२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल सरकारलाई गाभीले अनुदान दिने खोप किन्न प्रदेश सरकारको ९० लाख रुपैयाँ

नेपाल सरकारलाई गाभीले अनुदान दिने खोप किन्न प्रदेश सरकारको ९० लाख रुपैयाँ


धनगढी—सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ पाठेघरको मुखको क्यान्सर विरुद्ध ‘एचपीभी’ खोप खरिद गर्न ९० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशभित्रका स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य उपकरण खरिद गर्ने सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उक्त बजेट कार्यन्वयन गर्नेछ ।

पाठेघरको मुखको क्यान्सर विरुद्ध ‘एचपीभी’ खोपको खरिद तथा उक्त कार्यक्रम कार्यन्वयनका लागि संघीय सरकारलाई नै खोप ग्लोबल एलायन्स फर भ्याक्सिन (गाभी)ले यस वर्षदेखि अनुदानमा दिनेछ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका डा. विवेक कर्ण लालले आउँदो फागुन महिनाबाट देशैभर अभियानको रुपमा संचालन गर्ने तयारीमा रहेको बताए । ‘गाभीले अनुदानमा दिने खोप डिसेम्बरसम्म नेपाल आइपुग्ने र सो पश्चात देशका सबै स्वास्थ्य संस्थाबाट १०–१४ उमेर समुहका किशोरीलाई दिइनेछ,’ उनले भने ।

संघ सरकारले नै अनुदानमा ल्याइरहेको खोप किन्न विनियोजन गरिएको बजेटको विषयमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. निरज अर्यालले सो बारेमा सामाजिक विकास मन्त्रालय र अर्थ मन्त्रालयबाट जानकारी लिन अनुरोध गरे । प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार नै बजेट आएकाले आफ्नो कार्यलय खरिद गर्ने निकायमात्रै भएको उनको भनाइ थियो ।

संघ सरकारले आर्थिक वर्ष २०८१/०८२ मा पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप ‘एचपीभी’ अभियानमा १० देखि १४ वर्षका किशोरीहरु लक्षित रहेका छन् । सरकारले अगामी आर्थिक वर्षबाट उक्त खोप नियमित खोप कार्यक्रमअन्तर्गत नै संचालन गर्ने रणनीति छ ।

सामाजिक विकास मन्त्री मेघराज खड्काले आफू आएको छोटो समयमा बजेट आएको र अघिल्लो सरकारले ल्याएको बजेटमा केही परिमार्जन गर्नुपर्ने भएकाले मन्त्रालयको बजेटको विषयमा नैतिक जिम्मेवारी लिने बताए । ‘स्वास्थ्य तथा अन्य क्षेत्रको बजेटमा केही दोहोरिएको तथा अनावश्यक बजेट तथा कार्यक्रम आएको भए सच्याइने छ,’ उनले भने ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ