२०८१ असोज १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बन्द भएको कोशी अस्पतालको ‘एनआईसीयु’ दुई वर्षपछि सुचारू

बन्द भएको कोशी अस्पतालको ‘एनआईसीयु’ दुई वर्षपछि सुचारू


विराटनगर—कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पतालको एनआईसीयु बन्द भएको दुई वर्षभन्दा बढी समयपछि सुचारू भएको छ । शुक्रबारबाट अस्पतालको आकस्मिक कक्ष माथिको भवनमा लामो समयपछि पाँच शैय्याको एनआईसीयु सुचारु गरिएको हो ।

एनआईसीयु सेवा कोशीमा बन्द रहँदा सर्वसाधारणले चर्को शुल्क तिरेर निजी हस्पिटल गएर उपचार गर्नुपर्ने बाध्यता थियो । ठाउँ अभाव र दक्ष जनशक्ति नभएको देखाउँदैं कोशी अस्पताल प्रशासनले दुई वर्ष अघिदेखि एनआईसीयु बन्द गरेर उपकरणहरू स्टोरमा थन्काएर सेवा ठप्प पारेको थियो ।

अब एनआईसीयु सेवा सुचारु भएपछि बिरामीलाई सहजता भएको कोशी अस्पतालका कावा मेसु डा. रविनराज सिंहले बताए । थप जनशक्ति व्यवस्थापनमा ध्यान दिएर अगाडि बढने उनले बताए । ‘अहिले पनि जनशक्ति अभाव छ । विकास समितिबाट थप व्यवस्थापन गरेर एनआईसीयुलाई व्यवस्थित गरेर अगाडि लैजानेछौं,’ उनले भने ।

अस्पतालको पेडियाट्रिक वार्ड ३२ शैय्याको संचालनमा छ । अहिले संचालन गरिएको एनआईसीयुमा मेडिकल अफिसर र स्टाफ नर्स अभाव रहेको कोशी अस्पतालको पेडियाट्रिक विभागका प्रमुख डा. रामनारायण चौधरीले बताए ।

कोशीमा बालरोग विशेषज्ञ आठ जना छन् । तर, मेडिकल अफिसर र नर्सको संख्या न्यून रहेको छ । ‘ एनआईसीयुमा एउटा भेन्टिलेटरमा एक जना नर्सको आवश्यकता पर्दछ । तर, अहिले पनि बच्चा वार्डबाट नर्स ल्याएर काम चलाइएको छ,’ उनले भने, ‘भेन्टिलेटर चलाउन मेडिकल अफिसर कम्तिमा पनि तीन जना आवश्यक पर्दछ । त्यसको व्यवस्थापन अस्पतालले गर्नुपर्दछ ।’

अस्पतालमा एनआईसीयु सुचारु भएपनि भेन्टिलेटर चलाउने जनशक्तिको अभाव रहेको अस्पताल स्रोतको भनाइ छ । ‘भेन्टिलेटरमा राखिएका नवजात शिशुलाई २४ घण्टा केयर आवश्यक पर्दछ । अस्पतालमा पर्याप्तमा मात्रामा बच्चाका विशेषज्ञ चिकित्सक भएपनि मेडिकल अफिसर र नर्सको चरम अभाव रहेको छ । ‘अस्पताल प्रशासनमा जनशक्ति व्यवस्थापनमा तत्काल ध्यान दिन जरुरी रहेको छ,’ एक चिकित्सकले भने, ‘अहिले एसएनसीयु (स्पेशल न्यु वर्न केयर युनिट’ मात्रै संचालनमा आएको हो ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ