२०८१ कात्तिक २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै बुद्धमाई अस्पताललाई महानगरले तिरायो एक लाख जरिवाना

फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै बुद्धमाई अस्पताललाई महानगरले तिरायो एक लाख जरिवाना


काठमाडौँ – बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापवाही गरेका कारण १ लाख रुपैयाँ जरिवाना गरिएको छ । चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको र सुधार गर्ने प्रयास पनि नभएको देखिएपछि जरिवाना तिराइएको हो ।

बुद्धमाईमा महानगरले गत फागुन ११ गते पहिलोपटक अनुगमन भएको थियो । त्यसदिन नर्सिङ् स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षहरुमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ्ग संकेतसहितको बाल्टिनहरु फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो । अनुगमनबाट फर्किएपछि हानीकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न महानगरले पत्राचारसमेत गरेको थियो ।

त्यस्तै, गत चैत ६ गते महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापनमा कमजोरी भएका अस्पतालका कर्मचारीका लागि तालिम कार्यक्रम आयोजना गरेको थियो । तालिममा बुद्धमाईबाट प्रमुख प्रशासकीय अधिकृत राजेश तण्डुकार आफैँ सहभागी भएका थिए ।

तालिम सञ्चालन भएको भोलिपल्ट अनुगमन टोली फेरि अस्पतालमा पुग्यो । अवस्था पहिलेकोभन्दा फरक थिएन । हानीकारक फोहर र सामान्य फोहर एकै ठाउँमा थियो । हानीकारक फोहरका विषयमा गरिएको प्रश्नमा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तण्डुकारले, प्रदर्शनी मार्गको काठमाडौँ मोडेल अस्पतालसँग सम्झौता गरेर व्यवस्थापनका लागि त्यतै पठाउने गरेको बताएका थिए । उनको कुराको तथ्य जाँच गर्न वातावरण निरीक्षक सृष्टि श्रेष्ठले मोडेल अस्पतालका नर्सिङ् प्रमुखलाई फोन सम्पर्क गर्दा सोध्दा यो सूचना गलत भएको प्रमाणित भएका महानगरले जनाएको छ । कुराकानीका क्रममा तण्डुकारले, कार्टुनमा प्याक गरेर निजी गाडीको डिकीमा राखेर हानीकारक फोहोर मोडेल अस्पताल लैजाने गरेको बताएका थिए ।

यसैगरी, गत वैशाख १७ गते महानगरपालिकाबाट सामान्य फोहर संकलन गर्न गएको सवारी चालकले सामान्य फोहरमा संक्रमित फोहर देखेपछि फोहर संकलन रोकेर १५ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

महानगरले फेरि गत भदौ २२ गते अस्पतालमा तेस्रो पटक अनुगमन गरेको थियो । यसबेला भएभरको फोहर एकै ठाउँमा जम्मा गरिएको अटोक्लेभ मेसिन नराखिएको, फोहर निर्मलीकरण गर्ने र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन नसकेको जनाइएको छ ।

तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ, हेर्नका लागि आज टोली फेरि अस्पताल पुग्यो । अस्पताल पुग्दा जम्मा गरेको फोहर खाली थियो । फोहर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको अटोक्लेभ राखिएको थियो । अटोक्लेभभित्र निर्मलीकरणका लागि राखिएका वस्तुमा ताजा अवस्था रङ्गमाभन्दा कुनै परिवर्तन नदेखिएको महानगरले जनाएको छ ।

अनुगमनका क्रममा ‘यस अघि थुपारिएको फोहरका खोइ त ?’ प्रश्नको जवाफमा तण्डुकारले अटोक्लेभमा निर्मलीकरण गरेर महानगरपालिकाको गाडीमा पठाएको बताएका थिए । अनुगमन टोलीले राम्ररी निर्मलीकरण नभएको फोहर महानगरपालिकाले उठाउन नसक्ने जनाउँदै फोहर संकलन गर्ने सवारी साधनका चालकलाई बोलायो । चालक आएपछि तण्डुकारले बोली फेर्दै भने, ‘यो फोहर त कवाडीले लाने गरेको छ ।’

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ