२०८१ कात्तिक ५, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशविन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने

विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने

सर्जरी, इमर्जेन्सी र बच्चाबाहेक सबैका लागि उपयोगी उपचार हुन्छ : डा. समीर क्षेत्री, उपनिर्देशक


पोखरा—पोखराको एक ऐतिहासिक धार्मिक स्थल हो—विन्ध्यवासिनी मन्दिर । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले नवदुर्गाको समयमा नवदुर्गा महोत्सव गर्दै आएको छ । दर्शकको घुइँचोसँगै प्राप्त भेटी मन्दिर समितिले आम नागरिकको आरोग्यताका लागि खर्च गर्ने योजना बनाएको छ ।

पोखरा–१ अधिकारी टोल नजिकै मन्दिरको नाममा रहेको झण्डै २२ रोपनी गुठीवारीमा प्राकृतिक चिकित्सालय निर्माण गरी उपचार सुरु गरिएको छ । हाल अस्पतालमा १० बेडमा बहिरंग सेवा सञ्चालन भए पनि मंसिरभित्रै १ सय बेड सञ्चालन गर्ने लक्ष्य रहेको अस्पतालका व्यवस्थापक कमल खनालले जानकारी दिए । उनकाअनुसार महिला र पुरुष वार्डका गरी ४४ जनरल बेड, डिलक्स तथा सुपर डिलक्स बेडसेमत गरी १ सय बेड सञ्चालन हुनेछन् ।

वि.सं. २०८० सालको साउनबाट सेवा सुरु भएको अस्पतालमा दैनिक ६० हाराहारीमा फिजियोथेरापी, जल थेरापी, साउनाबाथलगायत सेवा लिन आउने गरेका छन् । अस्पतालमा प्राकृतिक चिकित्सक २, फिजियोथेरापिस्ट २, स्टाफ नर्स १, प्रशासनका कर्मचारी ५ लगायत ३२ जना स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी कार्यरत अस्पतालमा ल्याबोरेटरी तथा रेडियोलोजी सेवा थप गर्ने योजना रहेको अस्पतालका उपनिर्देशक डा. समीर क्षेत्रीले जानकारी दिए । सेवा थप गर्नका लागि सेवासँग सम्बन्धित जनशक्ति पनि आवश्यक हुने उनको भनाइ थियो ।

डा. समीरकाअनुसार प्राकृतिक चिकित्सालयमा पञ्चतत्व (जल, वायु, अग्नि, आकाश र पृथ्वी)लाई मुख्य आधार मानेर उपचार गरिन्छ । अस्पतालबाट सेवा लिन वार्षिक २ सय रुपैयाँको कार्ड बनाउनुपर्छ भने त्यसपछि दैनिक ५ सय रुपैयाँ उपचार शुल्क लाग्छ ।

प्राकृतिक चिकित्सालय सञ्चालनमा संघीय स्वास्थ्य मन्त्रालयले पनि सघाउने आश्वासन दिएको अस्पतालका व्यवस्थापक खनाल बताउँछन् । उनले भने, ‘स्वास्थ्य मन्त्रालयबाट अनुगमनमा आएपछि डाक्टर, नर्सको दरबन्दी उपलब्ध गराउने आश्वासन पाएका छौं । पोखरा महानगरले त मासिक १ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरिसकेको छ ।’ व्यवस्थापक खनालका अनुसार एक प्रशासनिक भवनको आवश्यकता छ ।

अस्पतालमा सुगर, प्रेसर, थाइराइड, मिर्गाैला रोगको पहिलो र दोस्रो स्टेज, दम, अल्सर, मोटोपन, कब्जियत, प्यारालाइसिस, हाडजोर्नी, भाँचिएको, पायल्सलगायत थुप्रै रोगको प्राकृतिक तरिकाबाट उपचार गरिने डा. समीर बताउँछन् । उनले भने, ‘हामीले फूलफेजमा सञ्चालन गर्ने समयमा सर्जरी, इमर्जेन्सी र बच्चाको उपचारबाहेक सबै सेवा दिन सक्छौं, मुख्य गरी छाला सम्बन्धी, हाडजोर्नी, नशा र जीवनशैलीसँग सम्बन्धित रोगको उपचार सेवा दिन्छौं ।’ प्राकृतिक चिकित्सालयमा खानपान र जीवनशैली परिवर्तन गर्दै उपचार गरिन्छ । माटोद्वारा उपचार, शिरोजलधारा, जलथेरापी, पञ्चकर्म, मसाजलगायत विधि अपनाएर शरीरबाट रोग हटाउने गरिन्छ ।

करिब २० वर्षअघि निजी रुपमा प्राकृतिक उपचार सेवा पोखरामा सञ्चालन भएको भएपनि विस्थापित भएर नवलपुरको रजहरमा पुग्यो । रजहरमा व्यवस्थित रुपमा चलिरहेको प्राकृतिक चिकित्सालयतर्फ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठको ध्यान पुग्यो । त्यसमा रजहर प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेलको साथ मिलेपछि पोखरामा विस्थापित भएको प्राकृतिक चिकित्सालय पुनः स्थापना गर्ने योजना बनेको थियो ।

वि.सं. २०७६ सालमा तत्कालीन मेयर मानबहादुर जिसीले शिलान्यास गरेको अस्पताल निर्माण कार्य कोभिड—१९ का कारण प्रभावित बन्यो । अहिले अन्तरंग सेवाका लागि जनरल, डिलक्स र सुपर डिलक्स बेडको व्यवस्थापनको काम भइरहेको छ भने पञ्चतत्वका नाममा ५ वटा छुट्टै भवन निर्माण गरिएको छ । भवनमा दाताको नामसमेत उल्लेख गरिएको छ । ५ वटा भवनको आवासीय शुल्क र डिलक्स तथा सुपर डिलक्स बेडको शुल्क अलि महँगो हुने छ भने जनरल बेडको शुल्क सस्तो हुनेछ । अस्पतालका व्यवस्थापक खनाल भन्छन्, ‘धनीबाट लिएर गरिबलाई सुलभ उपचार दिने योजना प्राकृतिक चिकित्सालयले लिएको छ ।’

अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएपछि दैनिक १२० जनालाई सेवा दिन सकिने उपनिर्देशक डा. समीर बताउँछन् । अन्य धेरै सेवा सञ्चालनका लागि २/३ वर्ष पनि लाग्न सक्ने उनको भनाइ थियो ।

अस्पताल निर्माण तथा सञ्चालनका लागि हालसम्म ७४ करोड रुपैयाँ खर्च भएको बताइएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले २ करोड ९० लाख रुपैयाँ, गण्डकी स्वास्थ्य मन्त्रालयबाट १ करोड ४५ लाख रुपैयाँ, संघीय स्वास्थ्य मन्त्रालयबाट १ करोड रुपैयाँ सहयोग प्राप्त भएको छ भने विभिन्न निजी संघ संस्था तथा व्यक्तिबाट नगद सहयोग प्राप्त भएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ