२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो


काठमाडौं—त्रिवि शिक्षण अस्पताल महाराजगंजमा स्वास्थ्य बीमाअन्तर्गतको शल्यक्रिया सेवा स्थगित भएको छ । बीमा बोर्डको शल्यक्रिया दररेट र शिक्षण अस्पतालको दर फरक परेको भन्दैं शिक्षण अस्पतालले स्वास्थ्य बीमाअन्तर्गतको शल्यक्तिया सेवा बन्द गरेको हो ।

एक हप्तादेखि बन्द रहेको सो सेवा सुचारु हुन अझै केही हप्ता लाग्ने अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफलेले जानकारी दिए । ‘हाम्रो दररेट र बीमाको नयाँ दररेटमा केही फरक देखियो,’ उनले भने ‘त्यसलाई सफ्टवेरमा मिलाउन केही समय लाग्ने भएको अझै दुई हप्ता समस्या पर्न सक्छ ।’

त्रिवि शिक्षण अस्पतालले दुई हप्ताअघि सार्वजनिक सूचना जारी गरी स्वास्थ्य बीमा बोर्डबाट उपचार बापतको पैसा नआएको भन्दै सेवा दिन नसक्ने उल्लेख गरेको थियो ।

तर, बोर्डका अध्यक्ष डा. गुणराज लोहनी र कार्यकारी निर्देशक डा. दामोदर बसौला दुवैजना शिक्षण अस्पताल गएर बैठक बसी तत्काललाई समस्या समाधान गरेका थिए ।

बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकले चाडोभन्दा चाडो रकम निकासा गर्ने प्रतिवद्धता जनाएपछि शिक्षण अस्पतालले बीमा कार्यक्रम तत्काललाई संचालन गर्ने सहमति गरेको थियो । सोही सहमतिअनुसार अहिले शल्यक्रियाबाहेकका अन्य सेवा भने संचालनमा रहेका छन् ।

त्रिवि शिक्षण अस्पतालले बीमा बोर्डबाट गत माघ महिनापछिको भुक्तानी पाउन बाँकी छ । त्रिवि शिक्षण अस्पतालले झण्डै ५० करोड रुपैयाँ हाराहारीमा पाउनुपर्ने उल्लेख गरेको छ । तर, बीमा बोर्डले भने समयमा क्लेम भएको र सबै प्रक्रिया पुगेको २४ करोडको हाराहारीमा रहेको दावी गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले त्रिवि शिक्षण अस्पताललाई पुससम्मको भुक्तानी भइसकेको र अब त्यसपछिको असारसम्मको २० करोड रुपैयाँ र साउन महिनाको ४ करोड रुपैयाँ गरी २४ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए ।

‘पुससम्मको सबै संस्थाको भुक्तानी भइसकेको छ । त्रिवि शिक्षण अस्पतालको पनि त्यही भित्र पर्छ,’ डा. बसौलाले भने, ‘माघदेखि असारसम्मको २० करोड रुपैयाँ र साउनको ४ करोड रुपैयाँ गरी २४ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ ।’

डा. बसौलाले अहिले बीमा बोर्डसँग पैसा नभएको र सरकारबाट आउनुपर्ने तीन वर्षको लक्षित वर्गको प्रिमियम ८ अर्ब ७५ करोड रुपैयाँ र यस वर्षको अनुदान ७ अर्ब आउनासाथ असारसम्मको सबै भुक्तानी हुने बताए । ‘सरकारले लक्षित वर्गको तीन वर्षको पैसा बोर्डलाई उपलब्ध गराएको छैन्, त्यो ८ अर्ब ७५ करोड ८१ लाख ८८ हजार रुपैयाँ छ,’ उनले भने, ‘त्यसबाहेक अन्य नियमित अनुदानको पनि पैसा आउँन बाँकी छ । त्यो आउनसाथ असारसम्मको भुक्तानी हुन्छ ।’

तर, अकस्मात कुनै वैकल्पिक व्यवस्थापन बिना त्रिवि शिक्षणले बीमामार्फत हुने शल्यक्रिया रोकेपछि शल्यक्रियाको लाइनमा रहेका बिमितहरु भने मर्कामा परेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ