२०८१ कात्तिक ५, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररगतमा घातक रसायन लेडको मात्रा बढ्दा जोखिममा बालबालिका

रगतमा घातक रसायन लेडको मात्रा बढ्दा जोखिममा बालबालिका


नेपालगञ्ज-बालबालिकाको स्मरण क्षमता कमजोर हुँदै गएको, पहिलेका बालबालिकाको तुलनामा अहिलेका बालबालिकाहरु अलि सुस्त भएको अनुभव धेरै अभिभावकहरुको छ । किन यस्तो भइरहेको छ भनेर सामान्य चर्चा भए पनि अलि गम्भीर भएर त्यसको खोजी अध्ययन अनुसन्धान भएको पाइँदैंन् ।

बढ्दो वातावरण प्रदुषणका कारण बालबालिकाको रगतमा घातक रसायन लेड (सिसा)को मात्रा बढेका कारण पनि यस्तो भएको हुन सक्छ ।
विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापडन्ड अनुसार रगतमा सिसाको मात्रा २.५ मिलिग्राम प्रति डेसिलिटर भन्दा बढी हुनु हुँदैन् तर नेपालका बालबालिकामा ५ मिलिग्राम प्रतिलिटरभन्दा बढी पाइएको छ ।

बिश्व स्वास्थ्य संगठन, युनिसेफजस्ता अन्तर्राष्ट्रिय ख्याति प्राप्त संस्थाहरुले सन २०१३ देखि २०२१ सम्म गरेका विभिन्न अध्ययनमा बालबालिकाको रगतमा घातक रसायन सिसाको मात्रा ५ मिलिग्राम प्रतिडेसिलिटरभन्दा बढी पाइएको उल्लेख छ ।

वातावरणविदहरुले वातावरणीय प्रभाव र गलत जीवनशैलीका कारण बालबालिकाको रगतमा सिसाको मात्रा बढ्दैं गएको जनाउँदैं सावधानीका उपयाहरु अपनाउन आग्रह गरेका छन ।

धेरै चम्किलो र छिटो सुक्ने बनाउन रङमा सिसा प्रयोग गरिन्छ । उपभोक्ताहरुको रोजाइमा पनि धेरै चम्किलो र छिटो सुक्ने रङ पर्ने गरेका छन । जसले गर्दा सिसा विभिन्न माध्यमबाट मानिसको रगतमा मिसिन पुग्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपाल र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं , वीरगन्ज , र धरान–धनकुटा औद्योगिक करिडोरमा बालबालिकामा सिसाको उच्च जोखिमलाई उजागर गरेको छ । डब्लुएचओले सन् २०१४ देखि २०२० सम्म बिभिन्न संघ संस्थासंग सहकार्य गरेर बालबालिकामा सिसाजन्य विषाक्तता सम्बन्धी अध्ययन गरेको थियो ।

त्यसैगरी, युनिसेफ र प्योर अर्थले गरेको २०२० को विश्वव्यापी अध्ययनले पनि नेपालको कुल बाल जनसंख्याको करिब ६५ प्रतिशतमा बीएलएल (रगतमा सिसाको स्तर) मापडन्ड भन्दा बढी भएको धेरै देखिएको छ ।

घर, विद्यालय तथा अस्पतालका भित्ता, फर्निचरमा लगाउने रङमा लिडको मात्रा प्रसस्त हुने भएकाले त्यसले स्वास्थ्य तथा वातावरणमा पार्ने समस्याको निराकरण एवं न्यूनीकरण गर्न जनचेतनाका साथै क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ ।

सरकारले २०७१ पुस ७ गते राजपत्रमा सुचना प्रकाशित गरेर पेन्टमा सिसाको मात्रा ९० पिपिएमसम्म हुनुपर्ने उल्लेख गरेको छ ।

के हो सिसाजन्य रसायन

सिसा एक दीर्घकालीन एवं शरीरमा सन्चित हुने खालको विष हो । जसले शरीरको स्नायुप्रणाली, रक्तकोषिका, श्वासप्रश्वास प्रणाली लगायतमा असर गर्छ । धेरै समय सिसाको सम्पर्कमा आउने व्यक्तिमा दीर्घ कालमा क्यान्सर, ट्युमर, मस्तिष्कघात जस्ता रोग पनि निम्त्याउन सक्छ । मानिसको स्मरण क्षमतामा हस ल्याउछ ।

सिसाले सबै उमेरका मानिसलाई असर गर्ने भएपनि बढी असर भने बालबालिकाहरुमा पर्ने गरेको बिभिन्न अध्ययनबाट देखिएको छ । सिसाजन्य रसायन घर रंगाउन प्रयोग हुने पेन्टमा पनि पाइन्छ । नेपालमा करिब ७० प्रकारका पेन्ट पाइन्छन । अधिकांस पेन्ट उद्योगहरुले सरकारले तोकेको मापदण्ड अनुसार नै पेन्ट उत्पादन तथा बिक्री बितरण गर्दै आएको भए पनि केहि पेन्टहरुमा अझै पनि मापडन्ड भन्दा बढी सिसा जन्य रसायन प्रयोग भई रहेको विज्ञहरुले दाबी गर्दै आएका छन । पेन्ट्समा ढुसी, नलागोस् र धेरै समय टिकोस् भन्नका लागि व्यवसायीले सिसाको बढी प्रयोग गरेका छन्, यसबाट सचेत हुन लोगो हेरेर मात्र पेन्ट्स किन्नुपर्ने सुझाब बाताबरणबिद्हरुको छ ।

विश्व स्वास्थ्य संगठनले पनि सिसालाई विश्वव्यापी रुपमा जनस्वास्थ्यमा असर पु¥याउने प्रमुख १० रसायनमध्ये एक मानेको छ । अध्ययनहरूले इलेक्ट्रोनिक्स, प्लास्टिक, धातु र रंगको फोहोर ब्यबस्थापनका क्षेत्रमा काम गर्ने व्यक्तिहरु पनि जोखिममा रहेको देखाएको छ । विशेष गरी फोहोरको ब्यवस्थापन खाली हातको प्रयोग गरेर गर्ने सञ्चारकर्मीहरु सिसाजन्य रसायनको जोखिम रहेको देखाएको छ । औद्योगिक क्षेत्रका बालबालिका पनि सिसाजन्य रसायनको उच्च जोखिममा छन् ।

सीसाजन्य रसायनको मुख्य स्रोत ब्याट्रीको पुनः प्रयोग निस्कने सिसाबाट प्रदूषण रहेको छ । त्यसपछि सौन्दर्य प्रसाधनका सामाग्री र भाडाकुडाबाट पनि सीसाजन्य रसायनको निस्कन्छ ।

आयुर्वेदिक जन्य औषधि र बेसार जस्ता मसला जन्य खाद्यानमा सीसाजन्य रसायनको मात्रा भेटिने गरेको छ । डब्लुएचओ, नेपालले सन् २०१३ देखि सेन्टर फर पब्लिक हेल्थ एन्ड इन्भायरमेन्ट डेभलपमेन्ट सिफेड लगायतका विभिन्न साझेदारहरूसँग संस्थाहरुसँग सहकार्य गरेर सिसाको विरुद्धको प्रयासमा नेपाल सरकारलाई सहयोग गर्दै आएको छ ।

भेरी अस्पताल नेपालगन्जका मेडिसिन बिभागका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पान्डेले सीसाजन्य रसायनको असरलाई न्यूनीकरण गर्न नेपाल सरकारले नीतिगत ब्यवस्थाका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई तालिम लगायतका सचेतनामूलक कार्यक्रमहरु संचालन गर्नु पर्ने बताउँछन् ।

केन्द्रीय अस्पतालको रुपमा रहेको भेरी अस्पतालमा १३ वर्षदेखि कन्सल्टेन्ट फिजियिनको रुपमा कार्यरत डा. पान्डे भन्छन्, ‘सीसाजन्य विषाक्तताका कारण स्वास्थ्यमा समस्या भएका बिरामीहरु मैले भेटाएको छैन । बिरामीहरूमा सीसाजन्य विषाक्तताका नभएर हो या चिकित्सकहरुले बिरामीहरूमा सीसाजन्य विषाक्तताका असरका कारण स्वास्थ्यमा समस्या भएको हो भन्ने आकलन नगरेर हो भन्न सक्ने अवस्था  छैन ।’

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका बालरोग बिभागका प्रमुख वरिष्ठ बाल रोग बिशेषज्ञ डा पियुश कनोडियाका अनुसारमा सीसाजन्य विषाक्तताका असरका कारण बालबालिकाहरुमा पेट दुख्ने , कन्जियत हुने , रगतको कमी हुने , कम सुन्ने , पढाइमा कमजोर हुने , रक्तअल्पता हुनेजस्ता स्वास्थ्य समस्या हुन्छ ।

अस्पतालहरुमा आउने बालबालिकाहरुमा त्यस्ता स्वास्थ्यमा समस्या देखिन्छ । तर सीसाजन्य विषाक्तताका कारण नै त्यस्तो समस्या देखिएको हो भनेर एकीन गर्न गाहे छ । सीसाजन्य विषाक्तताको अवस्था के कस्तो छ भन्ने एकीन गर्नका लागि रगत परिक्षण गर्नु पर्छ । तर नेपालका अधिकाश अस्पताल र स्वास्थ्य संस्थाका प्रयोग शालामा त्यस्तो सुविधा छैन । बाल रोग बिशेषज्ञको रुपमा करिब ६ बर्ष काम गर्दा तीन/चार जना बालबालिकामा देखिएको असर र उनीहरु जीबनशैलीका बारेमा सोधपुछ गर्दा सीसाजन्य विषाक्तता भएको आशंका गरे पनि नेपालगन्ज क्षेत्रमा प्रयोगशालाका नभएका कारण एकीन गर्न नसकेको डा कनोडियाले बताए ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाका प्रमुख प्रशन्न मिश्र भन्छन्, ‘मैले भेरी अस्पतालमा काम गर्न सुरु गरेको ८ वर्ष भयो । यो अवधिमा भेरी अस्पतालका एक जना पनि चिकित्सकले रगतमा सीसाजन्य विषाक्तताको मात्रा परिक्षणका लागिलाई पठाएको थाहा पाएको छैन ।’

नेपालगन्जमा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज लगायत एक दर्जनभन्दा बढी अस्पताल छन । ती सबै अस्पतालका आ-आफ्नै प्रयोगशाला छन । निजी क्षेत्रबाट संचालित बि क्याक्गोरीका ४ वटा सुविधासम्पन्न प्रयोगशाला छन् । तर, नेपालगन्जका कुनै पनि प्रयोगशालामा गतमा सीसाजन्य विषाक्तताको मात्रा परिक्षण हुँदैन् । सात वर्षदेखि नेपालगन्जमा बागेश्वरी डाइनोसिस एन्ड पोलिक्लिनिक चलाउँदैं आएका ल्याब टेक्नोलोजिष्ट विमल बुढाथोकी भन्छन्, ‘नेपालगन्जमा बायु प्रदुषण अत्याधिक छ, कवाडको किनबेच धेरै हुन्छ, फोहर र घुलो पनि धेरै छ त्यसैले यहाँका बालबालिकाहरुको रगतमा सीसाजन्य विषाक्तता हुन सक्ने जोखिम धेरै छ । नेपालगन्जमा करिब एक दर्जन बाल रोग विशेषज्ञ छन । कुनै पनि विशेषज्ञले पछिल्ला ७ बर्षको अवधिमा सीसाजन्य विषाक्तताको मात्रा परिक्षणका लागिलाई पठाएको थाहा पाएको छैन ।’

चिकित्सकहरुले नै त्यस सम्बन्धि चासो नदेखाएका कारण नेपालगन्जका प्रयोगशालामा हालसम्म एक जना बिरामीको पनि रगतमा सीसाजन्य विषाक्तताको मात्रा परीक्षण भएको छैन । नेपालगन्जमै परिक्षण गर्न सकिन्छ । बालरोग विशेषज्ञले परिक्षणका लागि पठाउने हो पनि नेपालगन्जकै प्रयोगशालामा करिब ३ हजार जति शुल्क लिएर परिक्षण रिपोर्ट दिन सकिन्छ ।

तर, त्यस सम्बन्धी चिकित्सक, प्रयोगशालाकर्मीहरुबीच कुनै छलफल पनि भएको छैन । रगतमा सीसाजन्य विषाक्तताको मात्रा परिक्षण सहजै सुरु गर्न सकिन्छ । त्यसका लागि केही थप उपकरण, केमिकल र प्रयोगशालाकर्मीलाई तालिम आवश्यक पर्न सक्छ ।

सिसाजन्य रसायनको असरलाई कम गर्न समयमै कदम चालिएन भने नवजात बालबालिकाहरुको शारीरिक र मानसिक विकास र क्षमतामा असरका कारण पूर्ण क्षमतामा हुर्कन नपाउने अवस्था उत्पन्न हुन सक्छ ।

नवजात शिशु र साना केटाकेटीहरू धुलो माटो भएको जमिनमा खेल्ने र हिँडडुल गर्छन् । उनीहरुले हात मुखमा हाल्दा धुलो पनि मुखमा पर्छ । कतिपय बालबालिकाहरुको मुखमा हात हाल्ने अखाद्य वस्तुहरुको पनि खाने बानी हुन्छ । त्यस्ता बानी भएका बालबालिकाहरु सीसाजन्य विषाक्तताको उच्च जोखिममा रहने भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. विष्णु थापाले बताए ।

बाल्यकालमा देखिने न्यूरोलोजिकल प्रभाव अपरिवर्तनीय र आजीवन हुने भएकाले विशेष गरेर आमा बुवाले ६ बर्ष उपमेयरसम्म आफ्ना बच्चाहरुको हेरचाहामा विशेष ध्यान दिनुपर्ने सुझाव डा. थापाको छ । सिसाजन्य बिषाक्तताले गर्भवती आमाको गर्भमा रहेको बच्चालाई पनि असर गर्न सक्छ । विशेषगरी आइरन र क्याल्सीयमको कमी भएका बच्चाहरुले अखाद्य वस्तुहरु खाने जोखिम धेरै हुन्छ । भित्तामा लगाएको पेन्ट चाट्ने , धुलो माटो खाने बानी भएका बच्चाहरुमा एनिमिया, मिर्गौला, कलेजो र मतिस्ष्कलगायतका महत्वपूर्ण अंगहरुमा असर पर्छ ।

पहिलेको तुलनामा सिसाजन्य रसायनका असरहरुका बारेमा सचेतना अभिवृद्धिका क्षेत्रमा केहि सुधार भएपनि अझै धेरै काम गर्न बाँकी रहेको जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक राम चरित्र शाहले बताए ।

रगतमा घातक लेड सिसाको मात्रा बढ्दै गए पनि सरकारी प्रयोगशालामा सिसाको मात्रा परीक्षण नै हुँदैन । केन्द्रिय बाल अस्पतालको रुपमा रहेको कान्ति बाल अस्पतालमा समेत रगतमा सिसाको मात्रा परिक्षण हुँदैन् । विश्व स्वास्थ्य संगठनले नै बालबालिकाको रगतमा ३.५ माइक्रोग्राम पर डेसलिटरभन्दा बढी सिसा हुनुलाई ‘लिड पोइजनिङ’ (सिसाजन्य विकार) मानेको छ ।

त्यसैगरी वयस्कमा ५ माइक्रोग्राम पर डेसलिटरभन्दा बढी सिसाको मात्रा भेटिए उपचार आवश्यक पर्छ । बढ्दो वायु प्रदूषण, सहरीकरण, फास्टफुड प्रयोगलगायत कारणले नेपालमा ‘लिड पोइजनिङ’को जोखिम बढिरहेको छ । तर, बालबालिकाका लागि एक मात्र केन्द्रीय अस्पताल कान्तिले भने रगतमा सिसाको मात्रा परीक्षण नै गर्दैन । परीक्षण गर्नुपर्ने अवस्थामा पनि निजी प्रयोगशालामा पठाइदिन्छ । नियमित परीक्षणहरूमा रगतमा सिसाको मात्रा परीक्षण नगरिने भएकाले कति मान्छे प्रभावित छन् भन्ने यकिन तथ्यांक नै छैन ।

बढ्दो सहरीकरण, तीव्र औद्योगिकीकरण, विद्युतीय फोहोरको उत्पादन, भवनहरूमा प्रयोग हुने इनामेल रङजस्ता विभिन्न कारणले नेपालका सहरी क्षेत्रहरूमा ‘सिसाजन्य प्रदूषण’को जोखिम बढेको विज्ञहरुले बताउँदैं आएका छन् । त्यस्तै, सन् २०२३ मा ल्यान्सेटले प्रकाशित गरेको एक अध्ययनले पनि विश्वभरि रगतमा सिसाको मात्रा बढ्दै गएर समस्या निम्तिरहेकामा दक्षिण एसिया सबैभन्दा बढी प्रभावित भइरहेको निष्कर्ष निकालेको थियो । गत अक्टोबरमा प्रकाशित उक्त अध्ययनले विश्वभर करिब ४७ प्रतिशत बालबालिकाको रगतमा ५ माइक्रोग्राम पर डेसलिटर र २८ प्रतिशतमा १० माइक्रोग्राम पर डेसलिटर सिसाको मात्रा पाइएको जनाएको थियो ।

‘बच्चाहरूमा कुनै समस्या देखिएमा के कारणले भएको भनेर खोजिदैन । विभिन्न समस्या लिएर आएका बच्चाहरूमा लिड छ कि छैन भन्ने परीक्षण गर्न जरुरी भए पनि त्यस तर्फ चिकित्सकहरुले समेत चासो देखाएको पाइदैंन् ।

कसरी बढिरहेछ सिसाको मात्रा ?

हावामा भएका सिसाका कणहरू खाना र सासको माध्यमबाट शरीरमा प्रवेश गर्छन । सामान्यतया प्रदूषित वायु अत्यधिक रहेका स्थानहरूमा सबै व्यक्ति जोखिममा रहे पनि बालबालिका बढी प्रभावित हुन्छन् । रगतमा सिसाको मात्रा बढ्दैं जादा मस्तिष्कमा क्षति गरेर मानसिक समस्या देखिने विभिन्न अध्ययनले देखाएका छन्  । विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकामा सिसाको उच्च जोखिम पाइएको छ ।

सहरी इलाकामा खोला किनारका वस्तीमा हुर्किएका बालबालिका फोहोरको सम्पर्कमा हुने भएकाले उनीहरूको रगतमा सिसाको जोखिम बढी देखिन्छ । सिसाले बालबालिकामा मात्रै नभई वयस्कहरूमा समेत दीर्घकालीन असर गरिरहेको छ । वयस्कहरूमा उच्च रक्तचाप, ह्दयघात र मिगौला क्षति हुने जोखिम हुन्छ । त्यस्तै, गर्भवती महिलामा सिसाको स्तर उच्च भएमा गर्भपतन, मृत बच्चाको जन्म, समयपूर्व जन्म र कम तौलका बच्चा जन्मिनेजस्ता समस्या निम्त्याइएको पाइन्छ ।

हामी कहाँ बच्चाहरूमा भित्तामा गरिने पेन्टिङ र वायु प्रदूषणको माध्यमबाट लिड पोइजनिङ हुने गरेको देखिन्छ । विश्व स्वास्थ्य संगठनकाअनुसार अत्याधिक सिसाका कारण केन्द्रीय स्नायु प्रणालीमा गम्भीर प्रभाव पर्छ । विषाक्त सिसाका कारण जीवनभर वौद्धिक अपांगता एवं अस्वाभाविक व्यवहार देखाउनेजस्ता समस्या हुन्छ ।

डरलाग्दा सौन्दर्य सामग्री

मानिसको सुन्दरता उसको व्यवहार र आवेगमा हुन्छ हुन्छ तर हाम्रो समाजमा आवरणमा सुन्दरता खोज्ने प्रबृत्ति हाबी हुदै गएको छ । आवरणको सुन्दरता बढाउनका लागि अत्याधिक कस्मेटिक्सका सामाग्रीको प्रयोग गर्दा एकातिर पैसा खर्च अर्कातिर स्वास्थ्यमा नकारात्मक असर परिरहेको हुन्छ । पारिरहेका छौं ।

त्यसैले, गुणस्तरमा कम भएका स्याम्पु, लिपगार्ड, सन तथा कोल्ड क्रिमहरुको प्रयोग गर्दा होशियारी अपनाउन आबश्यक छ । शरीरलाई हानी गर्ने विश्वव्यापी चासोका रूपमा रहेका भारी धातुहरू स्वदेशी तथा आयातीत सौन्दर्य सामग्री परीक्षण गर्दा सिसा, मर्करी, आर्सेनिक, क्याल्सियम, कोबाल्ट, निकेल, क्रोमियम, टिटानयिमको मात्रा मापदण्डभन्दा बढी रहेको पाइएका छन् । विश्व स्वास्थ्य संगठनले स्किन क्रिममा मर्करीको मात्रा १ पीपीएम तोके पनि अनुगमनमा १३ हजार सय ५४ पीपीएमसम्म भेटिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ