२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’

केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’


काठमाडौं–नारायणी अस्पताल वीरगञ्जका निमित्त मेसु डा. मो. एनामुल हक वीरगञ्जकै अर्को निजी अस्पताल नारायणी सेन्ट्रल हस्पिटल प्रा.लि.को पनि म्यानेजर रहेको पाइएको छ । मधेश प्रदेशकै सबैभन्दा ठूलो केन्द्रीय अस्पतालका प्रमुख नै निजी अस्पतालको पनि कार्यकारी पदमा हुनु स्वार्थ बाँझिने जिम्मेवारी हो ।

नेपाल सरकारका १० औं तहका चिकित्सकसमेत रहेका डा. हकले जिम्मेवारी लिएको अर्को निजी नारायणी सेन्ट्रल अस्पताल सरकारी नारायणी अस्पतालबाट ५० मिटरको दूरीमा छ । सरकारी अस्पतालको कार्यकारी प्रमुखको रहेका डा. हक निजीको अस्पतालको पनि म्यानेजर रहेको प्रमाणहरु हेल्थआवाजले प्राप्त गरेको छ ।

अस्पताल संचालक र डा. हकको मिलेमत्तोमा बोर्डमा भने अस्पतालको डाइरेक्टरमा डा. पवन पटेलको नाम उल्लेख छ । तर, गोप्य लिखित दस्तावेजहरुमा भने डा. हकलाई नै अस्पतालको सबै जिम्मेवारी हेर्ने तोकिएको छ ।

डा. हक सरकारी नारायणीको मेसु हुनु अगावैदेखि सो अस्पतालमा कन्सल्ट्यान्टको बोर्ड झुण्ड्याएर काम गर्दै आएका थिए । तर, वीरगंजकै नेता प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर आएपछि उनलाई सरकारी नारायणी अस्पतालको मेसु नै बनाइदिए । उनलाई ९ जेठमा मन्त्री यादवले निमित्त मेसु बनाएर ४ सय ५० शैय्याको केन्द्रीय अस्पतालको कमाण्ड सुम्पिएका थिए ।

१ साउनको नारायणी सेन्ट्रलको माइन्युट

तर, निमित्त मेसु डा. हकले त्यत्तिमै मात्र चित्त बुझाएनन् । १ साउनमा ५० मिटर दूरीमा रहेको नारायणी सेन्ट्रल अस्पताल प्रा.लि.को पनि कार्यकारी पद म्यानेजरमा लोभ देखाए । निजी अस्पताल नारायणी सेन्ट्रलका संचालकद्वय सुमन केयल र सुरेस केयलले १ साउनमा ११ जना चिकित्सक (हेड अफ डिपार्टमेन्ट)लाई साक्षी राखेर डा. हकलाई अस्पतालको सम्पूर्ण व्यवस्थापन हेर्ने जिम्मेवारी सुम्पिए ।

त्यो पनि लिखित माइन्युट नै गरेर जिम्मेवारी दिइयो । ‘अस्पतालको सबै व्यवस्थापनको जिम्मेवारी डा. एनामुल हकको हुनेछ,’ माइन्युटमा लेखिएको छ,‘डा. एनामुल हक पूर्णकालीन चिकित्सकहरु पनि ल्याउने छन् ।’ त्यसैगरी अन्य निर्णयमा आमा सुरक्षा कार्यक्रम संचालन नगर्ने र निवर्तमान निर्देशक डा. प्रमोदकुमार सर्राफले दिएको राजीनामा स्वीकृत गर्ने रहेको छ ।

डा. हक मेसु भएर आएसँगै ४ सय ५० शैय्या संचालन रहेको अस्पताल अस्तव्यस्त छ । मेसु नियुक्त भएको ११ दिनमा नै उनले चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी ४६ जना कर्मचारी विकास समितिसँगको सल्लाह बिना नै निकालेका थिए । त्यसको १ महिना ९ दिनपछि नै उनले नारायणी सेन्ट्रल अस्पतालको व्यवस्थापनको पनि जिम्मा लिएका हुन् ।

कर्मचारी निकाल्नुको कारण भनेको सरकारी नारायणीलाई अस्पताललाई अस्तव्यस्त पारेर निजी अस्पताल नारायणी सेन्ट्रलमा बिरामी पठाउनु रहेको आरोप अस्पतालमा कार्यरत कर्मचारीहरु लगाउँछन् ।

डा. हकलाई संघीय सरकारी अस्पताल नारायणीमा मेसु भएर नारायणी सेन्ट्रल अस्पतालको व्यवस्थापनको जिम्मा लिन मिल्छ भनेर हेल्थआवाजले प्रश्न गर्दा उनले आफू त्यहाँ क्लिनिक मात्र हेर्ने गरेको तर व्यस्थापनमा भने नभएको दावी गरे । ‘हामी त्यहाँ क्लिनिक हेर्छौ,’ उनले भने, ‘अन्य त्यस्तो छैन ।’ डा. हकलाई पुनः १ साउनको निर्णय स्मरण गराउँदा त्यस्तो नभएको जिकिर गरे ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ