२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने

एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने


विराटनगर—कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक वर्षभित्र अस्पताल हस्तान्तरण गरिसक्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाएका छन् । आइतबार विराटनगरमा मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो सभालाई सम्बोधन गर्दै कोशी सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक वर्षभित्र देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयलाई अस्पताल हस्तारन्तरण गरिसक्ने प्रतिबद्धता जनाएका हुन् ।

सभामा बोल्दै मुख्यमन्त्री कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालय देशकै पहिलो प्राविधिक विश्वविद्याय मात्र नभएर कोशी प्रदेश सरकारको गौरव पनि भएकोले स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु चाँडो सञ्चालन गराउन अस्पताल हस्तान्तरण गर्न चासो दिने बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशको ठूलो कोशी अस्पताल संघले आफै मातहत राखेकोले अस्पताल हस्तान्तरण गर्न ढिलाई भएको भन्दै तर अब एक बर्षभित्र अस्पताल विश्वविद्यालयका लागि स्थापना गरिसक्ने बताए । मुख्यमन्त्री कार्कीले चार वर्षअघि प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको प्रगति छोटो समयमा पनि सन्तुष्ट गर्न लायक रहेको भन्दै अझै प्रगति वृद्धि गर्न आफूहरु लागि पर्ने बताए । उनले चार वर्षसम्म विश्वविद्यालय आफनै आन्तरिक संरचना, ऐनकानुन र पाठयक्रमहरु निर्माणमा धेरै समय खर्च गर्नुपर्दा एकैचोटी तीन वटै स्कुलका सबै शैक्षिक कार्यक्रमहरु सञ्चालन हुन नसकेपनि अब भने विश्वविद्यालयले गति लिने बताए ।

मनमोहन विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले आफनै अस्पताल नहुँदा स्वास्थ्य क्षेत्रका विभिन्न प्राविधिक विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाएकोले चाँडै अस्पताल हस्तान्तरण गराउन विश्वविद्यालयका कुलपति तथा कोशी सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई जानकारी गराएका थिए ।

कोशी प्रदेश सरकारले आफ्नै ऐन बनाएर २०७६ मा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले आफ्नो अस्पताल नहुँदा अझै स्वास्थ्य क्षेत्रका विभिन्न प्राविधिक विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाएको छैन । मनमोहनले तीन वटा स्कुल स्थापना गरेर इन्जिनियरिङ, फार्मेसीमा स्नातक र अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तरको कक्षा संचालन गरिसकेको छ । तर, आफनै शिक्षण अस्पताल नहुँदा स्वास्थ्य क्षेत्रका अन्य विभिन्न प्राविधिक विषयहरु सञ्चालन गर्न पाएको छैन ।

प्रदेश सरकारले आफू मातहतको कुनै एक अस्पताल मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ