२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा रणनीतिक अस्पताल सञ्चालन गरिनेछः मन्त्री भण्डारी

कर्णालीमा रणनीतिक अस्पताल सञ्चालन गरिनेछः मन्त्री भण्डारी


वीरेन्द्रनगर—कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा प्रादेशिक रणनीतिक अस्पतालहरू सञ्चालन गरिने बताएका छन् । बिहीबार सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दैं उनले सो कुरा बताएका छन् ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा भएको जिल्लास्तरीय स्वास्थ्य क्रियाकलापहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी साथै स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्ड सम्बन्धी समीक्षा कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अस्पतालको सेवा प्रवाह र सेवाग्राहीको अवस्थालाई अध्ययन गरी रणनीतिक अस्पताल तोकिने बताए ।

त्यसका लागि आन्तरिक रूपमा तयारीसमेत भइरहेको जानकारी उनले दिए । सूचनाको हकको कार्यन्वयनमा ध्यान दिन निर्देशन दिदैं मन्त्री भण्डारीले सबै सरकारी कार्यालयले आफ्ना गतिविधिहरु त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा सार्वजनिक गर्नुपर्ने बताए ।

उनले समीक्षा कार्यक्रमबाट सरकारलाई सुझाव प्राप्त हुने अपेक्षा व्यक्त गरे। ‘त्यसका आधारमा आफ्ना तर्फबाट आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने ।

विभिन्न तालिमबाट लिइएको ज्ञानलाई सेवाभावको मनसायबाट सेवा प्रवाह गर्नुपर्ने सुझाव उनको थियो । सेवा प्रदान गर्दा नागरिक सन्तुष्टिको मापन गर्नुपर्ने मन्त्री भण्डारीले बताए ।

औषधिजन्य फोहोरमैला व्यवस्थापन, म्याद सकिएका औषधिको व्यवस्थापन, जनचेतनामूलक कार्यक्रमलगायतका विषयलाई ध्यान दिन आग्रह गर्दै उनले कुपोषणजस्ता समस्या समाधानका लागि महिला स्वास्थ्य स्वयंसेविकालगायतका स्थानीय जनशक्ति परिचालन गर्नुपर्ने धारणा व्यक्त गरे ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ