२०८१ कात्तिक १४, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशलामखुट्टेको खोज्दै भेरी नगरपालिका

लामखुट्टेको खोज्दै भेरी नगरपालिका


वीरेन्द्रनगर—जाजरकोटमा डेंगी सङ्क्रमितको संख्या निरन्तर बढेसँगै भेरी नगरपालिकाले लामखुट्टे खोज्ने र नष्ट अभियान थालेको छ । भेरी नगरपालिका स्वास्थ्य शाखाले डेंगी प्रभावित क्षेत्रका व्यक्तिको घर आँगन, सार्वजनिक निकायका भवन कम्पाउन्ड बढी जोखिमयुक्त रहेको भन्दै लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान संचालन गरेको हो ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटको तथ्यांकअनुसार सबैभन्दा धेरै डेंगी संक्रमित भेरी नगरपालिकामा छन् । भेरी नगरपालिकाभित्र मात्र बितेको दुई महिनामा १४ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । संक्रमणले थप महामारीको रुप लिनबाट बचाउन नगरपालिकाले डेंगी नियन्त्रणमा थप सक्रियता जनाएको छ ।

डेंगीबाट बच्न हरेक व्यक्ति सचेत र सावधान हुनुपर्ने भन्दै घरदैलो अभियान सुरुवात गरेको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । नगरपालिकाले आफ्नो नगर क्षेत्रमा अहिले लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरेको नगर प्रमुख घर्तीको भनाइ छ । नगर स्वास्थ्य शाखाअन्तर्गत रहेर भेरी नगरपालिकाले नगरस्तरीय सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लगतै कुदु स्वास्थ्य चौकी र भुर स्वास्थ्य चौकीमा लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियानका काम भएको नगर प्रमुख घर्तीले बताए ।

गत आर्थिक वर्षमा भेरी नगरपालिकाले गरेको डेंगी परीक्षणमा ३१५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । चालु आर्थिक वर्षमा १४ जनामा मात्र डेंगी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख दीपक वलीले जानकारी दिए । नगरपालिकाले गरेको परीक्षणमा ३ जना र स्वास्थ्य सेवा कार्यालयले गरेको परीक्षणमा ११ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख वलीले जानकारी दिए ।

डेंगी सङ्क्रमण प्रभावित क्षेत्रलाई लक्षित गरी लामखुट्टे सफा पानीमा बस्ने हुँदा पानी जम्ने सडक, सडक पेटीका खाल्डाखुल्डी, गमला, पानी जम्मा गरी राखिएका भाडा, टायर, कौसी र बरन्डामा जम्ने पानी सफा गर्न सचेतनामूलक कार्यक्रम बस्तीस्तरमा सञ्चालन गरेको वलीले बताए । ‘भेरी नगरपालिका कुदु, भुर, रावत गाउँ, काले गाउँ क्षेत्रमा यसको धेरै जोखिम छ,’ उनले भने, ‘पानी जम्न नदिनु नै यसको जोखिम घटाउने उपाय हो ।’

अहिले भेरी नगरपालिका– ९ को भुर क्षेत्रमा भारतबाट भित्रिएका नागरिकहरूमा डेंगीका बिरामी देखा पर्न थालेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ