२०८१ कात्तिक ७, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

वार्षिक १ अर्ब विदेशिनबाट जोगिने मन्त्रालयको दाबी


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । ७ कात्तिकमा मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले रेडियोलोजीमा फिल्म प्रयोग हटाउने निर्णय गरेका हुन् ।

फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआई तथा सिटीस्क्यानको शुल्कसमेत नागरिकका लागि घटाउने गरी मन्त्रालयले निर्णय गरेको हो। अब मन्त्रालय मातहतका २२ वट संघीय अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउनेछन् ।

स्वास्थ्यका लागिसमेत हानिकारक मानिने एक्सरे फिल्म प्रयोगमा भइरहेको ठूलो धनराशी खर्च कटौती गर्दै नागरिकलाई राहत दिने गरी यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

यो निर्णय हाल संघीय अस्पतालमा लागू गरिने र क्रमैसँग निजी तथा अन्य तहगत अस्पतालमासमेत विस्तार गर्ने मन्त्रालयको योजना रहेको छ । हाल राजधानीको संघीय वीर अस्पतालले वर्षमा करिब चार करोड रुपैयाँ रेडियोलोजी फिल्मका लागि खर्च गर्ने गरेको तथ्यांक छ । यसैगरी, कान्ति बाल अस्पतालमा करिब तीन करोड रुपैयाँ यसका लागि खर्च हुने गरेको छ ।

यो निर्णयले संघीय अस्पतालको वार्षिक करिब ५० करोड रुपैयाँ बजेट बचत हुने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘निजी र देशैभर डिजिटल रिपोर्ट दिन सकिए वर्षमा करिब एक अर्ब रुपैयाँ रकम विदेशिनबाट रोकिने अनुमान गरेका छौं,’ उनले भने, ‘यसले नागरिकलाई रेडियोलोजी सेवामा लागतसमेत कर्म पर्ने र स्वास्थ्यमा समेत नकारात्मक प्रभाव कम पर्ने अपेक्षा गरेका छौं ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ