२०८१ असोज ३०, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की

प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको स्वास्थ्य नीतिलाई व्यवस्थित गर्न प्रदेश स्वास्थ्य ऐन चाँडै ल्याउने बताएका छन् । आइतबार प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८० /८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तीन दिने प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्यका विषयमा प्रदेश सरकार गम्भीर रहेको चर्चा गर्दै ऐन ल्याएर अझ व्यवस्थित गरेर ल्याउने बताए । उनले स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यक रहेको बताए । स्वास्थ्यकर्मीहरुले जनशक्तिको कमी, सिमित साधन स्रोतका बाबजुद नागरिहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेकामा प्रशंसा समेत व्यक्त गरे ।

स्वास्थ्यमन्त्री समेत रहेका कार्कीले प्रदेशका स्वास्थ्य क्षेत्रमा आवश्यक साधन स्रोतको पूर्तिका लागि नीतिगत रुपमा बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । प्रदेश सरकारले जनशक्ति, बजेटको कमी, साधनस्रोतको अभाव, क्षेत्राधिकारका कारण सोचअनुसार स्वास्थ्य क्षेत्रमा कार्य गर्न नसकेको गुनासो गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य सेवालाई संघ सरकारभन्दा पनि उत्कृष्ट बनाउन स्वास्थ्यकर्मीहरु लाग्नुपर्नेमा जोड दिए । उनले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन पूर्व सचिव डा. महेन्द्र श्रेष्ठको अध्यक्षतामा एक कार्यदल गठन गरेको जानकारी दिए । कार्यदलले दिएको सुझाव कार्यान्वयनले जनताले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्ने उनको भनाई छ ।

स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुको सरुवा, वढुवा र वृत्ति विकासलाई कार्यविधि बनाउन मापदण्डअनुसार कानूनद्वारा निर्देशित गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, जनस्वास्थ्य प्रशासक योगराज घिमिरेले गोष्ठीबाट प्राप्त सुझावले आगामी दिन प्रदेशको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने विचार राखे ।

तीन दिने गोष्ठीमा प्रदेशका १४ जिल्लाका मन्त्रालयअन्तर्गतका अस्पताल, निजी अस्पताल, शिक्षण अस्पताल, आयुर्वेद कार्यालयहरुको सहभागिता रहेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ