२०८१ असोज ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको भवन निर्माणका लागि डा. शशी भुषणले दिए ९ करोड

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको भवन निर्माणका लागि डा. शशी भुषणले दिए ९ करोड


काठमाडौं—प्रा. डा. भगवान कोइरालाले बनाइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को भवन निर्माणका लागि डा. शशी भुषण उपाध्यायले ९ करोड रुपैयाँ सहयोग गरेका छन् । ७ असोजमा काठमाडौंको बुढानिलकण्ठमा बन्न लागेको बहुविशिष्टीकृत बाल अस्पतालको भवन निर्माणका लागि डा. उपाध्यायले ९ करोड रुपैयाँ सहयोग गरेका हुन् ।

किओच–काठमाडौं बाल अस्पताल भवनको उत्तरी ब्लक निर्माण गर्न डा. उपाध्यायले उक्त सहयोग गर्ने भएका छन् । ७ असोजमा डा. उपाध्याय र इन्स्टिच्युटकाबीच सहयोग उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको हो ।

डा. उपाध्यायले सहयोग रकमको पहिलो किस्ता वापत दुई करोड सत्तरी लाख रुपैयाँको चेक इन्स्टिच्युटका अध्यक्ष डा. कोइरालालाई हस्तान्तरण गरे । सो अवसरमा डा. उपाध्यायले नेपालका बालबालिकाहरूको उपचारमा सहयोग गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई धन्यवाद दिए । उनले आफूले उपलब्ध गराएको सहयोग समेतबाट निर्माण सम्पन्न भई बालबालिकाले उपचार सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

इन्स्टिच्युटका अध्यक्ष डा. कोइरालाले सहयोगले अस्पताल निर्माणको कार्यलाई समयमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले निकट भविष्यमा सेवा उपलब्ध गराउन सकिने विश्वास व्यक्त गर्दै सहयोग रकमको सही सदुपयोग गरिने प्रतिवद्धता व्यक्त गरे ।

यो प्रक्रियालाई सहजीकरण गर्ने नरेशचन्द्र लामिछानेले सहयोगी भूमिका खेल्न सकेकोमा खुसी व्यक्त गर्दै यसले नेपालका बालबालिकालाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन सक्ने बताए ।

किओचले देशको सबै प्रदेशमा भौतिक संरचनासहितका स्याटेलाइट बाल अस्पताल सञ्चालन लक्ष्यसमेत राखेको छ । डा. कोइरालाले नेपालको कुल जनसंख्याको ३६ प्रतिशतभन्दा बढी संख्यामा रहेका बालबालिकाहरूलाई सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाल स्वास्थ्यका विषयमा अनुसन्धान गर्ने उद्देश्यले गैर नाफामूलक संस्थाका रूपमा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको स्थापना गरेका हुन् ।

यस परियोजनाअन्तर्गत पहिलो अस्पताल किओच–दमक बाल अस्पताल कोशी प्रदेश, झापा जिल्लाको दमकमा स्थापन भएर सेवा सुरू भएको छ । यस अस्पतालबाट वहिरंग, आकस्मिक, अन्तरंग, प्रयोगशाला, रेडियोलोजी, पिआईसीयु, एनआइसीयु, ‘मोडुलर अपरेसन थियटर’बाट शल्यक्रियालगायतका सेवा प्रदान गरिएको छ । सेवा सुरू भएको एक वर्षमा यसले एक लाख बालबालिकालाई सेवा प्रदान गरेको छ भने छ हजार सात सय बालबालिकालाई अन्तरंग सेवा र करिब एक हजार पाँच सय बालबालकालाई सघन उपचार सेवा प्रदान गरेको छ ।

काठमाडौंको बुढानिलकण्ठ—७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टीकृत बाल अस्पताल किओच–काठमाडौं बाल अस्पतालको निर्माण कार्य जारी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ