२०८१ पुस १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’

विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तिन नदिन स्वास्थ्यकर्मीहरुले गरिरहेको कामको अवलोकन गरेका छन् । बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेप्लाञ्चोकको पनौती र बेथानचोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भैरहेको धुलिखेल अस्पतालमा पुगेर बिरामीहरुले निःशुल्क उपचार पाए नपाएको जानकारी लिए ।

मन्त्री पौडेलले उपचाररत बिरामीहरुसँग सेवाबारे जानकारी लिंदै निःशुल्क उपचार पाए नपाएको तथा गुणस्तर कस्तो रह्यो भन्दै बिरामीसँग प्रश्न गरे । परिवारका सात जना गुमाएका माइला तामाङसँग परिवारको दुःखप्रति सहानुभूति प्रकट गर्दै उनले उपचार सेवामा कुनै कमी भए भन्न आग्रह गरे । ‘उपचार त राम्रो पाइरहेको छु । पैसा तिर्नु पनि परेन । तर, परिवारका कोही बचेनन् बस्ने घर पनि छैन,’ जवाफमा तामाङले भने, ‘सरकारले उपचारपछि जाने ठाउँ पनि खोजी दिए हुन्थ्यो ।’ जवाफमा मन्त्री पौडेलले उपचारको सबै जिम्मा सरकारले लिने भन्दै बाँकी सहयोगका लागि पनि सकेको पहल हुने बताए ।

मन्त्री पौडेलले बिरामीको उपचारका लागि धुलिखेल अस्पतालले पुर्याएको सहयोगप्रति धन्यवाद दिंदै अब प्रदूषित पानी तथा फोहोरका कारण संक्रमण फैलनसक्ने भन्दै त्यसलाई रोकथाम गर्न पनि सचेतना फैलाउन र उपचारको तयारी गर्न आग्रह गरे । ‘हामीले एउटा संकट त भोग्यौं,’ स्वास्थ्य कार्यालयका अधिकारीहरु तथा स्थानीय तहका प्रमुखहरुसमेतसँग मन्त्री पौडेलले भने, ‘अब विपद्पछिको स्वास्थ्य संकट आउन नदिन सजग छौं । स्वस्थ पानी प्रयोग गर्न र अरु संक्रमण फैलन नदिन सघाउनुहोला ।’

मन्त्रालयले स्वास्थ्य संकट आउन नदिन पानीको शुद्धीकरण, सरसफाइ बढाउन र बिरामीको सहज उपचारका लागि आवश्यक हरसम्भव उपाय अपनाउने भन्दै उनले सचेतना फैलाउने काममा तीनै तह मिलेर जान सकिए मात्र सम्भव हुने बताए ।

मन्त्री पौडेलले प्रभावित बेथानचोक तथा पनौती बजारको अवलोकन गर्दै स्वास्थ्यकर्मीहरुले पु¥याएका सेवाको प्रशंसा गरे । पनौती—१२ भूमीडाँडा कलातीमा पहिरोमा भत्किएको स्वास्थ्य चौकीको विकल्पमा टेन्ट टाँगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई सेवाका लागि धन्यवाद दिंदै मन्त्री पौडेलले नागरिकलाई संक्रामक रोग लाग्न नदिन पानीको शुद्धिकरण र सरसफाइका लागि चाहिने सामग्री आवश्यकताअनुसार उपलब्ध गराउने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ