२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण

स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पताल वीरगञ्जका निमित्त मेसु डा. मो. एनामुल हक वीरगञ्जकै अर्को निजी अस्पताल नारायणी सेन्ट्रल हस्पिटल प्रा.लि.मा म्यानेजर रहेको विषयमा स्पष्टीकरण सोधेको छ । मधेश प्रदेशकै सबैभन्दा ठूलो केन्द्रीय अस्पतालका प्रमुख नै निजी अस्पतालको पनि कार्यकारी पदमा हुनु स्वार्थ बाँझिने जिम्मेवारी रहेको भन्दै हेल्थआवाजले समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचार प्रकाशित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. हकलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख ऋषि आचार्यले डा. हकलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बताए । ‘बिहीबारको मन्त्रिस्तरीय निर्णयबाट स्पष्टीकरण सोध्ने निर्णय भएअनुसार उहाँलाई स्पष्टीकरण सोध्न लागिएको हो,’ उनले भने । उनकाअनुसार डा. हक विरुद्ध निजी अस्पतालको म्यानेजर बनेको बाहेक अन्य उजुरीहरु पनि मन्त्रालयमा परेका छन् ।

डा. हक नेपाल सरकारका १० औं तहका चिकित्सकसमेत हुन् । डा. हकले जिम्मेवारी लिएको अर्को निजी नारायणी सेन्ट्रल अस्पताल सरकारी नारायणी अस्पतालबाट ५० मिटरको दूरीमा छ । सरकारी अस्पतालको कार्यकारी प्रमुखको रहेका डा. हक निजीको अस्पतालको पनि म्यानेजर रहेको प्रमाण हेल्थआवाजले प्राप्त गरेको छ ।

अस्पताल संचालक र डा. हकको मिलेमत्तोमा बोर्डमा भने अस्पतालको डाइरेक्टरमा डा. पवन पटेलको नाम उल्लेख छ । तर, गोप्य लिखित दस्तावेजहरुमा भने डा. हकलाई नै अस्पतालको सबै जिम्मेवारी हेर्ने तोकिएको थियो । डा. हक सरकारी नारायणीको मेसु हुनु अगावैदेखि सो अस्पतालमा कन्सल्ट्यान्टको बोर्ड झुण्ड्याएर काम गर्दै आएका थिए । तर, वीरगंजकै नेता प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर आएपछि उनलाई सरकारी नारायणी अस्पतालको मेसु नै बनाइएको तियो । ६ जेठमा मन्त्री यादवले निमित्त मेसु बनाएर ४ सय ५० शैय्याको केन्द्रीय अस्पतालको कमाण्ड सुम्पिएका थिए ।

तर, निमित्त मेसु डा. हकले त्यत्तिमै मात्र चित्त बुझाएनन् । १ साउनमा ५० मिटर दूरीमा रहेको नारायणी सेन्ट्रल अस्पताल प्रा.लि.को पनि कार्यकारी पद म्यानेजरमा लोभ देखाए । निजी अस्पताल नारायणी सेन्ट्रलका संचालकद्वय सुमन केयल र सुरेस केयलले १ साउनमा ११ जना चिकित्सक (हेड अफ डिपार्टमेन्ट)लाई साक्षी राखेर डा. हकलाई अस्पतालको सम्पूर्ण व्यवस्थापन हेर्ने जिम्मेवारी सुम्पिएका लिखित दस्तावेजहरुमा देखिन्छ ।

‘अस्पतालको सबै व्यवस्थापनको जिम्मेवारी डा. एनामुल हकको हुनेछ,’ माइन्युटमा लेखिएको छ, ‘डा. एनामुल हक पूर्णकालीन चिकित्सकहरु पनि ल्याउने छन् ।’ त्यसैगरी अन्य निर्णयमा आमा सुरक्षा कार्यक्रम संचालन नगर्ने र निवर्तमान निर्देशक डा. प्रमोदकुमार सर्राफले दिएको राजीनामा स्वीकृत गर्ने रहेको छ ।

डा. हक मेसु भएर आएसँगै ४ सय ५० शैय्या संचालन रहेको अस्पताल अस्तव्यस्त छ । मेसु नियुक्त भएको १५ दिनमा नै उनले चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी ४६ जना कर्मचारी विकास समितिसँगको सल्लाह बिना नै निकालेका थिए । त्यसको ९ दिनपछि नै उनले नारायणी सेन्ट्रल अस्पतालको व्यवस्थापनको पनि जिम्मा लिएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ