वीरेन्द्रनगर—सुर्खेतको चौकुने गाउँपालिका–८, गुटुस्थित गुटु स्वास्थ्य चौकीको भवन निर्माण हुन लागेको डेढ दशक नाघिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । स्वास्थ्य चौकी निर्माणको विषयमा ठेकेदार कम्पनीले अदालतमा मुद्दा हालेपछि भवन निर्माणको काम अलपत्र भएको हो ।
उक्त भवनको निर्माण कार्य २०६३ सालदेखि थालिएको थियो । १८ वर्ष बितिसक्दा पनि भवन अलपत्र भएपछि स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रवाहमा समस्या सिर्जना भएको छ । अहिले जीर्ण घरबाट सेवा दिने काम भइरहेको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य निरीक्षक गगन पाण्डेले बताए ।
‘१८ वर्षदेखि स्वास्थ्य चौकीको भवन अलपत्र पारिनु दुःखद छ । जतिसक्यो छिटो काम सुरु गरी भवन निर्माण गर्नुपर्छ,’ उनले भने, ‘भवन निर्माणको काम ८० प्रतिशत सकिएपछि ठेकेदार कम्पनीले अदालतमा मुद्दा हालेपछि भवन अलपत्र परेको छ ।’
अहिले भवनका पिल्लर तथा छड खिया लागिसकेका छन् । भवनमा अनियमितता भएको भन्दै अख्तियारमा मुद्दा परेको र त्यसपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतबाट ठेकेदार कम्पनीको विपक्षमा फैसला आएपछि ठेकेदार कम्पनी सर्वोच्च अदालतमा पुगेको थियो ।
सर्वोच्च अदालतले पनि १२ असारमा फैसला गरिसकेको छ । तर, अदालतको फैसलाको पूर्णपाठ आइसकेको छैन । यो अवधिमा भवन निर्माण गर्ने निर्माण व्यवसायी राजविन्द्रप्रताप सापकोटाको मृत्यु भइसकेको छ । त्यसबेला भवन निर्माणको लागत अढाइ करोड रुपैयाँ बिनियोजन गरिएको थियो ।
नयाँ भवन नबन्दा सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको जनस्वास्थ्य निरीक्षक पाण्डेले बताए । ‘सरकारी मापदण्डअनुसार भवन निर्माण नभएको भन्दै निर्माण व्यवसायीविरुद्ध मुद्दा परेको थियो,’ उनले भने, ‘त्यही मुद्दाका कारण भवन निर्माणको काम हालसम्म अलपत्र परेको हो । अहिले पूरानै चर्केको घरबाट स्वास्थ्य सेवा दिइरहेको छौं ।’
पानी परेका बेला कोठाहरू चुहिने गरेका छन् भने एउटै कोठामा तीन चार प्रकारका सेवा दिनुपर्ने बाध्यता छ । जसका कारण प्रसूति सेवा प्रभावित भएको छ ।
चौकुने गाउँपालिकाले सर्वोच्च अदालतबाट सरकारका पक्षमा फैसला भएको र त्यसको पूर्णपाठ आएपछि अगाडि बढ्ने जनाएको छ । ‘ढिलै भएपनि सर्वोच्चबाट फैसला भएको छ । पूर्णपाठ आएपछि बल्ल वास्तविकता अवस्था पत्ता लाग्नेछ,’ गाउँपालिकाका अध्यक्ष खड्क विकले भने।
‘भवन अलपत्र पर्दा करोडौंको सम्पत्ति जीर्ण हुन पुगेको भन्दै अब पूर्णपाठ आएपछि त्यसका आधारमा पालिकाले कदम चाल्ने छौं,’ उनले थपे,‘ ‘पश्चिम क्षेत्रका बासिन्दाले सुविधा सम्पन्न भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा पाऊन् भनेर भवन निर्माण सुरु भएको थियो ।’
अदालतबाट फैसला आउन ढिलाइ गरेपछि पालिकाका तर्फबाट निवेदन दर्ता गराएको र १३ असारमा फैसला भएको अध्यक्ष विकले बताए । अदालतको पूर्णपाठ आएपछि त्यसलाई हेरेर काम पूरा गर्ने भएमा यसै आर्थिक वर्षभित्र बाँकी संरचना पूरा गरी सञ्चालनमा ल्याइने अध्यक्ष विकले दावी गरे ।