२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार जनालाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक पढाउने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार जनालाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक पढाउने


काठमाडौं—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र डक्टर फर नेपाल (डिएफएन)ले चार जना चिकित्सकलाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक अध्ययन गराउने भएको छ । विशेषज्ञ चिकित्सक उत्तीर्ण भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खटाएको स्थानमा कम्तिमा ३ वर्ष काम गर्ने सर्तमा चिकित्सकहरुलाई निशुल्क विशेषज्ञ चिकित्सा पढाउन सुरु गरेको हो ।

प्रतिष्ठान र डक्टर फर नेपालले विभिन्न निजी मेडिकल कलेजमा अध्ययन गरिरहेका चार जना चिकित्सकहरुसँग आइतबार त्रिपक्षीय सम्झौता गरेको हो । त्रिपक्षीय सम्झौतामा प्रतिष्ठानका तर्फबाट प्रशासकीय अधिकृत अमृत भण्डारी, डक्टर फर नेपालबाट नाइजेल लयर्स र अध्ययन गर्ने चिकित्सकहरुले हस्ताक्षर गरेका छन् ।

छात्रवृत्ति पाउने चिकित्सकहरुमा जुम्लाकी डा. श्रृजना रावल छिन् । उनी काठमाडौं विश्वविद्यालयअन्तर्गत धुलिखेलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ अध्ययन गर्दैछिन् । त्यसैगरी, जुम्लाकै अर्की चिकित्सक डा. नविता रावल लुम्बिनी मेडिकल कलेजमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ अध्ययन गर्दैछिन् ।

मुगुकी डा. मिना काफ्ले चौलागाई नेशनल मेडिकल कलेज वीरगञ्जमा एमडिजिपी अध्ययन गर्दैछिन् भने कालिकोटकी डा. ज्वाला बराल चितवन मेडिकल कलेजमा मानसिक रोग विशेषज्ञ अध्ययन गर्दैछिन् ।

उनीहरु चारै जनाको विशेषज्ञ चिकित्सक अध्ययन गर्न लाग्ने खर्च (होस्टलसहित) प्रतिष्ठान र डिएफएनले आधा—आधा व्यहोर्ने छन् । अध्ययन गर्ने चिकित्सकको खर्च दुवै संस्थाले सिधैं अध्ययन गरिरहेको संस्थालाई उपलब्ध गराउने छन् ।

लामो समयदेखि नेपालको कर्णाली (पूरानो कर्णाली)मा स्नातक तहका चिकित्सा तथा नर्सिङ्ग छात्रवृत्ति दिदैं आएको डिएफएनले यस वर्षदेखि विशेषज्ञ चिकित्सकलाई पनि छात्रवृत्ति सुरु गरेको हो । डिएफएनले यस अहिलेसम्म झण्डै ४० जनालाई चिकित्सक तथा नर्स बनाइसकेको र अन्य अध्ययन गरिरहेको संस्थाकी अध्यक्ष डा. कटी यरोले जानकारी दिइन् ।

विशेषज्ञ छात्रवृत्ति अध्ययन र त्यसपछिको तीन वर्षे करार सम्झौताले कर्णालीका १३ जिल्लामा हुने चिकित्सक अभावलाई कम गर्ने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ