२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी

यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी

सुरक्षित मातृत्व र पोषणमा प्रत्यक्ष प्रभाव


धनगढी- बैतडीको पाटन नगरपालिका ९ का १८ वर्षीय राम लावड २ बच्चाको बुवा हुन् । गत भदौ महिनाको अन्तिम साता उनकी १४ वर्षीया श्रीमतीले डडेल्धुरा अस्पतालमा २ जुम्ल्याहा शिशुलाई जन्म दिइन् ।

अस्पतालका अनुसार उनले जन्म दिएको पहिलो सन्तान १ किलो ९ सय ग्राम र दोस्रो सन्तानको तौल १ किलो ७ सय ५० ग्राम रहेको थियो ।

एक वर्षअघि प्रेम विवाह गरेका लावड कक्षा ८ मा सम्म मात्रै विद्यालय गएका हुन् । उनकी श्रीमती पनि ७ कक्षाबाट बिद्यालय जान छोडिन् । प्रेम विवाह गरेको उक्त जोडीले स्वास्थ्य संस्थाबाट यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कुनै परामर्श गरेनन् । गर्भवती पश्चात स्वास्थ्य संस्थामा पहिलो पटक स्वास्थ्य परीक्षण गर्दा किशोरीको उमेर नै गलत दिएको टकरे आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख प्रकाश भट्टले बताए । उनले भने, ‘शारीरीक रुपमा किशोरी उमेर नपुुगेको देखिएकाले सुविधासम्पन्न अस्पतालमा प्रेषण गरेका थियौं ।’
गत सोमबार बैतडीको पञ्चेश्वर गा पा १ शेरीमा १८ वर्षीया सुत्केरी महिला मनिषा घटालको मृत्यु भएको छ । गत सोमबार मृत बच्चालाई जन्म दिएकी उनको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको पञ्चेश्वर स्वास्थ्य चौकीका प्रमुख सुरेश सार्कीले बताए । अत्याधिक रक्तश्रावका कारण महिला काप्न थालेपछि आफन्तले धामीझाँक्री कहाँ लगेका थिए ।

दुई पटकसम्म पञ्चेश्वर स्वास्थ्य चौकीमा गर्भ जाँच गराएकी उनी भारततर्फ गएको र बच्चा जन्माएर मृत्यु पश्चात मात्रै जानकारी आएको सार्कीले बताए । सुस्तमनस्थिती रहेकी ती महिला दोस्रो श्रीमती हुन् । श्रीमान हरि सिंह घटालले पहिलो श्रीमतीबाट सन्तान नभएपछि दोस्रो विवाह गरेका थिए ।

यी दुई प्रतिनिधि घटना मात्रै हुन् । संघ, प्रदेश तथा स्थानीय सरकारको किशोरी किशोरी यौन तथा प्रजनन स्वास्थ्यको विषयमा विद्यालयबाट स्वास्थ्य शिक्षा तथा सुचना प्रदान गर्ने
कार्यक्रम संचालन गरेपनि विद्यालयभन्दा बाहिरका किशोरकिशोरीलाई समेट्न सकेको छैन ।

ग्रामीण क्षेत्रमा किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यको विषयमा विद्यालयमा गएर यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्ने गरेको स्वास्थ्य चौकी प्रमुख सार्कीले बताए । उनले भने, ‘विद्यालयभन्दा बाहिरका किशोर–किशोरीहरु गरिबी र अशिक्षाको कारणले यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बन्चित भएका छन् ।’

नेपालको संबिधानले यौन तथा प्रजनन स्वास्थ्य अधिकार स्थापित गरेपनि ब्यवहारिक रुपमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बिषयहरु उपभोग गर्ने सहज वातावरण छैन । महिला तथा किशोरीहरुले परीवार योजना, गर्भावस्थाको जोखिम, सुरक्षित गर्भपतन, बालविवाह, कुपोषण र यौन सञ्चारित संक्रमणजस्ता बिषय प्रजनन स्वास्थ्यअन्तर्गत पर्दछन् ।
समाजमा छोराको चाहना उच्च हुनु, किशोरीले यति निश्चिित उमेर भित्रै विवाह गरिसक्नुपर्नै मनोभावना हुनुजस्ता कारणले गर्भावस्था र प्रजनन अवस्थाको समयमा उचित स्याहार र स्वास्थ्य उपचार नपाएर वर्षेनी धेरै आमाहरुले ज्यान गुमाउनु परेको छ ।

नेपालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को परिच्छेद २ मा पनि प्रजनन स्वास्थ्य अधिकारमा प्रत्येक महिला तथा किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा, सूचना परामर्श सेवा प्राप्त गर्ने अधिकार हुने उल्लेख छ ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले किशोरी किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकार उपभोग गर्न सामाजिक संस्कृतिले बाधा गरेका कारणले परिवार र समाजका मान्छेले यो विषयमा खुलेर कुरा गर्न चाहँदैनन्, विद्यालय स्तरका पाठ्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नभएका कारणले किशोर किशोरीहरुले सो बिषयमा पर्याप्त जानकारी नै नपाउने अवस्था रहेको छ ।

उनले भने, ‘यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी स्वास्थ्य संस्थाबाट पाइने जानकारी लिन स्वास्थ्य संस्था किशोरी किशोरीमैत्री भएको पाइदैन्, सुचनाको गोपनियताको विषयमा स्वास्थ्यकर्मीलाई विश्वास नै नमान्ने अवस्था छ । सो विषयमा स्वास्थ्यकर्मीसँगै समाजको दृष्टिकोण नै फरक खालको छ ।’

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्थामा आउने गर्भवती महिला र स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन लिने २० वर्ष नै नपुगेका महिलाको संख्या उल्लेख्य रहेको छ । आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशका स्वास्थ्य संस्थामा जाने २० वर्ष मुनिका गर्भवती महिला ४ हजार ५ सय ३१ रहेका छन् । २० वर्षमाथि स्वास्थ्य संस्थामा जाने जाने महिलाको संख्या ४२ हजार ५ सय ७७ रहेको छ । सो तथ्याङक हेर्दा स्वास्थ्य संस्थामा आउने गर्भवतीको २० वर्षमुनिका महिलाको संख्या ९ प्रतिशतभन्दा बढी छ ।

प्रदेशका स्वास्थ्य संस्थामै आएर सुरक्षित गर्भपतन सेवा लिने २० वर्षमुनिको महिलाको संख्या ८ सय ३३ रहेको छ । जसमध्ये ५ सय ६७ जना महिलाले औषधिबाट गर्भपतन गराए भने शल्यक्रियाबाट गर्भपतन सेवा लिने मा २ सय ७७ रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा बालविवाह हुने गरेका कारणले २० वर्षमुनिका गर्भवती किशोरीले गर्भजाँच गराउन स्वास्थ्य संस्था पुग्ने गरेका छन् । उक्त किशोरीहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पहुँचमा छैनन् । जसका कारण असुरक्षित गर्भपतन समेत बढ्दो रुपमा छ ।

किशोरावस्थामा हुने परीवर्तन सँगै सामाजिक सञ्जालबाट ज्ञानले जोखिम ब्यवहार अपनाउने गर्दछन् । किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा उमेर नपुग्दै गर्भवती हुने, आमा र बच्चाको स्वास्थ्यमा समस्या आउने, रोगी अपाङग हुने कारणले कुपोषण चक्र पुस्तौसम्म चलिरहने भएकाले सुरक्षित मातृत्व र पोषणमा प्रत्यक्ष प्रभाव पारेको वरिष्ठ जनस्वास्थ्य अधिकृत कुवँरको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सरकारले जनस्वास्थ्य ऐनको परीच्छेद ८ को दफा ६० मा बालबालिकाको स्वास्थ्य प्रवर्द्धन गर्न, किशोरकिशोरीको प्रजनन स्वास्थ्य सरसफाइ तथा स्वास्थ्य सम्बन्धी सेवा प्रवाह गर्न, स्वास्थ्य शिक्षा, स्वास्थ्य जीवनशैली , ब्यवहार परिवर्तन तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्न स्थानीय सरकार र सरोकारवालाहरुसँग समन्वय गरी बिद्यालय स्वास्थ्य प्रवर्द्धनकर्मीको ब्यवस्था गरेको छ ।

प्रदेश सरकारले किशोरी किशोरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार उपभोगको लागि कुनै कार्यक्रम संचालनमा नरहेको जनाएको छ । संघीयता कार्यान्वयनको चरणमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था बाँडिएका छन् । नेपालको संविधानमा उल्लेख भएको कुरा कार्यान्वयन गर्न हरेक राजनीतिक दलले ऐक्यबद्धता जनाई बालविवाह रोक्न कानुनअनुसार नै कार्यान्वयन हुनुपर्ने स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा . शुशीलानाथ प्याकुरेल बताए । उनले भने, ‘विद्यालयमा रहेका किशोर–किशोरीहरुलाई बालविवाहसँगै यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी प्रदान गर्ने र विद्यालय बाहिर रहेका किशोर किशोरी गर्भधारण गरिसकेपछि स्वास्थ्य संस्थामा आउने भएकाले किशोरीको स्वास्थ्य अवस्था र उमेरसँगै जोखिम आँकलन गरेर गर्भपतन गराउने अथवा सुविधासम्पन्न स्वास्थ्यमा प्रेषण गर्नुपर्ने हुन्छ ।’

बिद्यालयभन्दा बाहिर रहेका किशोर किशोरीहरुलाई आमा समुह, स्वयम्सेविका र स्थानीयस्तरमा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई परिचालन गरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना जगाउने स्थानिय सरकारको दायित्व रहने महानिर्देशक डा. प्याकुरेल बताउँछन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ