइ अल्टिच्यूड स्वास्थ्य सेवा केन्द्र स्थापना र यहाँका जनताको स्वास्थ्य सेवा मजबुत बनाउन तयार छ ।

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले दुर दराजको गाउँपालिकाले आयोजना गरेको भव्य स्वास्थ्य शिविर संचालन गर्न सहयोग गर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रति आभारी रहेको बताए ।

“प्रतिष्ठानले हाम्रो आर्थिक र स्वास्थ्यमा भइरहेको ठूलो हानी जोगाएर अतुलनीय गुन लगाएको छ,“ अध्यक्ष लामाले भने, “नाम्खा प्रतिष्ठानसँग दिगो सहकार्य गरि विकट क्षेत्रको स्वास्थ्य सुधारका निम्ति हरदम तयार छ ।“

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ