२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था

अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था


काठमाडौं–नेपाल सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रत्येक वर्ष बाँड्दै आएको पहुँचवालाका संस्थाको करोडौं अनुदान यस वर्ष अधिकांशलाई रोक्यो । तर, दुई वटा संस्था महाशक्तिशाली संस्थाले भने स्वास्थ्य मन्त्रालयको प्रस्तावबिनै सिधैं रातो किताबमै अनुदान तोक्ने गरी चलखेल गरे ।

ती दुई शक्तिशाली संस्थाहरु हुन्—नेपाल चिकित्सक संघ (एनएमए) र नेपाल निजामती कर्मचारी श्रीमती संघ । विगतका वर्षझैं यस वर्ष पनि यी दुई संस्थाले रातो किताबमै बजेट पार्न सफल भएका छन् । दुई संस्थाले चालु आर्थिक वर्षका लागि क्रमशः ७० लाख रुपैयाँ र १८ लाख रुपैयाँ अनुदान रातो किताबमा नै पार्न सफल भएका छन् ।

नेपाल चिकित्सक संघ त स्वास्थ्य मन्त्रालयमा त्यसै पनि पहुँचवाला संस्था भइहाल्यो । सो संस्थाको सदस्य स्वास्थ्य सचिव, चारै जना अतिरिक्त सचिव, अधिकांश महाशाखा प्रमुख र अधिकांश चिकित्सक रहेका छन् । त्यही भएर होला वि.सं. २०६९ सालदेखि यो संस्थाले नियमित जसो अनुदान लगेको छ ।

एनएमएको १२ करोड रुपैयाँ लागतको भवन नै नेपाल सरकारले अनुदानमै निर्माण गरिदिएको हो । त्यति मात्र नभएर भवन बनिसकेपछि पनि नियमित रुपमा अनुदान लैजादैं आएको छ । जबकी उसले बागबजारस्थित सरकारले बनाइदिएको भवनको भाडाबाट पनि आम्दानी गर्दै अएको छ ।

त्यसो त यस पटक सिधै रातो किताबमा अनुदान पार्न सफल अर्को संस्था कर्मचारी श्रीमती संघ झनै शक्तिशाली संस्था हो । यो संस्थाले पनि वि.सं. २०७० सालदेखि नियमित स्वास्थ्य मन्त्रालयबाट अनुदान लैजादैं आएको छ । मुख्यसचिवकी श्रीमती पदेन अध्यक्ष हुने सो संस्था कति शक्तिशाली छ त्यो भन्नै परेन । यो संस्थाको पहुँच स्वास्थ्यमा मात्र नभएर सबै मन्त्रालयमा उत्तिकै रहेको जानकारहरु बताउँछन् ।

यी दुवै संस्था कति प्रभावशाली छन् भन्ने यसबाट पनि प्रष्ट हुन्छ कि यी दुई संस्थाले मात्र कसरी अनुदान पाए भन्ने विषयमा स्वास्थ्य मन्त्रालयका कुनै पनि कर्मचारी औपचारिक रुपमा बोल्न चाहदैंनन् । तर, अनौपचारिक कुराकानीमा भने सबै कर्मचारीको एउटै जवाफ आउछ—‘पहुँच’ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ