२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा एक वर्षमा घरमै असुरक्षित सुत्केरी हुने १ हजार २३८ जना

कर्णालीमा एक वर्षमा घरमै असुरक्षित सुत्केरी हुने १ हजार २३८ जना


जुम्ला—कनकासुन्दरी गाउँपालिका–४ लेकपुर गाउँकी देवु बुढा गत वर्ष घरमै सुत्केरी भइन् । वर्थिङ सेन्टर पुग्न तीन घण्टाको पैदल जानुपर्ने भएकोले उनीसँग घरमै सुत्केरी हुनुको विकल्प थिएन् । घरमा सुत्केरी हुँदा साल अड्कियो । उनलाई वर्थिङ सेन्टरसम्म बोकेर साल निकालिएको थियो ।

गर्भवतीलाई नियमित चेकजाँच गराउने र अनिवार्य सुत्केरी स्वास्थ्य संस्थामै गराउनुपर्ने सरकारी मान्यता भए पनि दुगर्मका वस्तीमा लागु हुन सकेको छैन । सोही गाउँकी पानसा बुढालाई दुई वर्षअघि सुत्केरी व्यथाले च्याप्यो । डोकोमा बोकेर लैजाँदा बाटोमै सुत्केरी हुन सक्ने देखिएपछि परिवारले पनि घरमै सुत्केरी हुन दिए । उनको पनि सालनाल निस्केन । उनको गाउँदेखि वर्थिङ सेन्टर पुग्न तीन घण्टा लाग्छ । उनीहरू जस्तै दुर्गम गाउँका अधिकांश गर्भवती महिला प्रसूति सेवा नपाएर गाउँ घरमै सुत्केरी हुने गरेका छन् ।

कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाकाअनुसार लेकपुर गाउँबाट मात्रै वर्षेनी २० देखि २२ जना महिलाहरू सुत्केरी हुने गरेका छन् । तीमध्ये अधिकांश गर्भवती घरमै सुत्केरी हुने गरेका छन् । ‘पायक पर्ने स्वास्थ्य संस्थामा प्रसूति सेवा छैन । टाढा स्थापना भएका वर्थिङ सेन्टरको अवस्था समेत बुझ्न पाइरहेका छैनौं । हामी त जोखिम हिसाबले सुत्केरी भइरहेको छौं,’ पानसाले भनिन् ।

गाउँपालिकामा एम्बुलेन्स पनि छ । तर, गाउँमा सडक नजोडिएकोले एम्बुलेन्स जाँदैन् । सुत्केरी, बिरामी बोक्ने राम्रो स्ट्रेचरसमेत छैन । हिउँदको चिसो समयमा सबै पुरुषहरू व्यापारको शिलशिलामा बाहिर जिल्लातिर गएकाले महिला निकै जोखिमका साथ सुत्केरी भइरहेका हुन्छन् ।

हिउँदमा घरमा सुत्केरी हुन नसक्ने अवस्थामा महिलाले मात्रै बोकेर गर्भवती सुत्केरी गराउन स्वास्थ्य संस्थामा लैजान सक्दैनन् । स्थानीय पार्वती बुढाले भनिन्, ‘व्यवहारमा सेवा नपाएर बिरामी सुत्केरीहरू गाउँमै छटपटाइरहेका छन् ।’

सरकारले घरमा सुत्केरी हुने दर शुन्यमा झार्ने अभियानअनुसार नियमित चार पटक गर्भ जाँच गर्नुपर्ने र त्यो वापत ८ सय रुपैयाँसमेत दिने व्यवस्था गरेको छ । सुत्केरी स्वास्थ्य संस्थामा गराए बापत् ३ हजार रुपैयाँ यातायात खर्चस्वरुप पाउने प्रावधान पनि छ । तर, लेकपुर गाउँका गर्भवती महिलाले नियमित गर्भ जाँच गर्न र स्वास्थ्य संस्थामा सुत्केरी हुन पाइरहेका छैनन् । सरकारबाट पाउनुपर्ने सबै सेवाबाट उनीहरू बञ्चित भइरहेका छन् ।

स्वास्थ्य शाखा सह–संयोजक छाया घर्तीले लेकपुर गाउँमा वर्थिङ सेन्टरको आवश्यकता भएको बताइन् । ‘स्थानीय तहले गर्भवतीका लागि एम्बुलेन्स सेवा दिइरहेको छ । पालिकाभित्र पाँच ओटा वर्थिङ सेन्टर छन् । तर, लेकपुर गाउँका महिला सबै सेवाबाट वञ्चित नै छन्,’ उनले भनिन् ।

तातोपानी गाउँपालिका–७ र ८ भेरीखोला भौगोलिक रुपमा विकट छन् । गाउँ–गाउँ पुग्ने कच्ची सडक खनिएपनि सवारी साधन गुड्दैंनन् । अहिले पनि यहाँका स्थानीयको आउजाउ पैदल नै हुने गरेको छ ।

भौगोलिक विकटताकै कारण अहिले पनि यहाँका गर्भवती महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका छन् । भेरीखोलामा झण्डै दुई दर्जन गाउँ छन् । यस क्षेत्रको पायक पर्ने ठाउँ लामाबगरमा स्वास्थ्य चौकीमा गर्भवती महिलालाई सुरक्षित रुपमा सुत्केरी गराउनका लागि प्रसूति गृह स्थापना गरिएको छ । तर, स्वास्थ्य संस्थाको प्रसुति गृहमा न्यून संख्यामा प्रसूति हुन आउने गरेका छन् ।

भौगोलिक विकटता र खनिएका कच्ची सडकमा सार्वजनिक सवारी साधन गुड्दैंनन् । घरमा बोकेर स्वास्थ्य संस्था लैजाने पुरुष व्यक्ति पनि हुँदैनन् । घरमा सुत्केरी हुनुको विकल्प नरहेको स्थानीय विष्णु शाहीले बताइन् ।

‘घरमा भएका पुरुष सबै हाट प्रदेश गएका हुन्छन् । कोही मालपाखर (पशु चौपाया) हेर्न खर्क लेकतिर बसेका हुन्छन् । घरमा महिला बालबालिका मात्रै हुन्छौं,’ उनले भनिन्, ‘कसले गर्भवती महिलालाई स्वास्थ्य संस्थामा लैजाने निकै समस्या छ । भगवान भरोसा घरमै सुत्केरी हुने गरेका छौ ।’

गत आर्थिक वर्षमा यस क्षेत्रका ३६ जना सुत्केरी भए, जसमध्ये ११ जनामात्रै स्वास्थ्य संस्थामा आएर प्रसुति भएको स्वास्थ्य चौकी प्रमुख सन्तोष मल्लले बताए ।

अघिल्लो वर्ष ८३ जना सुत्केरी भएकामध्ये २० जनामात्रै स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । ६३ जना घरमै असुरक्षित सुत्केरी भए । यो क्षेत्रमा सुत्केरी हुनेको संख्या अत्याधिक छ । ‘घरमै हुने सुत्केरी न्यूनीकरण गर्न खोजे पनि भएको छैन्,’ उनले भने । भौगोलिक विकटता, गरिबी र घरमा मान्छे नहुने समस्या घरमै हुने सुत्केरीको संख्या बढेको प्रमुख मल्लको भनाइ छ ।

‘गाउँ–गाउँ पुग्ने कच्ची सडक त खनिएका छन् । खनिएका सडकमा नियमित सवारी साधन चल्दैनन् । खनिएका सडक पनि बाढी, पहिरोले भत्केका छन् । घरमै हुने सुत्केरी घटाउन यो क्षेत्रका लागि मात्रै एउटा एम्बुलेन्सको आवश्यक छ,’ उनले भने ।

यस्तै, २० वर्ष नपुग्दै आमा हुने प्रवृत्तिले स्वास्थ्य समस्या जटिल बन्दै जाँदा बालविवाह न्यूनीकरणलगायतका कार्यक्रमलाई पनि समन्वयका साथ प्रदेशभरका सबै स्थानीय तहसँग काम गर्ने योजना पनि बनाइएको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी हुने दर पनि घटेको छ । गाउँ—गाउँमा वर्थिङ सेन्टर स्थापना गरिएपनि मापदण्डअनुसारका नभएकाले घरमै सुत्केरी हुने दर केही बढेकाले अब बर्थिङ सेन्टरलाई मापदण्डअनुसार बनाउने र दक्ष जनशक्ति पूर्ति गर्ने योजना पनि बनाएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए ।

आर्थिक वर्ष ७८/८९ मा तीन हजार १९० जना घरमै असुरक्षित सुत्केरी हुनेको संख्या रहेको छ । तर, आर्थिक वर्ष ७९/८० मा निकै झरेर ४८८ जना घरमै सुत्केरी भएको निर्देशनालयमा तथ्यांकको रहेको छ । आर्थिक वर्ष ०८०/८१ मा भने बढेर एक हजार २३८ जना घरमै सुत्केरी भएको तथ्यांक रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. खड्ककाले बताए । ‘संस्थामा सुत्केरी हुने दर बढाउने कार्यक्रमलाई प्राथमिकता दिने पनि योजना बनाएको छ,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ